Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

फेरिँदै राजधानीका सडक

Posted by Ram Kumar Shrestha on May 31, 2014


मकर श्रेष्ठ

KTM Roads

काठमाडौ, जेष्ठ १७ – बूढानीलकण्ठका सुदर्शन पौडेललाई वर्षअघिसम्म लैनचौर-बूढानीलकण्ठ बसपार्कसम्मको नौ किलोमिटर यात्रा गर्न डेढ घन्टासम्म लाग्थ्यो । तर, अब आधा घन्टामा आउजाउ गर्छन् । ‘अझ आफ्नै साधन भएकाले १५ मिनेटमै बूढानीलकण्ठबाट लैनचौर पुग्छु,’ उनले भने । उनी हिंड्ने सडक विगत र अहिले उही हो । तर, १२ मिटरबाट १८ मिटर फराकिलो भएपछि सडकको रूप फेरिएको छ ।

दायाँ-बायाँ २/२ मिटरको फुटपाथ पनि बनेको छ । विगतमा जस्तो जामको सामना गर्नु नपर्ने भएको छ । ‘त्यो सडकमा अहिले जाम शून्य छ,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने । ‘बाटो फराकिलो भएपछि सहरको मुहार नै परिवर्तन भएको छ,’ चपली-९ गणेश चोकका विश्व खड्काले भने, ‘घरमा स्टार्ट गरेको गाडी निश्चित गन्तव्यमा पुगेपछि बन्द गरे हुन्छ ।’ ७० करोडको लागतमा निर्मित यो सडकमा विस्तारितमध्येकै सबैभन्दा लामो र बढी खर्च भएको छ । नारायणगोपाल चोकदेखि गंगालाल अस्पतालसम्म बाहेक अन्यत्र पिच भइसकेको छ ।

उपत्यकामा विस्तारपछि नमुना बनेको लैनचौर-बूढानीलकण्ठ सडक एउटा नमुनामात्रै हो । सधंैजसो जाम हुने साँघुरो सडक विस्तारपछि फराकिलो भइसकेको यस्ता ७० भन्दा बढी छन् । त्यस्तै डेढ सयभन्दा बढी सडक अतिक्रमण गरी बनाइएको संरचना भत्काइसकिएको छ ।

तीनकुनेदेखि माइतीघरको सडक दुई वर्षअघिसम्म १८ मिटर चौडा थियो । तर, अहिले एक छेउदेखि अर्को छेउसम्म ४५ मिटर भएको छ । त्यसमा बीचमा तीव्र गतिमा चलाउन मिल्ने चार लेन, त्यसको दायाँ बायाँ २/२ लेनको सर्भिस ट्रयाक, सडकको बीचमा बगैंचा, सर्भिस ट्रयाकभन्दा बहिर ५ मिटर फराकिलो फुटपाथ र साइकल लेन बनेको छ । २ दशमलव ६ किलोमिटरको सडक विस्तार भएकोमध्ये सबैभन्दा फराकिलो हो ।

महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले विगतमा सहरको भित्री भागमा जाम भए पनि अहिले चक्रपथमा हुने गरेको बताए । दुई लेनमात्रै रहेको चक्रपथ आठ लेनको बन्दै छ । २७ दशमलव ८ किलोमिटर लामो चक्रपथको पहिलो चरण कोटेश्वरदेखि कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर सन् २०१६ मे १५ मा पूरा गर्ने लक्ष्य लिइएको छ । काम सुरु भएको ४० महिनामा सक्ने लक्ष्य लिइएको सडकको निर्माण तीव्र गतिमा भइरहेको काठमाडौं चक्रपथ सुधार योजना प्रमुख अशोक तिवारीले बताए । तीव्र गतिमा गुड्न मिल्ने दायाँ-बायाँ दुई/दुई लेन, त्यसको छेउमा दुई/दुई लेनको सर्भिस ट्रयाक बन्नेछ । त्यस्तै, दुवैतर्फ साइकल लेन र फुटपाथ पनि बन्नेछ । काठमाडौं-भक्तपुर जोड्ने सडक जापान सरकारले फराकिलो बनाएपछि जामको समस्या छैन ।

काठमाडांै, भक्तपुर र ललितपुरमा १ सय ४५ दशमलव ६४ किलोमिटर सडक विस्तार भइसकेको छ । तीमध्ये सडक विभाग मातहतका कार्यालयले १ सय १७ किलोमिटर निर्माण जारी राखेको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्याम खरेलले बताए । दुई वर्ष अवधिमा ५७ किलोमिटर कालोपत्रे भएको उनले जनाए । काठमाडौं उपत्यका नगर विकास समितिले थप ५५ दशमलव ८५ किलोमिटर सडकमा चिह्न लगाइसकेको छ । त्यस्तै, थप ७४ दशमलव ७८ किलोमिटर सडक पहिचान गरी चिह्न लगाउने तयारी गरेको छ । असारसम्म ९० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको खरेलले बताए ।

यसैगरी २०७२ असारसम्म थप ३८ दशमलव ७७ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएको छ । खरेलका अनुसार सडक निर्माणमा ०६८/६९ मा ४ अर्ब ७१ करोड खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा १ अर्ब २४ करोड खर्च हुने अनुमान गरिएको छ । आर्थिक वर्ष ०७१/७२ मा २ अर्ब ११ करोड बजेट आवश्यक पर्ने बताइएको छ । अहिलेसम्म सबै भन्दा बढी लैनचौर-बूढानीलकण्ठमा ७० करोड र तीनकुने-माइतीघरमा ५० करोड खर्च गरेको छ । तीन वर्षमा २ सय ७५ किलोमिटर सडक विस्तार गर्ने सरकारले लक्ष्य लिएको छ । तीनकुने-माइतीघर सडकमा तीन ठाउँमा आकाशेपुल बनाउने तयारीसमेत गरेको छ । त्यसमा पहिलो चरणमा तीनकुनेमा बनाउने पुलको डिजाइनसमेत पास भइसकेको खरेलले बताए । सडक फराकिलो भए पनि सर्भिस ट्रयाक जोड्ने पुल बनेको छैन । ‘पुलको काम सकाउन २ वर्ष लाग्छ,’ उनले भने ।

सडक विस्तारका क्रममा बनेको अधिकांश सडकमा फराकिलो फुटपाथ बनेको छ । त्यतिमात्रै होइन सहरका केही सडकमा सोलारबाट राति झिलिमिली बत्तीको पनि व्यवस्था हुन थालेको छ । अझ विस्तारित चक्रपथको कलंकी खण्डमा सवारी गुडाउन मिल्ने फलाई ओभर -आकाशे सडक) समेत बन्दै छ । जताततै लत्रिएको टेलिफोन र केबलको तार केही हदसम्म व्यवस्थित गरिएको छ । विस्तारको क्रममा बिजुली र टेलिफोनको पुरानो पोल हटाइएको छ ।

‘नयाँ नेपाल अभियानको क्रममा सुरु भएको सडक विस्तारको कामले अहिले मूर्तरूप लिएको छ,’ सडक विस्तारका सुरुवातकर्ता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने, ‘जुन परिकल्पना गरेर काम सुरु भएको हो । त्यहीअनुसार भएको छ । यो अभियानले काठमाडौंको मुहार फेरिंदै छ ।’

नेपाल आउने विदेशीलाई राजधानीमा व्यवस्थित सडकले प्रभाव पार्नर् सडक विस्तार अभियान अघि सारेको उनले बताए । सडकको सीमा कतिसम्म भन्ने कानुन भए पनि कार्यान्वयन भएको थिएन । भट्टराई प्रधानमन्त्री भएदेखि कानुन कार्यान्वयन गर्न निर्देशन मात्रै दिएनन्, उनी आफैं सक्रिय रूपमा लागिपरे । ‘मैले निर्देशनमात्रै दिएको भए केही हुँदैनथ्यो,’ कान्तिपुरसँग उनले भने, ‘म आफैंले नेतृत्व लिएर काम गरें । त्यसको प्रतिफल अहिले देखिएको छ ।’

कसरी सुरु भयो ?

पाँच वर्षअघि बाबुराम भट्टराई अर्थमन्त्री भएताका नयाँ नेपाल निर्माण अभियानमा सडक विस्तार सुरु भएको हो । त्यसबेला बालुवाटार-डिल्लीबजार सडक निर्माण भएको थियो । जब उनी अर्थमन्त्रीबाट हटे, अनि सडक विस्तारको काम पनि रोकियो । माधवकुमार नेपाल र झलनाथ खनालको सरकार बन्यो । तर, सडक विस्तार भएन । थीर बम मार्ग विस्तार सुरु भए पनि त्यसताका पूण्र्ाता पाएको भने थिएन । भट्टराईको कार्यकालसँगै सडक विस्तारको काम सेलायो । पुनः भट्टराई प्रधानमन्त्री भएपछि विस्तार सुरु भयो । ०६८ असोज ८ गते तीनकुनेको आइल्यान्ड भत्काएर सुरु भएको विस्तार कार्य सडक पेटी हुँदै सडक मिचेको संरचना धमाधम भत्काइयो ।

वर्षौंअघि भत्काउन नसकेको बानेश्वरको एभरेस्ट होटलको पर्खाल ०६८ मंसिर ३ मा भत्काएपछि नयाँ बानेश्वर क्षेत्रमा सडक मिचेर बनाइएको संरचना भत्काउन सुरु भएको हो । कुन सडक कहिले भत्काउने र कसरी बनाउने भन्ने योजनाबिना सडक विस्तारको काम सुरु भएको हो । ‘सडक बनाउनेभन्दा पनि अतिक्रमण भएको क्षेत्र भत्काउनु गाह्रो थियो,’ भट्टराईले भने । कुनै एउटा गल्ली विस्तार गर्दा कम्तीमा सयजना प्रहरी तैनाथ गर्नु पथ्र्यो । सडक फराकिलो भएपछि सबैले धन्यवाद दिने गरेको उनले सुनाए । ‘विदेशीले समेत कसरी सम्भव भयो ? भन्दै सोध्ने गरेका छन्,’ उनले भने, ‘नेपालीको सहयोगी भावनाले नै यो सम्भव भएको भन्ने गरेको छु ।’ भट्टराईले आपmनो १८ महिने कार्यकालमा गरेका १२ वटा उल्लेख्य काममध्ये राजधानीको सडक विस्तारलाई दोस्रो महत्त्वपूर्ण कामको सूचीमा राखेका थिए ।

सडक विस्तारको अभियान सुरु गर्दा विरोध नभएको होइन । सडक भत्काउन थाल्दा स्थानीयवासी डोजर अगाडि आएर उभिन्थे । सडकको जग्गा अतिक्रमण गरेर स्थायी संरचना भत्काउँदा चौतर्फी विरोध आएको भट्टराईले बताए । विस्तार कार्य रोक्नुपर्ने माग राख्दै केही व्यक्ति अनशनसमेत बसे । ‘विस्तार कार्यले असर गरेको भन्दै मलाई भेटेर रोए । केहीले धर्ना पनि दिए,’ भट्टराईले भने, ‘अरूको कुरा सुनेर साध्य हुँदैनथ्यो । विस्तारमा खटिनेलाई दबाब आयो भने मलाई फोन गर्न लगाउनु भनेको थिएँ । जस्तोसुकै दबाब आए पनि म सहन्छु भनेकाले अहिले यतिसम्म भयो ।’

विस्तार जारी

भट्टराईको १८ महिने कार्यकालमा जसरी सडक विस्तारले तीव्रता पायो । त्यसयता केही सुस्त भयो । तर, काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले साँघुरो गल्लीमा चिह्न लगाउन भने छाडेन । अभियान सुरु हुँदा सरकारी डोजर प्रयोग गर्नु पथ्र्यो भने, अहिले स्वरूप फेरिएको छ । कति मिटर भत्काउने भन्ने चिह्न लगाएपछि घरधनी आफैं भत्काउन अघि सर्छन् । ‘भत्काउनुपर्ने भन्दै हामीकहाँ सोध्न आउँछन्,’ तिवारी भन्छन्, ‘आफैं सुरु गर्नु, हामीले भत्कायौं भने भत्काएको जरिवानासमेत तिर्नुपर्नेछ भनेपछि आफैं सुरु गर्छन् ।’ अहिले गौरीघाट बौद्धद्वार, मैतीदेवीदेखि सिनामंगल, मैतीदेवी चोकदेखि ज्ञानेश्वरसम्म, डिल्लीबजारदेखि मैतीदेवी, मैतीदेवीदेखि बागबजार, ठमेलको मल्ल होटलदेखि बालाजु  बाइपाससम्म विस्तार भइरहेको छ । त्यस्तै ठमेलदेखि गोंगबु चोक पनि विस्तारको क्रममा छ । ‘अहिलेसम्म साँघुरो बाटोलाई फराकिलो मात्रै गरेको हो,’ आर्किटेक्चरल इन्जिनियरसमेत रहेका भट्टराईले भने, ‘हाफाजाड तरिकाले सिमेन्ट ब्लक ठड्याउन दिनुभएन । व्यवस्थित सहर बनाउन ढिलाइ गर्नुहुँदैन ।’

ढिलासुस्ती र गुणस्तरहीन सडक

ठेकेदार र सरकारी निकायको लापरबाहीले गुणस्तरहीन सडक बनाएको पाइएको छ । अधिकांश सडक पिच भएको महिना दिन नपुग्दै उप्किन लागेको छ । तीनकुने-माइतीघर सडकको सर्भिस ट्रयाक सडक केही ठाउँमा उप्किएपछि टालिएको छ । सरकारी निकायले लापरबाही गर्ने ठेकेदारलाई कारबाही नगर्दा गुणस्तरहीन सडक निर्माण हुने गरेको छ । ‘मिलेमतोमा कम रकममा ठेक्का पार्छन्, अनि गुणस्तरहीन सडक बनाउँछन्,’ भट्टराईले भने । सडक निर्माण हुनुअघि नै जमिनमुनिको ढल र पानीको पाइप लाइन व्यवस्थित नगर्दा पिच भएको सडक उप्किन थालेको छ । महाराजगन्ज-बूढानीलकण्ठ क्षेत्रको २० ठाउँमा यस्तै समस्या देखिएको छ । कतिपय सडकमा कम गुणस्तरका सामान राख्दा पनि स्तरीय बन्न सकेको छैन । ‘बाहिर चिल्लो देखेर मात्रै हुँदैन, भित्र खोक्रो छ,’ तिवारीले भने,’पिच गर्नुअघि राखिएको ग्राबेलको साइज नमिल्नु, बेस र सबबेस एकनासको नहुँदा र जमिनको सतह एकै प्रकारको नहुँदा पिच उप्किने गरेको छ ।’ ठेकेदारले लापरबाही गर्न सक्ने भएकाले सडक भत्किएमा ठेकेदारले एक वर्षभित्र बनाउनुपर्ने नियम राखिएको खरेलले बताए । ‘केही सडकमा समस्या देखिएको छ,’ उनले भने,’बस स्टपबाहेक जथाभावी गाडी रोक्ने, पानी लिकेज हुँदा पिच उप्केको हो ।’

त्यस्तै ठेक्का लागेको सडक निर्माणमा समेत ढिलाइ भएको छ । सरकारले चाहेजस्तो द्रुतगतिमा निर्माण गर्ने क्षमता व्यवसायीमा छैन । सडकले ५ करोड रुपैयाँभन्दा बढीका प्याकेज बनाएर ठेक्का लगाइरहेको छ । जसमा ‘क’ श्रेणीका ठेकेदारले मात्र प्रतिस्पर्धा गर्न पाउँछन् । तर कतिपय प्याकेजमा ठेक्का लिन मात्र ‘क’ श्रेणीको व्यवसायी प्रयोग भएका छन्, काम गर्ने भने तल्लो श्रेणीका ठेकेदार

छन् । ठेक्का सकार्ने सम्झौता गर्ने ठेकेदारको निर्माणमा संलग्नता छैन । ‘ठेकेदारकै कारणले काम ढिलाइ भइरहेको छ,’ खरेलले भने ।

@ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: