Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बुद्धको नाममा ‘शीतयुद्ध’

Posted by Ram Kumar Shrestha on May 6, 2012


भारतले चाहेको भए धेरै पहिले नै नेपालसँग मिलेर एक विशेष सांस्कृतिक योजनाद्वारा आफ्नो सिमाक्षेत्र लुम्बिनीको विकास गरी काठमाडौँ र विश्वका बौद्ध समुदायको भावना जित्न सक्थ्यो। त्यस विपरित आफ्नै भूभागमा नक्कली लुम्बिनी खडा गर्न भारतीयहरू किन अग्रसर भए भन्ने प्रश्न लुम्बिनीको विकासको क्रममा अझ बढी उठ्नेछ। चीनको चासोपछि लुम्बिनीको रणनीतिक महत्व निकै बढेको छ। बुद्धलाई एसियाको प्रतिक बनाएर ‘सफ्ट पावर’ विस्तार गर्ने चीन र भारतको बौद्ध रणनीति लुम्बिनी विकासका लागि राम्रो अवसर हो। दुवै छिमेकी राष्ट्रको चासोमा धक्का नपुग्ने गरी लुम्बिनी विकासमा राष्ट्रसंघलाई अग्रसर गराउन सक्नु नेपालका लागि एउटा चुनौती हो। तर त्यसले नै लुम्बिनीलाई ‘शीतयुद्ध’ बाट टाढा राखेर बुद्धलाई विश्व शान्तिका प्रतिकका रुपमा उभ्याउन मद्दत गर्नेछ।

पूर्ण बस्नेत, हङकङ, वैशाख २५- हङकङमा अघिल्लो साता आयोजना गरिएको तेस्रो विश्व बौद्ध सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जिया चिङलिन देखिएका भए चीनको सांस्कृतिक रुपान्तरणबारे नयाँ बहस शुरु हुने थियो। तर नौ सदस्यीय स्थायी समितिका शक्तिशाली नेता जिया बुद्धका तीन वटा मूर्ती र खप्परको अवशेष अगाडि झुकेर उद्घाटन समारोहमा मन्तव्य दिनेगरी प्रत्यक्ष उपस्थित भएनन्। ‘वृहत् सामाजिक सद्भाव र विश्व शान्तिका लागि बौद्ध शिक्षाको भित्री अर्थ खोज्न’ आग्रह गरिएको उनको बधाई सन्देशमा चीनको बौद्ध रणनीतिक आकांक्षा झल्किन्थ्यो। दलाई लामा पछिका दोस्रो उच्च तिब्बती बौद्ध नेता पञ्चेन लामालाई पहिलो पटक मुख्यभूमी चीनबाट हङकङसम्म ल्याएर बेइजिङले आफ्नो रणनीतिक यात्रा शुरु गरेको छ। पञ्चेन लामाका अनुसार अब उनको विश्व यात्रा मकाउ, ताइवान, सिंगापुर हुँदै अगाडि बढ्नेछ।

छ दशकदेखि कम्युनिष्ट शासन व्यवस्था अपनाएको चीनका चौथो उच्च नेताले बौद्ध दर्शनलाई सामाजिक सद्भाव र शान्तिको माध्यम ठान्नु चिनियाँ कम्युनिष्ट पार्टीको धर्मसम्बन्धी परम्परागत विचारमा आएको परिवर्तनको संकेत पनि हो। बेइजिङका लागि धर्मप्रति उदार हुँदै जानु पर्ने आन्तरिक दबाब र भूरणनीतिक बाध्यता छन्। त्यसले नै धर्म सम्बन्धी पुरानो मान्यता भत्काएर कम्युनिष्ट पार्टीलाई राजनीतिक सुधारको बाटोमा अग्रसर हुन उत्पे्ररित गरेको छ। दलाई लामाको अभियानलाई सिमित गरी तिब्बतका बौद्ध समुदायको विश्वास जित्ने, विश्व बौद्ध समुदायको केन्द्र बन्ने भारतीय आकांक्षालाई चुनौती दिँदै हिमालय क्षेत्रमा ‘सफ्ट पावर’ विस्तार गर्ने र चीनमा क्रिश्चिय धर्ममार्फत् आउने पश्चिमा प्रभावलाई रोक्ने रणनीति अन्तर्गत माओको ‘लाल चीन’ बौद्धमार्गतिर अग्रसर भएको छ।

नेपालको लुम्बिनीमा जन्मेर बुद्धले भारतको बोधगयामा ज्ञान प्राप्त गरे तर उनका धेरै अनुयायी चीनमा छन्। त्यो संख्या निकै बेगले बढिरहेको छ। एक अर्ब तीस करोड जनसंख्यामध्ये करिब ४० प्रतिशत चिनियाँ बौद्धमार्गी छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अँग्रेजी दैनिक पत्रिका ‘ग्लोवल टाइम्स’ ले बिहीबार प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार ८५ प्रतिशत प्रौढ चिनियाँ कुनै न कुनै धार्मिक गतिविधिमा संलग्न हुन्छन् तर उनीहरूमध्ये धेरै आफु आध्यात्मिक भएको खुलासा गर्दैनन्। कम्युनिष्ट सरकारको अनुदार धार्मिक नीतिका कारण धेरै नागरिकले आफ्नो आस्था लुकाउने भएकाले सरकारी आँकडामा दश करोड मात्र बौद्धमार्गी देखिए पनि गैरसरकारी प्राज्ञिक अध्ययनहरूले करिब चालिस करोड चिनिया बौद्धमार्गी रहेको उल्लेख गर्दै आएका छन्।

चीनकै हुरुन एण्ड एण्डस्ट्रियल बैंकले अघिल्लो महिना सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनले धनी र नीजि व्यावसाय अँगालेका चिनियाहरू कसरी आध्यात्मिक बन्दैछन् भन्ने रोचक तथ्यहरू अगाडि ल्याएको छ। पूर्वी चीनका व्यापारिक केन्द्र झेजियङ र फुजियान प्रान्त बौद्ध र क्रिश्चियन धर्मका गढ मानिन्छन्। कतिपय व्यापारी विगतमा गरेको भ्रष्टाचारको पाप पखाल्न समेत बौद्ध पुजामा लिन हुन्छन् भन्ने तथ्यले त्यहाँका मानिसको जीवन र व्यावसायमा धर्म अभिन्न रुपमा जोडिएको पुष्टी हुन्छ। त्यस क्षेत्रमा ३० वर्ष मुनिका ११ प्रतिशत युवा क्रिश्चियन धर्मप्रति आकर्षित देखिएको भन्दै यसलाई चीनमा पश्चिमा संस्कृतिको बढ्दो प्रभावका रुपमा अर्थ्याउन खोजिएको छ। युवा वर्गमा बढ्दो पश्चिमा प्रभाव चीनको कम्युनिष्ट शासनका लागि नै चुनौती हुने चेतावनी दिँदै राष्ट्रपति हु जिन्ताओले केही महिनाअघि पार्टी मुखपत्रमा प्रकाशित लेखमा सांस्कृतिक सुधारमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए।

तीब्र गतिमा भइरहेको बौद्ध स्तुपा, विश्वविद्यालय तथा बुद्धका ठूला मूर्तीहरूको निर्माणले चीनमा नयाँ ‘बौद्ध जागरण’ आइरहेको भान हुन्छ। चीनमा बौद्ध धर्मको प्रवेशद्वार मानिने हेनानमा अघिल्लो साता चीनकै पहिलो आधुनिक बौद्ध विश्वविद्यालय उद्घाटन गरियो। धेरै देशका बौद्ध भिक्षु र अध्येताहरू आमन्त्रण गरिएको उद्घाटन समारोहमा चीनको राज्य प्रशासनको धार्मिक मामिला विभागका उपाध्यक्ष झाङ लेविनले योग्य बौद्ध नेताको कमीले आधुनिक चीनमा बौद्ध धर्मले चुनौती समाना गर्नु परेको भन्दै ‘बुद्धिजमको तीव्र विकासका लागि विश्वविद्यालयको स्थापना महत्वपूर्ण हुने’ उल्लेख गरेका थिए। शाक्यमुनि बुद्धको विश्वकै अग्लो एक सय २८ मिटरको मूर्तीसहित करिब पाँच सय बौद्ध गुम्बाले हेनान चीन र पूर्वी एसियाको बौद्ध केन्द्र बनेको छ।
आफ्नो बौद्ध रणनीति अनुसार २००६ को अप्रिलमा चीनले झेजिङमा आयोजना गरेको पहिलो विश्व बौद्ध सम्मेलन करिब दुई हजार वर्ष पुरानो चिनिया बौद्ध इतिहासमै महत्वपूर्ण पाइला थियो भने गैरकम्युनिष्ट विश्वका लागि आश्चर्यको विषय। २००९ मार्चमा पूर्वी चीनको जिङसु प्रान्तको उसीमा दोस्रो र अघिल्लो साता विशेष प्रशासनकि क्षेत्र हङकङमा तेस्रो विश्व बौद्ध सम्मेलन गरी चीनले सांस्कृतिक रणनीतिलाई आक्रामक बनाउँदै लगेको छ। हङकङ सम्मेलनको निर्णय अनुसार अब पूर्वी चीनको जाङ्सु प्रन्तस्थित लिङसानमा स्थाई रुपमै विश्व बौद्ध सम्मेलन आयोजना हुनेछ।

हङकङ सम्मेलनमा चीनको बौद्ध रणनीतिका प्रतिक बनेका थिए- २२ वर्षीय पञ्चेन लामा। चीनमा बस्ने ११ औँ पञ्चेन लामा दलाई लामापछि दोस्रो उच्च तिब्बती बौद्ध नेता मानिन्छन्। १९८९ मा दशौँ पञ्चेन लामाको मृत्युपछि दलाई लामाले घोषणा गरेका पञ्चेन लामालाई अस्वीकार गर्दै बेइजिङले १७ वर्षअघि ६ वर्षीय ग्याल्ट्सेन नोर्बुलाई ११ औँ पञ्चेन लामा बनाएको थियो। बेइजिङको यो निर्णयलाई ७६ वर्षीय १४ औँ दलाई लामा तेञ्जिङ ग्यात्सोको मृत्युपछि नयाँ दलाई लामा घोषणा गर्ने पूर्व अभ्यासका रुपमा हेरिएको छ। तर दलाई लामा समूहले ‘बौद्ध धर्ममा विश्वास नगर्ने कम्युनिष्ट सरकारले पुनर्जन्मप्रति चासो देखाउनु आश्चर्य भएको’ भन्दै पञ्चेन लामालाई मान्यता दिएको छैन। चीनको बौद्ध रणनीतिलाई खासगरी तिब्बतसँग सम्बन्धित नयाँ दलाई लामाको पुनर्जन्म वा घोषणासँग जोडेर हेर्ने गरिन्छ।

चीनको रणनीतिको अर्को पाटो बुद्धलाई एसियाको प्रतिकका रुपमा उभ्याएर बोधगयालाई विश्व बौद्ध केन्द्र बनाई ‘सफ्ट पावर’ विस्तार गर्ने क्षेत्रीय प्रतिस्पर्धी भारतको योजनालाई सन्तुलन गर्नु हो। बोधगया नजिकै भारतले त्यहाँ ११ औँ शातब्दीको नालन्दा बौद्ध विश्वविद्यालय पुनस्थापना गरिरहेको छ। पुनस्थापना समितिका अध्यक्ष अमर्त्य सेनका अनुसार अर्को वर्षबाट सञ्चालनमा आउने नालन्दा विश्वकै राम्ा्रा विश्वविद्यालयमध्ये एक हुनेछ। दलाई लामा सहित तिब्बती र विश्वका बौद्धमार्गीको केन्द्र बन्ने बोधगया र नालन्दा भारतको ‘सफ्ट पावर’ विस्तारको राम्रो माध्यम बन्ने सम्भावना छ। चीनले यसलाई संास्कृतिक चुनौतीका साथै तिब्बतको सुरक्षा चासोसँग पनि जोडेर हेरेको छ।

बौद्धमार्गीबीच आफ्नो प्रभाव विस्तार गर्ने मामिलामा चीन र भारत खुला प्रतिस्पर्धामै उत्रिएका छन्। चीनले विश्व बौद्ध सम्मेलन गरी पञ्चेन लामालाई तिब्बती बौद्ध नेताका रुपमा स्थापित गर्ने प्रयास गरेपछि भारतले त्यसलाई चुनौती दिँदै दलाई लामालाई संलग्न गराएर छ महिनाअघि दिल्लीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्‍यो। सम्मेलनलाई सम्बोधन गर्न दलाई लामालाई निम्त्याइएपछि बेइजिङले त्यही समयमा दिल्लीमा तय गरिएको चीन-भारत सिमा वार्ता नै खारेज गर्‍यो। निर्वासित तिब्बतीले सम्मेलनलाई चीनको विरोध गर्ने मञ्चका रुपमा प्रयोग गर्न सक्ने भन्दै बेइजिङले दलाई लामालाई स्थान नदिन आग्रह गरेको थियो। सम्मेलनले दिल्लीलाई विश्वका बौद्धमार्गीको राजधानी बनाउने प्रस्ताव समेत पारित गर्‍यो।

लगत्तै बोधगयामा कालचक्र बौद्ध पुजा आयोजना गरियो। दश दिन लामो पुजामा करिब आठ हजार तिब्बती सहित दशौँ हजार बौद्धमार्गीलाई दलाई लामाले प्रवचन दिए। यता चीनले कालचक्रमा सहभागी हुने क्रममा दलाई लामा समूहले तिब्बतीहरूलाई आत्मदाहका लागि उक्साएको आरोप लगाउँदै आएको छ। एक वर्षमा दलाई लामा समर्थक करिब ३० जना तिब्बतीले आत्मदाहको प्रयास गरेको घटनाले बेइजिङ अप्ठेरोमा छ।

बुद्धसँग जोडिएको चीन र भारतबीचको ‘शीतयुद्ध’ एसियामा प्रभाव र शक्ति विस्तार गर्ने रणनीतिमा आधारित छ। एसियामा आफ्नो रणनीति हासिल गर्न बुद्धलाई कसरी उपयोग गर्ने भन्ने विषयमा दुई शक्ति राष्ट्रबीच मन्द युद्ध चलिरहेको छ, जुन एसिया महाद्वीप र यसको आसपासको समुद्री रणनीतिसँग पनि सम्बन्धित छ। एसिया प्यासेफिक एक्स्चेन्ज एण्ड कोअपरेसन फाउण्डेसन (एपेक) मार्फत् चीनले लुम्बिनीलाई ‘विशेष आर्थिक क्षेत्र’ का रुपमा विकास गर्न तीन अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गरेपछि दुई वर्षदेखि संयुक्त राष्ट्रसंघमा दुई राष्ट्रबीच द्वन्द्व चलिरहेको छ। लुम्बिनीमा लगानी गरी नेपालमा ‘सफ्ट पावर’ विस्तार गर्ने चीनको रणनीति तिब्बतको सुरक्षा चासोसँग सम्बन्धित छ। अमेरिकाको तिब्बत केन्द्रित रणनीतिले गर्दा पनि चीनले नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने अवसर खोजिरहेको छ। तर नेपाल-भारत सिमा क्षेत्र लुम्बिनीमा चीनको उपस्थितिलाई भारतले अस्वीकार गर्दै आएको छ।

भारतले चाहेको भए धेरै पहिले नै नेपालसँग मिलेर एक विशेष सांस्कृतिक योजनाद्वारा आफ्नो सिमाक्षेत्र लुम्बिनीको विकास गरी काठमाडौँ र विश्वका बौद्ध समुदायको भावना जित्न सक्थ्यो। त्यस विपरित आफ्नै भूभागमा नक्कली लुम्बिनी खडा गर्न भारतीयहरू किन अग्रसर भए भन्ने प्रश्न लुम्बिनीको विकासको क्रममा अझ बढी उठ्नेछ। चीनको चासोपछि लुम्बिनीको रणनीतिक महत्व निकै बढेको छ। बुद्धलाई एसियाको प्रतिक बनाएर ‘सफ्ट पावर’ विस्तार गर्ने चीन र भारतको बौद्ध रणनीति लुम्बिनी विकासका लागि राम्रो अवसर हो। दुवै छिमेकी राष्ट्रको चासोमा धक्का नपुग्ने गरी लुम्बिनी विकासमा राष्ट्रसंघलाई अग्रसर गराउन सक्नु नेपालका लागि एउटा चुनौती हो। तर त्यसले नै लुम्बिनीलाई ‘शीतयुद्ध’ बाट टाढा राखेर बुद्धलाई विश्व शान्तिका प्रतिकका रुपमा उभ्याउन मद्दत गर्नेछ।

@Nagariknews

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: