Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

साकार हुँदै द्रुतमार्गको सपना

Posted by Ram Kumar Shrestha on April 14, 2012


माधव ढुङ्गेल, निजगढ (बारा), वैशाख २ -काठमाडौंबाट एकै घन्टामा बारा! झट्ट सुन्दा अपत्यारिलो यो सपना चाँडै साकार हुँदैछ। मुग्लिङ-नारायणगढ जीर्ण सडक छिचोल्दै १२ घन्टाको पट्यारलाग्दो यात्राबाट मात्र पुग्न सकिने बारा निजगढ एकै घन्टामा सम्भव बनाउने काठमाडौं-तराई (मधेस) दु्रतमार्गको सपना चाँडै विपनामा बदलिने आधार तयार भएको छ। २२ मिटर चौडा चार लेनको सडक बनाउने योजनासहित थालिएको ७६ किमि दूरीको निजगढ छिचोल्ने द्रुतमार्गको ‘ट्र्याक’ खोल्ने काम सकिनै लाग्दा ‘ननस्टप’ गाडीबाट एकै घन्टामा निजगढ पुग्ने सपना पूरा हुन लागेको हो।

पूर्व-पश्चिम राजमार्गको जुन ठाउँमा द्रुतमार्ग जोडिन्छ, नजिकै छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण गरिने अर्काे अन्तर्राष्ट्रिउ विमानस्थल निर्माणस्थल।

द्रुतमार्गले निर्माणको चर्चामा रहेको अर्काे अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्दा काठमाडौंमाथिको निर्भरतासमेत घटाउने आशा गरिएको छ।

निजगढबाट करिब ६ किलोमिटर पश्चिम राजमार्गको दक्षिणपट्टि चारकोसे झाडीबीचको टाँगियाबस्ती विमानस्थल निर्माणका लागि प्रस्तावित स्थल हो। हाल डुमरवाना गाविसको ७ नम्बर वडामा पर्ने यहाँका बासिन्दा पुनर्वासको पर्खाइमा छन्। बस्तीको वरिपरि घना जंगल छ। रुख हुर्काउँदै त्यसमुनि खेती गर्ने एसियाकै दुर्लभ ढाँचाको यो बस्तीका टोल नम्बर १ देखि १६ नम्बरसम्मका बासिन्दा बसाइँ सर्ने दिन गनिरहेका छन्।

द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने योजना अघि बढेपछि बाराका उत्तरी गाउँहरूमा विकासको बहस सुरु भएको छ। नगरोन्मुख गाउँ विकास समितिहरू निजगढ र डुमरवानामात्र होइन, सिमरा, मनहर्वा, रतनपुर, हरैया यीसँग सीधै जोडिएका गाविस हुन्। राष्ट्रिय गौरवका दुई आयोजनाले बारा सदरमुकाम कलैया र औद्योगिक नगरी वीरगन्जको उत्तरी भेगका बासिन्दामा आशाको सञ्चार गराएको छ। स्थानीय तहमा विकासका पूर्वाधार निर्माणसमेत तीव्र छन्।
द्रुतमार्गलाई वीरगन्जको सुख्खा बन्दरगाहसँग जोड्ने परियोजनाको लक्ष्य छ। सुख्खा बन्दरगाहलाई भारतको कलकत्ता बन्दरगाहसम्म रेलसेवाले जोडिसकेको छ। निजगढदेखि पथलैयासम्मको थप १७ किलोमिटर सडक पनि ‘चार लेन’ बन्ने पर्खाइमा छ, पूर्व-पश्चिम राजमार्गको यही बिन्दुबाट वीरगन्ज र हेटौंडा औद्योगिक क्षेत्र द्रुतमार्गमा जोडिन्छ।

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलभन्दा करिब पाँच किलोमिटर पश्चिमपट्टिको पिलुवाबाट सदरमुकाम कलैया जोड्ने सडक दोब्बर चौडा पार्ने काम धमाधम जारी छ जुन ३-४ वर्षअघिमात्र कालोपत्रे गरिएको थियो। राजमार्गबाट सदरमुकाम कलैयासम्म पुग्न एउटा पनि खोलामा पुल हाल्नु नपर्ने यो सडक कम खर्चिलो भएकाले जिल्ला विकास समितिले प्राथमिकतामा राखेर कालोपत्रे गरेको थियो।

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलोमिटर पश्चिममा सिमरा विमानस्थल छ। यो हाल सञ्चालित विमानस्थलमध्ये काठमाडौंबाट सबैभन्दा नजिकको हो जुन १५ मिनेटको हवाइ दूरीमा छ, वीरगन्जबाट पनि २० किलोमिटरमात्र टाढा छ।

वीरगन्जदेखि अमलेखगन्जसम्म सडकका दुवैतर्फ ठूला उद्योगले भरिइसकेकाले यो क्षेत्रमा नयाँ उद्योग खोल्ने ठाउँ नै बाँकी छैन। त्यसैले निजगढभन्दा दुई किलोमिटर पश्चिमपट्टि निस्कने द्रुतमार्ग र वीरगन्जस्थित सुख्खा बन्दरगाह जोडिँदा बारा जिल्लाका उत्तरी क्षेत्र अबको नयाँ औद्योगिक क्षेत्रका रूपमा विकास हुने आशा स्थानीय बासिन्दाको छ। त्यही आशामा पूर्वाधार बनाउने क्रियाशीलता बढेको छ।

सम्भावित औद्योगिक क्षेत्रका रूपमा अनुमान गरिएको डुमरवाना-सिमराको साँधमा पर्ने दूधौरा खोलामा पुनर्निर्माणको धमाधम छ। ०४२ सालमा नै ग्राभेल भएर पनि हालसम्म कालोपत्रे हुन नसकेको ‘रजैया सडक’ मा पर्ने यो पुलले औद्योगिकीकरणको ढोका खोलेको छ।

सिमरा र डुमरवाना गाविसमा गरी वीरगन्ज चिनी कारखानाको ७ सय ३३ बिघा नम्बरी जग्गा छ। सिमरा विमानस्थलपूर्वको यो जमिनको धेरैजसो भाग सडकले छोएको छ। २० वर्षअघि नै चिनीमिल बन्द भएपछि मिलले आफ्ना केही मजदुरलाई यो जमिनमा बसोबास गराएको थियो। अहिले भने तीलगायत स्थानीयले आफूखुसी जोतभोग र बसोबास गरिरहेका छन्। औद्योगिक क्षेत्र बनाउनुअघि सरकारी स्वामित्वको उक्त जग्गा फिर्ता गराउनु चुनौतीपूर्ण छ। सिमरा गाविसको औराहापूर्वको एक प्लटमा भने औद्योगीकरणका लागि भनेर पर्खाल लगाइएको देखिन्छ।

अन्तर्राष्ट्रिय विमानस्थन निर्माण क्षेत्रमा पटक-पटक हेलिकप्टरबाट निरीक्षण भए पनि बस्तीको पुनर्वास भने थालिएको छैन।

द्रूतमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, सडक विस्तार, पुल निर्माण, हाइटेन्सन लाइन विस्तारलगायत विकासका पूर्वाधार निर्माण धमाधम भइरहेको छ। डुमरवाना क्षेत्रमा रेलवे सेवाकै सर्वेक्षण सुरु भएको छ। चैतको गर्मीमा दिनभरि स्थलगत नापी किला ठोकिरहेका छन्। ‘हाम्रो ठाउँमा त साँच्चै विकास हुन लागेको जस्तो छ,’ एक स्थानीय वृद्धले भने, ‘गर्न थालेजति सबै बन्यो भने त हाम्रो ठाउँ त विकासले धपक्कै बल्लाजस्तो छ।’

@Nagariknews

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: