Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

देवकोटा र उनको अनुवाद

Posted by Ram Kumar Shrestha on February 29, 2012


-होमर श्रेष्ठ

देवकोटाबारे विमर्श:
विश्वसाहित्यलाई मुटु र मस्तकदेखि माया गर्ने र नेपाली साहित्यलाई आधुनिकीकरणको आकाशतर्फ उन्मुख गराउने हाम्रा मूर्धन्य कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) अहिलेसम्म बाँचिरहेका भए यो साल लक्ष्मीपूजाको दिन सय वर्ष पूरा हुने थिए । उनी हिमालजस्तो उच्च र स्वच्छ साहित्यकार हुन्— स्वाधीनताको पूजारी ! तर हाम्रो साहित्यिक बजारमा अहिले स्वाधीनताको खडेरी परेको छ, पराधीनताले जरा हालेको छ र त्यो फर्सीको जराझैँ झाँगिदो छ । त्यसैले हामीलाई देवकोटाको अभिप्रेरणा अझै चाहिएको छ । देवकोटा निर्भय सत्य बोल्न सक्ने, निर्धक्क मुख खोल्न सक्ने र निसङ्कोच कलम चोब्न सक्ने हक्की, पक्कापक्की व्यक्तित्व थिए । अतः उनी नेपाली साहित्याकाशका चम्किला नक्षत्र हुन् । उनले नेपाली समाजको यथार्थ धरातलमा उभिएर ‘मुनामदन’जस्तो अन्तर्राष्ट्रिय स्तरको उम्दा गीतिनाटक सृजना गरे । उनले मान्छेको मुटु र मस्तक स्पर्श गर्ने ‘हुरीको गीत’ गुनगुनाए । उनले ‘झन्झाप्रति’ घोर स्वर उराले र ‘पागल’ बनी फतफताए:

…जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो खान आँटेको देख्छु…
म वन खाने आगोझैँ बहुला हुन्छु !…

देवकोटा गतिशील कवि भएकाले र समयभन्दा द्रूत गतिमा दौडेकाले उनले गतिरोधको सामना गर्नुपरेको इतिहास सबैको सामु छर्लङ्ग छ । उनी माघको ठण्डीमा ताराको राप तापेर बस्छन्, दुनियाँ उनलाई तरङ्गी भन्छन् ! उनी एउटी सुन्दरीको केशमा तुषाराको छिर्का परेको देखेर रुन्छन्, मानिसहरू उनलाई छटाएको भन्छन् ! उनी वसन्तको पहिलो कोकिल नाचेको देख्छन्, जगत् उनलाई बहुला भन्छन् ! उनी एक दिन तुफानसँग गीत गाउन थाल्छन्, बज्रस्वाँठहरू उनलाई राँची पठाउँछन् ! वास्तवमा, वातुल को हो ?

विलक्षण प्रतिभा, प्रश्नवाचक प्रखरता, गतिशील प्रगतिशीलता र मननीय महान्ताकै कारण महाकविजस्तो अत्यन्तै आदरणीय पदबाट उनी विभूषित भएका हुनुपर्छ । (महाकाव्य लेख्ने सबै कविहरू महाकवि हुँदैनन् भन्ने कुरो ज्ञातव्य छ ।) यस्ता गतिशील महाकविको शारीरिक स्वरुप कस्तो थियो होला भन्ने जिज्ञासाको जवाफमा वरिष्ट समालोचक कृष्णचन्द्रसिंह प्रधानको आँखामा देवकोटाको साक्षात स्वरुप यस्तो देखिन्छ: ‘फराकिलो ललाट, भव्य अग्लो जीउ, दोहोरो छाती, लठ्ठिएका आँखा, असरल्ल लवेदासुरुवाल, क्यै खोजिरहेजस्तो सङ्लो सरल, निर्दोष अनुहारका शान्त गम्भीर देवकोटामा भोलिको सिङ्गो साहित्य देखेजस्तो अभिभूत हुन्छ ।’ 

उनै देवकोटाको शतबार्षिकीको उपलक्ष्यमा लेखिएको यो लघु–लेखको उद्देश्य महाकविको सिङ्गो साहित्यिक जीवनको समालोचनात्मक विश्लेषण गर्नु नभएर उनको अनुवादक व्यक्तित्वको मोटामोटी परिचय दिने जमर्को मात्र हो, त्यसमा पनि खासगरी उनले अत्यन्तै महŒवकासाथ अनुवाद गरेका विलियम सेक्सपियरको विश्वविख्यात नाटक म्याक्बेथ (वि.सं. २०१४) र उनीद्वारा अनूदित पश्चिमी जगतका (सोह्रौँ, सत्रौँ र अठारौँ शताब्दीकां) प्रसिद्ध १३ निबन्धकारका निबन्धको अनुवादबारे छोटकरी टिप्प्णी गर्नु हो । प्रसङ्गवश भाषा र भाषान्तरको सन्दर्भ गाँसिने छ त्यहाँ र देवकोटाबारे विचारविमर्श गरिने छ ।

वहुप्रतिभावान् देवकोटाले नेपाली साहित्यभण्डारमा थुप्रै काव्य, खण्डकाव्य र महाकाव्यमात्र सिर्जना गरेनन्, बरु अनेक गहन निबन्ध र प्रबन्धहरू पनि लेखेर गएका छन् । उनले झन्डै पाँच दर्जन साहित्यिक ग्रन्थहरू सिर्जना गरेर गएका छन् । हामी उनलाई हृदयदेखि नै आदर गर्छौँ । हामी उनलाई मनैदेखि कदर गर्छौँ र उनको स्मृतिगीत गुनगुनाउछौँ । नेपाल र नेपालीका अत्यन्तै गौरवशाली गुरु हुन् देवकोटा । उनले हामीलाई धेरै कुरा सिकाएका छन् तर हामीले थोरैमात्र सिकेका छौ । उनले हामीलाई धेरै कुरा देखाएका छन्, तर हामीले थोरै मात्र देखेका छौँ । उनले हामीलाई धेरै कुरा भनेका छन्, तर हामीले थोरै मात्र सुनेका (बुझेका) छौँ । यस अर्थमा हामी अलिकता सुस्त र कृतघ्न पनि हौँ भन्दा फरक नपर्ला कि ? यो सत्य हो— हामीले उनको गुन आजसम्म तिर्न सकेका छैनौँ र त्यसप्रति कुनै पश्चाताप पनि छैन । हामीले उनको उचित कदरसम्म पनि गर्न सकेका छैनौँ । हामीले उनको मानवीय मूल्य र मान्यताको मुल्याङ्कन गर्न सकेका छैनौँ, साहित्यिक मुल्याङ्कनको के कुरा ! राज्यदेखि लिएर यो देसका साहित्यिक समाजले समेत देवकोटाको पाखण्डपूर्ण स्तुती मात्र गाउँदै आएका पो हुन् कि भन्ने आशङ्का पनि गर्न सकिन्छ । किनभने, यथार्थ यस्तै छ— डरलाग्दो छ सत्य ! सत्यलाई चिनेर पनि त्यसको पक्षमा ठोस कदम चाल्न नसक्नु सबभन्दा भयावह अवस्था हो ! आजसम्म महाकविको नाममा एउटा सङ्ग्रहालय पनि स्थापना नगरिनु साहित्यप्रतिको घोर उपेक्षा होइन र ? यस कार्यको निम्ति दिवंगत देवकोटाले चिहानबाट ब्युँतेर हाम्रा लोकतन्त्रवादी नेताहरूलाई बिन्तीपत्र पो चढाउनुपथ्र्र्यो कि ? साहित्यको महत्ताप्रति कति डरलाग्दो उपेक्षा ! साहित्यलाई उपेक्षा गरेर मुलुकको विकास गर्छु भन्नु मध्यरातमा बत्ती निभाएर उज्यालो खोज्नुजस्तै हो । यो कुरो हाम्रा राजनेताहरूले पनि बुझिदिए ! साँच्चै भन्नुपर्दा, हामी माल पाएर चाल नपाउनेहरूको जमात पो हौँ क्यार ! माल पाएर चाल नपाउनेले ठूलै क्षती व्योहोर्नुपर्छ भनिन्छ । हामीले क्षती पनि व्योहोरेका छौँ, तर अझै चेतेका छैनौँ । हामीले आजसम्म अरुलाई गिज्याउन मात्र सिकेका छौँ, तर आपूmलाई खिस्याउन अझै सिकेका छैनौँ । आफैँलाई गिज्याउन नसिकेसम्म मान्छे वास्तवमा सुखी हुन सक्तैन भनिन्छ ! सूक्ति ढाँट्तैन !

प्राथमिक विद्यालयदेखि, विश्वविद्यालयसम्म हामी देवकोटा पढ्छौँ र पढाउँछौँ । मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म हामी बर्सेनि देवकोटाको जन्मजयन्ती मनाउँछौँ । हामी हरेक वर्ष उनको सालिक र फोटालाई गोदाबरी पूmलले सजाउछौँ । हुनसक्छ— हामी महाकविप्रति भक्तिभाव देखाउँदै अनेक फँुदा गाँसेर भाषण पनि छाँट्र्छौँ र सयौँ–हजारौँ जोर हत्केलाहरूले कर्तलध्वनि पनि बजाउँछौँ । हामीले देवकोटाको नाममा अनेक पुरस्कार ग्रहण र वितरण पनि गर्दै आएका छौँैँ । हामीले देवकोटाबारे थुप्रै लेख लेखेर विविध पत्रपत्रिका र स्मारिकामा छपाएका पनि छौँ । सायद, देवकोटाबारे आजसम्म लेखिएका भएभरका लेखहरूको संख्या जोड्ने हो भने असंख्य भैसके होलान्, तर देवकोटाबारे गहन खोज र अनुसन्धान कति भएको छ त ? के यो महŒवपूर्ण प्रश्न होइन र ? यसबारे सम्बन्धित निकायबाट खोजी र मूल्याङ्कन कति भएको छ, त्यो मजस्तालाई थाहा छैन । वास्तवमा, गहिरिएर खोज्दै जाँदा देवकोटाको समग्र परिचय दिने गतिलो ग्रन्थ पाउन अझै पनि मुश्किल छजस्तो लाग्छ । यदि कुनै सुयोग्य प्राज्ञले महाकवि देवकोटाबारे पूर्ण साहित्यिक परिचय समेटिएको गहन लेख तयार पारी इन्कार्टा वा ब्रिटानिका वा क्याम्ब्रिजजस्ता कुनै इन्साइक्लोपेडियामा विधिपूर्वक पेस गर्न सके लेखकको नाम पनि रहने थियो र हाम्रा महाकवि देवकोटा पनि विश्वकोशमा स्थापित हुने थिए ! वास्तवमा, देवकोटा विश्वकोशमा स्थापित हुनलायक व्यक्तित्व हुन् । देवकोटा नेपाली साहित्यआकाशका अप्रतिम प्रतिभा हुन् भन्ने कुरोमा दुई मत छैन । निरङ्कुश सामन्ती राणाशासन र अर्धसामन्ती शाहीशासनकालीन मरुद्यान थिए देवकोटा, जनबिरोधी जर्जर मरुभूमिबीच सुन्दर मनोहर गोदाबरीपूmल बनी ढकमक्क फुलेका थिए । देवकोटाले ‘म्याक्बेथ’ अनुवाद त्यति बेला गरे, जतिखेर नेपालमा १०४ बर्से निरङ्कुश जहानिया राणाशासन ढलेको सात वर्षमात्र भएको थियो र त्यसको ठाउँमा अर्को निरङ्कुश शाहीशासन स्थापित भएको भर्खरै छ–सात वर्ष पुगेको थियो । ‘कोतपर्व’ र ‘भण्डारखालपर्व’ भोगेका स्रस्टाले ‘म्याक्बेथ’ अनुवाद गर्नुको महŒव छुट्टै हुन्छ ।

‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ र ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक…’ जस्ता उच्च आकांक्षा बोकेका महान् दूरदर्शी देवकोटा बाँचुन्जेल आर्थिक अभावमा रुमल्लिनुप¥यो । राज्यले उनलाई कहिल्यै आर्थिक रुपमा आत्मनिर्भर रहने अवसर प्रदान गरेन । कवितामा मात्र होइन, उनी वास्तविक जीवनमा पनि सदा संघर्ष गरेरै बाँचे । उनलाई रोग लाग्दा सरकारले उपचारको व्यवस्था नगरेकोे मात्र होइन, तासकन्दमा आयोजित अफ्रो–एशियाली लेखक सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी स्वदेस फर्केपछि राज्यले उनको भत्ता रोक्का गरेर अत्यन्तै हद दर्जाको असभ्यता र नृशंसता प्रदर्शन ग¥योे । सायद, त्यसैकारण उनको आन्द्रामा सङ्क्रमित अर्बूदको राम्रो उपचार हुन सकेन र उनले असामयिक मृत्यु वरण गर्नुप¥यो, गरे । रोगीहरूको एउटै मात्र इच्छा हुन्छ, तर स्वस्थ मान्छेको अनेक उच्च आकांक्षा हुन्छन् भन्ने कुरो देवकोटाले राम्ररी बुझेका थिए । जिउँदै मर्नुभन्दा मरेर बाँच्नु बेस हुन्छ भन्ने कुरा पनि उनले राम्ररी बुझेका थिए । रोगग्रस्त जीवनभन्दा स्वस्थ मृत्यु बेस हुन्छ भन्ने कुरो उनले चुनेका थिए । जीवनवादी देवकोटाले जीवन र मृत्युवीचको अन्योन्याश्रित सम्बन्ध गहिरो रुपमा बुझेका थिए । त्यसैले बरु मृत्यु वरण गरे उनले दासता स्वीकार गरेनन् । विडम्बनाको कुरो के छ भने यस्ता होनहार स्रस्टाको गुन तिर्न न यो देसका जनताले चासो देखाए, न त नेताले । यो मुलुकको इतिहास नै यस्तै छ— साहित्यिक क्षेत्रका स्वाभिमानी स्रस्टाहरू कोही घोर उपेक्षित भएर, कोही पक्षघातले पिरोलिएर, कोही फोक्सो कुहिएर, कोही मृगौला सुन्निएर, कोही शरीर कुँजिएर र कोही मानसिक सन्तुलन गुमाएर उपचार नपाई मर्नुपर्ने निरन्तरता जारी छ । अर्कोतर्फ यो देसका लुटाहा, फटाहा, ढँटुवा, छली, कपटी, पाखण्डी र राष्ट्रघाती टपर्टुøयाँहरू राष्ट्रको करोडौँ, अर्बौँ धनमा फुपूको श्राद्ध गरिरहेका छन् । देवकोटाको जन्मशताब्दीकोे अवसरमा यस्ता कुरा यसरी उठाउनुहुन्थ्यो कि हुँदैनथ्यो कुन्नि, तर उठाइहालियो, नकारात्मक अर्र्थ नलागाइयोस् भनी विनम्र अनुरोध गर्दछु !

ऐतिहासिक चेतना :
निश्चय पनि महान् जर्मन दार्शनिक नित्सेले भनेझैँ कुनै पनि युगको ऐतिहासिक चेतनाको गहिराइ त्यस युगले गरेको साहित्यिक सिर्जना र अनुसिर्जनाको मात्रा र स्तरीयताको आधारमा मुल्याङ्कन गर्न सकिन्छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित अनुवाद ग्रन्थसूची (२०५९) अनुसार वि.सं. १८५५ देखि २०५८ सम्म करिब २०० वर्षको इतिहासमा पाश्चात्य साहित्यबाट नेपाली साहित्यमा अनूदित विश्वप्रसिद्ध नाटकहरूको सङ्ख्या लगभग २ दर्जन मात्र छन् । तीमध्ये देवकोटाद्वारा अनूदित म्याक्बेथ एक हो ।

ऐतिहासिक चेतनाले मानवजातिलाई निरन्तर अग्रदिशातर्फ मार्गदर्शन गरिरहेको हुन्छ । विश्वका समग्र खोजका विषयहरू ऐतिहासिक चेतनाकै खुट्किलोमा टेक्दै, परिमार्जित हुँदै विस्तारै माथिमाथि उक्लिरहेका हुन्छन् । साहित्यअनुवाद पनि ऐतिहासिक चेतनाकै एउटा आधार हो । हाम्रो साहित्य र कला जहाँ छ, नेपाल त्यहीँ छ । हाम्रो साहित्य र संस्कृति जहाँ छ, नेपाली समाज त्यहीँ छ । राष्ट्रलाई साहित्य र कलासित बिच्छेद गर्न सकिन्न भन्ने कुरो हामीले बुझ्नु परेको छ ।

विश्वसाहित्यमा नेपाली समाजको उत्थानको निम्ति उपयोगी अनुवाद्य साहित्यहरू थुप्रै होलान् । तिनको पहिचान गरेर तिनलाई आफ्नो भाषामा असल अनुवाद गर्नु युगकोे माग हो । यस कार्यलाई ज्ञानको विस्तारको रुपमा हेर्न र बुझ्न पनि सकिन्थ्यो होला । ज्ञान बाँड्दा दोब्बर हुने र सञ्चय गर्दा क्षय हुँदै जाने कथन हाम्रो समाजमा यदाकदा अझै रहस्यको विषय पो बनेको छ कि जस्तो लाग्छ ! यदि त्यसो हो भने त्यो मन्दमन वा पछौटपन हुनुपर्छ । साहित्यअनुवाद ज्ञानको त्यो फिलिङ्गो हो त्यसले अनुकूल वातावरण पायो भने घनघोर हरियो जङ्गललाई समेत डढेलो लगाउन सक्छ र त्यस अवस्थामा अँध्यारोले ढाकिसकेका गाउँ र वस्ती, अनि सुदूरका क्षितिजहरूमा समेत उज्यालो छर्न सक्छ । यसरी हेर्दा विश्वसाहित्यका उत्कृष्ट अनुवादहरू पृथ्वीका अँध्यारा कुनामा उज्यालो छर्ने र नयाँ क्षितिज उघार्ने शक्तिशाली उर्जा हुन् भन्ने बुझिन्छ । मानवसभ्यतालाई अग्रगति प्रदान गर्ने ऊर्जाशील सिर्जनाहरू जुनसुकै भाषाका किन नहोऊन् ती फिनिक्सका अस्तुजस्तै हुन् — एउटा भाषाबाट अर्को भाषामा अनुवादरुपान्तर हुनेबित्तिकै ती पुनर्जीवित हुन्छन् र नयाँ शक्तिशाली जीवन धारण गरिहाल्छन्, अनि पाठकहरूको मुटु र मस्तिष्कमा ती छोइन्छन्, सङ्क्रमित हुन्छन् । ज्ञान र विज्ञानको यो अनन्त चक्र हो । भाषा पनि विज्ञान हो । साहित्यमा भाषाको जादूमय भूमिका हुन्छ ।

भौतिक विज्ञान भन्छ: E=mc2 भौत्तिकशास्त्री अल्बर्ट आइन्स्टाइनको मास–इनर्जी इक्वेशन) “पदार्थको एउटा सूक्ष्म अणु रुपान्तर हुँदा त्यसले अत्यन्तै विपुल शक्ति उत्पन्न गर्दछ । फलतः सूर्य अति उच्च तापक्रम (बीस करोड डिग्री से. ?)मा दनदनाइरहेको छ ।” न्युक्लियर–शक्तिको प्रक्रिया र परिणाम पनि त्यही हो । यसरी गहिरिएर हेर्दा अनुवादमा असाध्यै ठूलो शक्ति अन्तर्निहित हुने पक्कापक्की छ । निश्चित रुपमा हाम्रा देवकोटीय अनुवादमा पनि सशक्त चाप हुनुपर्छ । उनले कतिपय आफ्नै कविताहरू समेत अङ्ग्रेजीमा अनुवाद गरी नेपाली कवितालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयत्न गरेका छन् र कतिपय प्रसंगमा उनले आफैँलाई समेत स्वतन्त्र अनुवादरुपान्तर गरेका छन् । यात्री कवितामा देवकोटा स्वयम् अनूदित भएजस्तो लाग्छ । देवकोटीय पूजा, अर्चना र आराधना त्यहीँ छ । उनको अन्तिम कविता ‘शून्यमा शून्य सरी’को सातौँ हरफ आखिर श्रीकृष्ण रहेछन् एकका श्रीकृष्णजी पक्कै पनि द्वापरयुगका नायक हुनुपर्छ, अत्याचारी दुर्जन खलनायक कंसलाई बध गर्न जन्मिएका महापुरुषको विम्ब हुनुपर्छ । श्रीकृष्णजी योगेश्वर थिए, सिद्धपुरुष थिए । उनी अलौकिक थिएनन् । अंशलाई बुझ्न अप्ठ््यारो पर्दा सिङ्गोमा खोजेर निष्कर्ष निकालिन्छ क्यार ! देवकोटा प्रमिथसमा पनि अनूदित भएका छन् । प्रमिथस विद्रोही ‘टाइटेन’ हुन्— ग्रिसेली पौराणिक देवता Gaea -धर्ती) र Uranus -आकाश)का सन्तति । प्रमिथस स्वर्गबाट आगो चोरेर मनुष्यको निम्ति पृथ्वीमा ल्याउँछन् । यसरी देवकोटाले द्यौतालाई मनुष्यमा र मनुष्यलाई देउतामा अनुवादरुपान्तर गरेका छन् । देवकोटा विशिष्ट अनुवादक हुन् ।

देवकोटाबारे कलम चलाउँदा: 
देवकोटाजस्ता होनहार साहित्यिक धरोहरद्वारा गरिएका अनुवादकार्यबारे कलम चलाउने जमर्को गर्दा एउटा सामान्य लेखकलाई धक लाग्नु अस्वाभाविक होइनजस्तो लाग्छ । त्यसमाथि देवकोटाद्वारा अनूदित साहित्यिक कृतिबारे लेखिएका गहन सन्दर्भपुस्तकहरूको हामीकहाँ अभाव पनि त छ नि ! एक–दुई वटा सामान्य सामग्रीको भरमा देवकोटीय अनुवादबारे सिङ्गो लेख लेख्ने आँट गर्नु धृष्टता पो हुने हो कि भन्ने सोचले जित्दाजित्दैै पनि केही मित्रहरूले हौस्याएको भरमा यो लेख जसोतसो लेख्ने जमर्कोसम्म गरेको हुँ । कलम चलाएको केही मिनेटभित्रै सन्दर्भसामग्रीको अभाव खट्किनु थियो, खट्किहाल्यो । यो मनमा लाग्यो— यदि साहित्य, कला र सूचनाप्रविधिमा हाम्रो मुलुक विकसित हुन्थ्यो भने महाकवि देवकोटा कम्प्युटरको की–बोर्ड र पाठकका औँलाहरूबीचको स्पर्शमा जीवित भेटिने थिए होलान् ! अज्ञात शक्तिले मेरो मस्तकमा ढकढकायो—“बबुरो ! तिमीहरू अज्ञानतामा अगाडि छौँ, ज्ञान र प्रविधिमा पछाडि छौ ! तिमीहरू धाक र धक्कुमा धनी छौ, गहकिलो गराइमा गरिब छौ ! उत्निखेर बिउ रोपेर उत्निखेर बाली भिœयाउन सकिन्न भन्ने कुरो तिमीहरूले हिजो–अस्ति नै बुझ्नुपथ्र्यो ! आज बुझ्दा पनि हुन्थ्यो !”

विलियम सेक्सपियर: 
देवकोटाद्वारा अनूदित स्रस्टा विलियम सेक्सपियर मानव इतिहासकै उत्कृष्ट नाटककार एवम् अब्बल अङ्ग्रेज कविको रुपमा सुपरिचित छन् । उनको नाटक, चरित्रपात्र, कथावस्तु र भाषाबारे संसारका विद्वान्हरूले हजारौँ पुस्तक र लेखहरू लेखिसकेका छन् र प्रकाशित गराइसकेका छन् । उनका नाटकहरू संसारमै सबभन्दा धेरैपटक मञ्चन गरिएका हुनसक्ने अनुमान गर्न सकिन्छ र उनी संसारकै सबभन्दा सान्दर्भिक साहित्यिक व्यक्तित्व हुन् भन्ने पनि बुझिन्छ । उनको नाटकमा रहेका दार्शनिक गहिराइ, भाषाको गहनता र सुन्दरता अनि आश्चर्यजनक चरित्रपात्रहरूको विविधता र व्यापक पाठकहरूबीच लोकप्रियताको कारण उनका नाटकहरू विश्वभरि नै सदाबहार बनेका हुन् । सेक्सपियरले ग्रिसेली महापण्डित अरस्तुको शक्तिशाली नाट््यसूत्रलाई समेत पन्छाएर मौलिकपनको विकास गरे । मान्छेमा आइपर्ने दुःख र समस्याहरू दैवी कारणले आइलाग्छन् भन्ने प्राचीन ग्रिसेली नाटकका परम्परागत मान्यतालाई सेक्सपियरले परिवर्तन गरी मान्छेले भोग्नुपर्ने दुःख र कष्ट मानवीय चरित्र र व्यवहारकै कारण उत्पन्न हुन्छन् भन्ने कुरो देखाए । म्याक्बेथ यसको ज्वलन्त उदाहरण हो । निश्चय पनि यो सोच पुनर्जागरणकालको उपज हुनुपर्छ । सेक्सपियरका यस्ता मौलिक विशेषताबारे अनुवादक देवकोटा सचेत भएको पाइन्छ, तर देवकोटाको अध्ययनअनुसार विश्वप्रसिद्ध रसियाली लेखक लियो तोल्सतोयले सेक्सपियरको धेरै अवगुणहरू दर्शाएर उनलाई पहिलो दर्जाको नाटककारमा राख्न अनुचित ठानेका थिए भनिन्छ र सुप्रसिद्ध अङ्ग्रेज नाटककार बर्नाड शाले सेक्सपियरको चिहानमा रहेको हड्डी बाहिर निकालेर एकपल्ट झट्कार्ने चेष्टा समेत गरेका थिए रे । यस्ता सूक्ष्म टिप्पणीहरूले देवकोटाको गहिरो अध्ययनको पुष्टि गर्दछ ।

सेक्सपियरको स्रोत राफेल हलिन्सेड (सन् १५२५—१५८० ?): 
अङ्ग्रेज इतिहासकार राफेल हलिन्सेडकृत इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्डको ऐतिहासिक अभिलेख (ग्रन्थ–२,सन् १५७७) सेक्सपियरका धेरैजसो नाटकहरूको मूल स्रोत हुन् भनिन्छ । हुन पनि हो, सेक्सपियरको नाटक म्याक्बेथ स्कटल्याण्डका प्राचीन राजा म्याक्बेथको जीवनमा आधारित छ । ग्रेटवृटेनको राजनीतिक इतिहासअनुसार राजा डङ्कन–प्रथमको सर्वोच्च सैनिककमाण्डर म्याक्बेथले सन् १०४० मा राजाको हत्या गरी आपूm स्कटल्याण्डका राजा भएको घोषणा गरेका थिए । त्यसपछि म्याक्बेथले १७ वर्ष शासन गरेपछि डङ्कनको छोरो म्याल्कमले म्याक्बेथको हत्या गरी आपूm बादशाह म्याल्कम–तृतीय बनेका थिए । यो कुरो अनुवादक देवकोटाले आफ्नो भूमिकामा सङ्क्षेपमा उल्लेख गरेका छन् । देवकोटाको अध्ययनअनुसार सेक्सपियरले स्कटल्याण्डको इतिहास हुबहु उद्धृत गरेका छैनन्, बरु त्यो ऐतिहासिक अस्थिपञ्जरमाथि मासु, रगत र प्राण भरेर जीवन्त तुल्याएका छन् ।

म्याक्बेथको कथावस्तु: 
सन् १६०६ मा लेखिएको भए तापनि सन् १६२३ मा प्रथमपटक औपचारिक रुपमा प्रकाशित सेक्सपियरको विश्वविख्यात नाटक म्याक्बेथ कुरुपताको कथा हो भन्दा हुन्छ । म्याक्बेथ नृशंसता र अनैतिकताको अध्ययन पनि हो, जुन मान्छेको मनभित्र छिपेको हुनसक्छ, फलतः नकारात्मक प्रलोभनको कारण ऊ पतन हुन्छ । म्याकबेथ युद्धबाट फर्केर आउँदा तीनजना बोक्सीले उनलाई अभिवादन गर्छन् र भन्छन्—“तपाईं एक दिन राजा हुनुहुनेछ ।” त्यसैताक सैन्यसफलता हासिल गरेको उपलक्ष्यमा राजा डङ्कनबाट म्याकबेथले एउटा सम्मान पाउँछन्—‘थेन अब् कडर’(Thane of Cawdor) जुन कुरो म्याक्बेथको निम्ति बोक्सीको भविष्यवाणीसँग धेरथोर मिलेको जस्तो आभास हुन्छ । लेडी म्याक्बेथ आफ्नो महTवाकांक्षा छिट्टै अघि बढाउन श्रीमानलाई हुटहुटी लगाउँछिन् । अनि उनीहरू दुईजना मिलेर राजालाई मार्ने षडयन्त्रपूर्ण योजना बनाउँछन् र राजसिंहासन प्राप्त गर्न व्यग्र बन्छन् । लेडी–म्याक्बेथ यस विषयमा अतिमहTवाकांक्षी बन्छिन् । नाटकको अंक–२ को दृश्य–२मा म्याक्बेथले हत्यायोजना कार्यान्वयन गरिरहेका बखत लेडी–म्याक्बेथ व्यग्रतापूर्वक पर्खिरहेकी हुन्छिन् । हत्याकाण्डपछि म्याक्बेथ किंकत्र्तव्यविमूढ भइरहेको बेला हत्यामा प्रयोग गरिएको रगत लत्पतिएको हतियार अझै म्याक्बेथकै हातमा हुन्छ । म्याक्बेथले गरेको हत्याअपराध लुकाउने उद्देश्यले लेडी–म्याक्बेथ हत्त न पत्त त्यो हतियार आपूmले लिन्छिन् । म्याक्बेथ त्यो न्युरोटिक हत्याको सोचमा डुबेर झन्डै विक्षिप्त अवस्थामा पुगेको बेला लेडी–म्याक्बेथको दुस्साहसी तर दृढ क्रियाकलापले म्याक्बेथमा अत्यन्तै ठूलो असर गर्छ । म्याक्बेथ भित्रभित्र डराउँछन्, आत्तिन्छन् ।

म्याक्बेथको कमजोर मनस्थिति देखेर लेडी–म्याक्बेथ रिसाउँछिन् र उनको काँथरपनको कर्कश आलोचना गर्छिन्, तर सत्रौँ शताब्दीका ख्रिस्तान दर्शकहरूका निम्ति भने म्याक्बेथले ‘आमेन्’ भनी ईश्वरको प्रार्थना नगर्नुले उनको निम्ति खतरा थियो भन्ने कुरो स्पष्ट संकेत गरेको बुझिन्छ । (‘आमेन्’ ईश्वरको प्रार्थना गर्दा अन्त्यमा पुकारिने शब्द हो ।) गहिरिएर हेर्दा यस नाटकमा म्याक्बेथले पश्चाताप र रक्षाको सम्भावनालाई जानेरबुझेर नकारेको देखिन्छ । फलतः म्याक्बेथ आफ्नो नृशंस अपराधको कारण स्खलित हुन पुग्छन् । स्मरणीय छ—क्राइष्टेली धर्मग्रन्थअनुसार जिसस क्राइष्ट आफ्नो उपासना गर्ने सम्पूर्ण पापीहरूको मुक्तिदाता हुन् । उनी आफ्ना भक्तहरूको उद्धारक र संरक्षक हुन् । बाइबलअनुसार प्रभुको प्रार्थनागर्नेहरू जस्तोसुकै घोर अपराधबाट पनि उद्धार गरिनसक्छन् । ख्रिस्तानहरू जतिसुकै गम्भीर अपराधी भए पनि प्रभुसमक्ष पश्चाताप वा प्रायश्चित गरी मुक्ति पाउन सक्छन् । यो ख्रिस्तानहरूको धार्मिक (अन्ध)विश्वास हो । प्रत्येक गिर्जाघरमा प्रायश्चित सुन्ने धर्मगुरु नियुक्त गरिएका हुन्छन् । यसरी हेर्दा यो नाटकमा धार्मिक पृष्ठभूमि पनि रहेको देखिन्छ ।

सेक्सपियरीय भाषा:
सेक्सपियरीय सन्दर्भमा बोल्दा वा लेख्दा सेक्सपियरकालीन भाषाबारे धेरथोर चर्चा हुनु बेसै हुने छ । आजभन्दा चार सय वर्षपूर्वको सेक्सपियरकालीन अङ्ग्रेजी आजको आधुनिक अङ्ग्रेजीभन्दा निकै फरक थियो, लचकदार थियो । उसबखतको अङ्ग्रेजी भाषा विकसित भैसकेको थिएन, हिज्जे र व्याकरण राम्रो व्यवस्थित भैसकेका थिएनन् । अङ्ग्रेज विद्वान्हरूले व्याकरणका नियमहरू भर्खरभर्खर बनाउन सुरु गरेको अवस्था थियो त्यो । पश्चिमी सभ्यता र संस्कृतिमा बौद्धिक र कलात्मक मानिएको ल्याटिन भाषालाई भर्खरै मात्र अङ्ग्रेजी भाषाले विस्थापित गर्दै महत्वपूर्ण साहित्यिक भाषाको रुपमा स्थापित हुन लागेको थियो । त्यस बखतको अङ्ग्रेजीमा व्याकरणका नियमहरू स्वतन्त्र भएकाले सेक्सपियरले आफ्नो अनुकुल र ढाँचामा शब्द तथा वाक्यसंरचनालाई व्यापक उपयोग गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । कतिसम्म भने नामपदलाई विशेषण वा क्रियापदको रुपमा समेत सन्दर्भ हेरी उनले प्रयोग गरेका भेटिन्छन्, अनि विशेषणलाई क्रियाविशेणको रुपमा र सर्वनामलाई संज्ञाको रुपमा पनि उपयोग गरेका पाइन्छन् ! सायद, यस्ता बृहत् स्वतन्त्रताले सेक्सपियरको भाषालाई असाधारण तुल्याए पनि सहज र ग्रहणयोग्य भने बनाएको देखिन्छ, जसको कारण उनको अभिव्यक्ति एकदम व्यापक र सशक्त बनेको थियो । सेक्सपियरको साहित्यिक सफलता अङ्गे्रजी भाषाको द्रूत र व्यापक विस्तारको कारण नै हुन गएको हो भनिन्छ । उसबखत नयाँ र आगन्तुक शब्दहरू अपूर्व गतिमा अङ्ग्रेजी भाषामा वैरिएका थिए । भनिन्छ— सेक्सपियरका नाटक र काव्यहरूमा मात्र लगभग तेईसहजार शब्दावली प्रयोग भएका छन् र तीमध्ये कैयौँ नविन (virgin) शब्दहरू पहिलोपल्ट उनका कृतिमा प्रयोग गरिएका थिए । त्यो युरोपेली पुनर्जागरणकालमा कतिपय आगन्तुक शब्दावलीहरूले, विशेषतः ल्याटिन र अन्य युरोपेली भाषाहरूले अङ्ग्रेजी भाषालाई सुसम्पन्न तुल्याएको कुरामा भाषाविद्हरूको एकमत छ । सेक्सपियरले ती नविन स्रोतहरूको भरमार उपयोग गरेका थिए । सेक्सपियरले उपयोग गरेका भाषामा बाइबलका प्रार्थना, उपदेश र उखानरुपी अभिव्यक्तिहरूको प्रभावसमेत प्रचुर मात्रामा पाइन्छन् । भनिन्छ— आजका आधुनिक पाठकहरूले सेक्सपियरलाई राम्ररी बुझ्न नोट नै तयार पार्नुपर्छ ! देवकोटाले सेक्सपियरीय भाषालाई राम्ररी खारेर पस्केका छन् ।

सेक्सपियर बुझ्ने समझदारी: 
सेक्सपियरलाई बुझ्ने सन्दर्भ खोजी गर्दै जाँदा मेरा आँखा अनायास एउटा रमाइलो र चाखिलो प्रश्नउत्तरको अध्यायमा पुगेर ठोकिन्छ र रोकिन्छ । त्यही प्रसंग कोट्याउँछु:

प्रश्न: मेरा कतिपय अभिनेता मित्रहरू सेक्सपियरलाई औधी मन पराउँछन्, तर म भने सेक्सपियरलाई बुझ्दिनँ । मलाई थाहा छ—उनको भाषा अङ्ग्रेजी हो, तर त्यो बुझ्न गाह्रो छ । बार्डको गद्य–सौन्दर्यलाई म कसरी अनुवाद गर्न सक्थेँ हुँला ?

नोट: (प्राचीन बार्डहरू सेल्टिक कवि हुन् । तिनलाई यदाकदा नेपालका गाइनेहरूसँग दाँज्न सकिन्थ्यो जस्तो लाग्छ— उनीहरू आफैँ गीत रच्छन् र अलिखित गीतहरू गाउँदै सुनाउँदै हिँड्छन् जसमा राजनीतिक, ऐतिहासिक, सामाजिक आदि घटनालाई समावेस गरी गीत–कविता रचेका हुन्छन् । सेल्टीक बार्ड प्राचीन इन्डोयुरोपेलीहरूको एउटा हाँगो हो, जसको अस्तित्व ई.पू.मा अत्यन्त शक्तिशाली थियो भनिन्छ र मध्यकालमा समेत विशेषतः वेल्स र आयरल्याण्डमा यिनको महŒव भएको बुझिन्छ । वेल्सका बार्डहरू प्रायः अभिजात वर्गका हुन्थे भने कतिपय बार्डहरू हाम्रा गाइनेझैँ घुमिहिंड्थे । रोमनहरूले भन्दापहिल्यै बार्डहरूले बेलायत, स्पेन र गाउलमाथि विजय हासिल गरेका ऐतिहासिक अभिलेख छ ।)

उत्तर: सेक्सपियरको बहुचर्चित नाटक ओथेलो अंक–५ को दृश्य–२ पल्टाउनुहोस् ! सेक्सपियरका सबैभन्दा सरल र सरस भाषा, सहज चरित्रपात्र–सम्बन्ध र स्वाभाविक विकसित कथानक त्यहाँ फेला पार्नुहुनेछ । ओथेलोकी श्रीमती डेस्डेमोनाले परपुरुषसित यौन सम्पर्क राखेको आशङ्का उत्पन्न भएपछि ओथेलो हातमा मैनबत्ती लिएर श्रीमती सुतेको कोठामा उनको हत्या गर्न जान्छ । यो यस्तो दृश्यसन्दर्भ हो, त्यसले ओथेलोको मनोवाद (soliloquy) स्वतस्पूmर्त प्रकट गराउँदछ । त्यो अवस्थामा नाटकका पात्र आपैmसित कुरो गर्छ र दर्शकहरूले पात्रको मनको कुरा बुझ्दछन् ।

तर नाटकमा सेक्सपियरीय कवितात्मक एकालाप बुझ्न भने औधी कठिन हुने उनका दर्शक र पाठकहरूको अनुभव छ, किनभने उनले कवितामा कल्पना, जटिल उत्तेजना र मूल पात्रको विचारलाई गुन्द्रुकझैँ खाँदेर राखेका हुन्छन् । यदि हामी जटिल कविता मनपराउँदैनौँ भने सायद, सेक्सपियरलाई मनपराउँदैनौँ !

एउटा उदाहरण: 
Out, out, brief candle !
Life’s but a walking shadow, a poor player,
That struts and frets his hour upon the stage,
And then is heard no more. It’s a tale
Told by an idiot, full of sound and fury,
Signifying nothing.

माथिको उद्धृतांशलाई देवकोटाले यसरी सुन्दर ढङ्गले अनुवाद गरेका छन्:

तँ निभ् ! तँ निभ् !
अल्पायु मैनबत्ती हे ! जिन्दगी यो छ केवल
हिंड्दो छायाँ, छुद्र नट जो आफ्नो एक नै घडी
फुर्तिन्छ अनि च्याँठ्ठिन्छ, अनि त्यत्ति भएपछि
कहिल्यै त्यसको केही सुनिन्न खबरै पनि
बुद्धूले कहिएको यो किस्सा हो, शब्द गर्जन
तथा प्रकोपले पूर्ण, व्यञ्जना गर्छ शून्यको ।)
(म्याक्बेथ—अङ्क–पाँचको दृश्य ५)

मेरो बुझाइमा म्याक्बेथ नाटकको सर्वाधिक महŒवपूर्ण नाट््यसंवाद हुनसक्छ यो । प्रस्तुत उधृतांशको रङ्गमञ्चीय परिवेशलाई नियालेर हेर्दा मानिसद्वारा गरिने व्यर्थका नकारात्मक ईष्र्या, लोभ र द्वेषबारे म्याक्बेथ सोचमग्न भइरहेको हुन्छ । म्याक्बेथ र लेडी–म्याक्बेथको राज्यसत्ता हत्याउने षडयन्त्रपूर्ण योजना स्खलित हुँदै गएको शृङ्खलाबद्ध दृश्य एकपछि अर्को देखापर्दै गइरहेको हुन्छ । यसैबीच लेडी–म्याक्बेथ मरेको सम्चार सुन्नेबित्तिकै म्याक्बेथ यो सारगर्भित संवाद प्रकट गर्दछ । यस दृश्य–काव्यले मानवजीवनलाई रङ्गमञ्चसँग तुलना गर्दै भन्छ : ‘जीवन चल्दो छायाँ हो, रङ्गमञ्चमा त्यो घमण्डले हिंड्छ… षडयन्त्र र अहङ्कार मान्छेको मूर्खतासिवाय केही रहेनछ, व्यर्थ रहेछ त्यो । अन्ततः मान्छेले अरुलाई धोखा दिन सक्तैन रहेछ ।’ म्याक्बेथको ‘सेल्फ–रियलाइजेसन’ व्यक्त भएको छ यहाँ, अनि लेडी–म्याक्बेथको चरित्र टड्कारो रुपमा इङ्गित भएको, गरिएको देखिन्छ । सेल्फ–रियलाइजेसन सामाजिक रुपान्तरणको एउटा महŒवपूर्ण कडी हो ।

‘तपाईंले म्याक्बेथको यही उधृतांशलाई अनुवाद गर्नुपर्दा कसरी गर्नुहुन्थ्यो ?’ भनी एक जिम्मेवार सम्पादक मित्रले जिज्ञासा राख्नुभएपछि यो पङ्क्तिकारद्वारा गरिएको भाषान्तरको प्रयास यस्तो छ:

निभ् ! निभ् !
ए अल्प मोमबत्ती !
जीवन चल्दो छायाँ हो, एक तुच्छ पात्र,
रङ्गमञ्चमा घमण्डले हिंड्छ,
चिन्तित र चूर भई मञ्चित हुन्छ,
अनि त्यो शून्यतामा हराउँछ ।
एउटा स्वाँठको कथानक हो यो,
रोष र आवेशको अर्थहीन ध्वनि ।

यसरी हेर्दा सेक्सपियरलाई बुझ्नु र उनको असल अनुवादक बन्नु एक दृष्टिले सजिलोजस्तो देखिए तापनि यथार्थमा त्यति सजिलो भने नहुने प्रस्ट छ । सेक्सपियरको अनुवादकले अङ्ग्रेजी भाषा बोल्न र लेख्न जानेर मात्र पुग्दैन, पश्चिमेली धर्म, संस्कृति र इतिहासको अध्यता पनि बन्नैपर्दछ । कतिपय पाठकमा गलत समझदारी पनि हुनसक्ला— अङ्ग्रेजी भाषा बोल्न र लेख्न जान्नेले अङ्ग्रेजी साहित्य सजिलै बुझ्छन् र अनुवाद पनि सहजै गर्न सक्छन्, तर यथार्थ भिन्न छ— कैयौँ अङ्ग्रेजहरूले सेक्सपियर नपढेका वा पढेर पनि नबुझेका हुनसक्छन्, जसरी कतिपय नेपाली भाषीहरूले देवकोटा नपढेका वा पढेर पनि नबुझेका हुनसक्छन् । यो अनौठो र आश्चर्यजनक कुरो होइन । साँच्ची भन्नुपर्दा सेक्सपियरलाई बुझ्न र अनुवाद गर्न कमसेकम आजभन्दा चार शताब्दीपूर्वको बेलायती इतिहास र धर्म–संस्कृतिको अध्ययन गरेको हुनुपर्छ र मोटामोटी रुपमा बुझेकै हुनुपर्छ— बुझेजस्तो गरेरमात्र पुग्दैन ! उदाहरणको निम्ति सेक्सपियरकृत नाटक म्याक्वेथको सन्दर्भमा ख्रिस्तान धर्मग्रन्ध अध्ययन नगरेका अथवा बाइबलको ‘ओल्ड–टेष्टामेन्ट’ नबुझेका पाठकहरूले उक्त नाटकमा प्रयोग भएको शब्द गोलगोथा नबुझ्नसक्छन् र देवकोटाद्वारा अनूदित शब्द मुण्डस्थल पनि नबुझ्ने प्रबल सम्भावना रहन्छ । देवकोटाद्वारा अनूदित मुण्डस्थल बुझ्न त ग्रिसेली शब्द Kranion लाई अङ्ग्रेजीमा Skull भनी अनुवाद गरिएको ऐतिहासिक सन्दर्भ समेत बुझेको हुनुपर्छ । अवश्य पनि सेक्सपियरलाई राम्ररी अनुवाद गर्न बेलायती महारानी एलिजावेथलाई पनि बुझेकै हुनुपर्छ र सेक्सपियरका समकालीन साहित्यकार मार्लोलाई पनि धेरथोर चिनेकै हुनुपर्छ । सेक्सपियरको अब्बल अनुवाद गर्न ग्रेट–ब्रिटेनको भूगोलसमेत मोटामोटी जानेकै हुनुपर्छ— स्कटल्याण्ड, आयरल्याण्ड र वेल्सलाई चिनेको हुनुपर्छ । देवकोटाले यी सब चिनेका थिए्, जानेका थिए भन्ने कुरा उनीद्वारा लिखित म्याक्बेथको गहन भूमिका र टिप्पणीले पुष्टि गर्दछन् । मध्ययुगमा पद्यमा लेखिएको सेक्सपियरीय नाटकलाई समालोचनात्मक भूमिका र गहन टिप्पणीसहित अनुवाद गर्नु लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट योग्यता र प्रतिभा हो ।

देवकोटाको भूमिका: 
आपूmले गरेको कामबारे राम्रो जानकारी राख्नु असल स्रस्टाको बौद्धिक एवम् नैतिक दायित्व हो । अनुवादक देवकोटाले नाटककार विलियम सेक्सपियर र उनको नाटक म्याक्वेथबारे आपूmमा गहिरो ज्ञान थियो भन्ने कुरो राम्ररी पुष्टि गरेका छन् । गहिरिएर हेर्दा देवकोटा म्याकबेथमा चुर्लुम्मै डुबेका छन् । देवकोटाले म्याकबेथको भूमिकामात्र साठी पृष्ठ लेखेका छन् भने उक्त नाटकबारे टिप्पणी ९० पृष्ठ लेखेका छन् र ती पृष्ठहरू फगत फोस्रा पृष्ठ नभएर भरिला र चाखिला विश्लेषणले भरिएका छन् । सर्वप्रथम उनले नाटककार सेक्सपियरको जीवनलाई संक्षिप्त तर सूक्ष्म रुपमा प्रस्तुत गरेका छन् । देवकोटाले सेक्सपियरको जन्म–दर्तामितिदेखि मृत्यु र अन्त्यष्टि तिथिसम्म (सन् १५६४, २६अप्रिल—१६१६, २३अप्रिल ) प्रष्ट भाषामा उल्लेख गरेका छन् । सेक्सपियरले आफ्नो जीवनको महŒवपूर्ण कार्यहरू कुन परिवेशमा कसरी सम्पन्न गरेका थिए भन्ने कुरो पनि उनले राम्ररी उल्लेख गरेका छन् । देवकोटाले लेखेका छन्—सेक्सपियरले सुरुसुरुमा दुःखको बेला नाट््यशालाबाहिर राखिएका अतिथिका घोडाहरूको रेखदेख गर्ने काम समेत गरेका थिए र पछि गएर मात्र उनले राम्रा नाटककम्पनीको सदस्य बन्ने मौका पाएका थिए । भनिन्छ— उनले नाटकमा अभिनयसमेत गरेका थिए । सेक्सपियरले ह्याम्लेटमा भूतको र आयज यू लाइक इटमा आदम नाम गरेको बृद्ध नोकरको भूमिका खेलेका थिए भन्ने अनुश्रुति पाइन्छ । महारानी एलिजावेथका समक्ष ग्रिनविच दरबारमा त्यसबखतका प्रमुख अभिनेता विलियम केंप र रिचार्ड वर्वेजका साथमा रही सेक्सपियरले नाटकमा भूमिका खेलेका थिए । यो सोह्रौ शताब्दीको अन्त्यतिरको कुरो हो । त्यसपछि एलिजावेथको मृत्युपछि जेम्स प्रथमको पालामा आइपुग्दा सेक्सपियर अझ लोकप्रीय भएका थिए । राजदरबारका ठूला पर्वहरू सेक्सपियर र उनका जमातविना कस्तोकस्तो खल्लो र अधुरोजस्तो महसुस गरिन्थ्यो । यी सब कुरा देवकोटाको भूमिकामा प्रष्ट पढ्न पाइन्छ ।

देवकोटीय अनुवादकला:

देवकोटा विविध भाषा र संस्कृतिका अध्यता र ज्ञाता थिए । उनको अनुवादकला अनुकरणीय र प्रशंसनीय देखिन्छ । उनले म्याक्बेथको अंक १ को दृश्य—३ मा एउटा प्रसंगमा टिप्पणी गरेका छन्— ‘रोम सहरकी रणदेवीको नाम वेलोना हो, ल्याटिनमा लडाईलाई वेलोम भनिन्छ ।’ त्यस्तै गरी उनी अंक १ को दृश्य—३ कै अर्को सन्दर्भमा टिप्पणी लेख्छन्— ‘आयरिस भाषामा इंचको माने लघुद्विप हुन्छ । यस टापुको नाम थियो इंचकोन ।’ अंक १ को दृश्य—३ कै अर्को सन्दर्भमा टिप्पणी गर्दै उनी लेख्छन्—‘बोक्सीहरू गीति–छन्दमा बोल्छन् । नाटक अन्त्यानुप्रासरहित ब्लेंकभर्स (अनुष्टुप–छन्द) मा ज्यादाजस्तो चल्दछ ।’ यहाँ Blank verse लाई देवकोटाले अनुष्टुप–छन्द भनी भाषान्तर गरेका छन् । यो उनको अनुकरणीय सिर्जनात्मक कार्य हो ।

देवकोटाले आइज्याक वाल्टन (सन् १५९३—१६८३) को निबन्ध पूराबल्सीवाला मा Gospel लाई धर्मोपाख्यानम भनी अनुवाद गरेका छन् । पुरानो अङ्ग्रेजी godspel बाट ब्युत्पन्न शब्द गोस्पेल को अभिधेय अर्थ ‘असल समाचार’ हो । यिशुख्रिष्टको जीवन, मृत्यु र सन्देशबारे चारजना इभाङ्गेलिस्ट (म्याथु, मार्क ल्युक र जोन)द्वारा लिखित चारवटा धार्मिक पुस्तकहरू नै गोस्पेल्स हुन् । यी चार पुस्तकहरूमध्ये एक पुस्तक गोस्पेल हो । यसरी हेर्दा देवकोटाले गरेका गोस्पेलको अनुवाद धर्मोपाख्यानम स्वाभाविक देखिन्छ, तर यदि यसलाई ख्रिस्तान–धर्मोपाख्यान भनी भाषान्तर गरिन्थ्यो भने गोस्पेलको गूढार्थसँग अझ प्रष्ट रुपमा नजिकिन सकिन्थ्यो कि जस्तो लाग्छ मलाई । जे होस्, आजभन्दा आधा शताब्दीपूर्व नै देवकोटाले यति गहन अध्ययनपूर्वक धार्मिक शब्दको अनुवाद गरेको पाउँदा त्यसपछिका नेपाली अनुवादकहरूमा गतिरोध पैदा भएको प्रष्टै देखिन्छ । अर्को भाषामा भन्नुपर्दा देवकोटा र देवकोटापछिको पुस्ताबीच गहिरो गर्त देखिन्छ ।

देवकोटाले चाल्र्स ल्याब (१७७५—१८३४) को ‘पोलेको पाठाको उपर प्रबन्ध’ (अनूदित) मा नेवारी र नेपाली शब्दको मीठो समिश्रण प्रयोग गरेका छन्—“===हिसिमरु छाउरा ! के घिच्न लागेको थिइस् < तेरा कुकुरका चालले मेरा तीन घर जलाएर मरिस्, तैपनि पुगेन < अझ आगो समेत खान्छस् <===”

म्याक्बेथ नाटकमा देवकोटा अत्यन्तै गहिराइमा डुबेका छन् भन्ने कुराको उदाहरणहरू यस कृतिभित्र थुप्रै छन् । उनले अंक १ को दृश्य १ बारे यस्तो टिप्पणी गरेका छन् M ===अन्त्यानुप्रासहरू मन्त्रोच्चारणका मिल्दा ढुङ्गाजस्ता गुञ्जन्छन् । तीन, पाँच, सातजस्ता तान्त्रिक संख्या प्रयोग गरिएका छन् ।’ यसबाट देवकोटामा तान्त्रिक ज्ञानबारे पनि अध्ययन र थियो भन्ने बुझिन्छ ।

केही अपवादलाई छाडेर हेर्दा देवकोटाको अनुवादकला ज्यादै सरल र सरस छन् । देवकोटीय अनुवादमा यदाकदा थेगो (चाहिने) र हिन्दी शब्दहरू प्रयोग गरिएका पाइन्छन्, जस्तै M लडका, दरबाजा, मालुम, एकबार, पैदायस आदि । यस्ता दोष नभैदिएका भए सुनमा सुगन्ध हुन्थ्यो होला । जे होस्, उनको भाषा र अभिव्यक्तिमा आफ्नै खरो विशेषता छ । त्यसलाई देवकोटीय शैली भन्न सकिन्थ्योजस्तो लाग्छ ।

अर्कोतर्फ काव्यिक प्रतिभाको कारण हुनसक्ला, सेक्सपियरले अङ्ग्रेजीमा अन्त्यानुप्रास मिलाएर व्यक्त गरेका नाटकका कतिपय संवादहरूलाई हाम्रा देवकोटाले पनि अत्यन्तै सुन्दर ढङ्गले अन्त्यानुप्रास मिलाएर नेपाली भाषामा अनुवाद गरेका छन् । यो रचनात्मक सिर्जनालाई प्रतिभाशाली स्रस्टाको कला र सीपको अनुपम उपमा मान्न सकिथ्यो होला । उनको यो उच्च विशिष्ट प्रतिभाको साहित्यिक मुल्याङ्कन इमान्दार साहित्यकारबाटै हुनुपथ्र्याेजस्तो लाग्छ । यस नाटकमा देवकोटाद्वारा अनूदित अन्त्यानुप्रासका सुन्दर नमुना हेरौँ:

First witch :
When shall we three meet again ?
In thunder, lightning or in storm ?

-कहिले हामी तीनौटी भेटौँला रे फेरि <
घन–गर्जनमा, बिजुलीमा वा पानी पर्दाखेरि <

Second witch :
When the hurleyburley’s done,
When the battle’s lost and won.

-जहिले होला गडरमडरको हल्लीखल्ली अन्त,
हार र जीत साथ भएको जहिले होला जङ्ग !)
-अंक–१, दृश्य—१)

अंक १ को दृश्य १ को ९–१० हरफबारे उल्लेख गर्दै आपूmले गरेको अनुवादबारे देवकोटाले यस्तो टिप्पणी गरेका छन्— उनले अङ्ग्रेजी मूलको ग्रेम्याल्किन (Graymalkin) शब्दलाई ‘कुइरी बिराली’ भनेर अनुवाद गरेका छन् र त्यसलाई भावार्थ भनेका छन् । देवकोटाको विचारमा नेपाली लोकविश्वासअनुसार पनि बोक्सीका छौंडा बिराला हुने भएकाले त्यसरी अनुवाद गरेका हुन् भनेका छन् । वास्तवमा, ग्रेम्याल्किन शब्द कलिन्स, क्याम्ब्रिज, अक्सफोर्ड र इन्कार्टाजस्ता शब्दकोश र विश्वकोशमा समेत मैले फेला पार्न नसकेको हो । हुनसक्छ— ग्रेम्याल्किन अङ्ग्रेजी शब्द नभएर चार शताब्दीपूर्व सेक्सपियरले भिq\याएका
विविध आगन्तुक शब्दमध्येको कुनै हुनसक्ला र त्यसलाई देवकोटीय दृष्टिले भाषान्तर गरेको हुनसक्छ ।
अंक १ को दृश्य २ बारे देवकोटाले अङ्ग्रेजी शव्द सार्जन (Sergeant) लाई भावार्थको रुपमा रक्षक भनी अनुवाद गरेका छन् र आफ्नो अनुवादबारे प्रष्ट पादै लेखेका छन्—“पहिलेपहिले सार्जन शब्दले सामन्ती जङ्गी सेवा गर्ने, जस्तो राजामहाराजाको अङ्गरक्षा गर्नेलाई जनाउँथ्यो । पछिपछि यसको अर्थ परिवर्तन हुन गएको हो ।” देवकोटाको तर्क स्वाभाविकै लाग्छ ।

यसै अंक र दृश्यमा देवकोटाले अंग्रेजी Chaps लाई च्यापु भनी अनुवाद गरेका छन् र त्यसरी अनुवाद गर्नुको कारण शव्दध्वनि मिल्ने हुनाले भनेका छन् । उनले from the nave to the chaps लाई ‘नाभीदेखिन् च्यापुसम्मन्…’ (अंक १ को दृश्य २—पृष्ठ ३) भनी अनुवाद गरेका छन् । योचाहिँ भाषान्तर बुझ्न यो पंक्तिकारलाई सरल नभएको खुलासा गर्नैपर्छ । जहाँसम्म मेरो बुझाइ छ— Nave गिर्जाघरको त्यो मध्यभाग हो जहाँ विशेषतः प्रभुका प्रार्थकहरू बस्ने गर्छन् र यदि chapel लाई सेक्सपियरीय भाषामा chaps लेखिएको हो भने त्यो गिर्जाघर वा कथिड्रलभित्रकै क्राइष्टेलीहरूले उपासना गर्ने एउटा छुट्टै वेदी हो ।
यसै नाटकको अंक १ को दृश्य २ मा मूल शब्द Golgotha लाई देवकोटाले गोल्गोथा अथवा मुण्डस्थल भनी अनुवाद गरेका छन् । पक्का पनि उनले Golgotha लाई skull को रुपमा ग्रहण गरी नेपालीमा मुण्डस्थल भनी अनुवाद गरेका हुनुपर्छ । वास्तवमा, यो ऐतिहासिक स्थलको नाम विविध छन् । Golgotha इजरायलको राजधानी जेरुसलेमको ठीक बाहिरपट्टिको त्यो पहाड हो जहाँ यिशुख्रिटलाई चौकाठमा झुन्ड्याएर अर्थात् सूलीमा चढाएर मारिएको थियो भन्ने ख्रिस्तान एवम् यहुदीहरूको धार्मिक विश्वास छ । त्यस धार्मिक एवम् ऐतिहासिक स्थलको भाषान्तर भिन्न–भिन्न मुलुकमा विभिन्न छन्:

ल्याटिन — Calvāria — Calvary अङ्ग्रेजी
ग्रीक — Kranion — Skull अङ्ग्रेजी
सेमिटिक— Gulgulta — Golgotha अङ्ग्रेजी

सन्दर्भस्रोत :

कर्माचार्य, माधवलाल । वि.सं २०५९। अनुवाद ग्रन्थसूची ः काठमाण्डौँ, नेराप्रप्र.
जोशी. कुमारबहादुर । वि.सं. २०६५। कात्तिक । लक्ष्मीप्रसाद देवकोटाबारे कृष्णचन्द्रसिंहसँग संवाद, (साहित्यिक मासिक गरिमा )
देवकोटा, लक्ष्मीप्रसाद । वि.सं २०२६। म्याक्बेथ (अनूदित) काठमाण्डौँ, नेपाल सांस्कृतिक संघ
देवकोटा,लक्ष्मीप्रसाद । वि.सं २०२५। प्रसिद्ध प्रबन्धसङ्ग्रह (अनूदित) काठमाण्डौँ, साझा प्रकाशन
देवकोटा,लक्ष्मीप्रसाद । वि.सं. २०३३ । लक्ष्मी कवितासङ्ग्र
English Literature during Renaissance / 2008 / Encarta
http://classics.mit.edu/Shakespeare/
Marvin Carlson (Ph.D) /2001/ Drama in Shakespeare’s era
The Holy Bible, New International Version, Zondernvan Publishing House Grand Rapids Mi 49506, USA

कामनपा—२९, समाखुसी
मिति : २०६६÷०६÷१५
प्रकाशित : ‘भृकुटी’ समालोचनात्मक एवम् अनुसन्धानात्मक सहित्यिक साँस्कृतिक त्रैमासिक (महाकवि लक्ष्मप्प्रसाद देवकोटा शतवार्षिकी विशेषाङ्क) —पूर्णाङ्क ५,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: