Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

९३ वर्षमा पनि महाकाव्य लेख्न व्यस्त छन् राष्ट्रकवि

Posted by Ram Kumar Shrestha on February 18, 2012


काठमाडौं । उमेरले ९३ वर्ष टेकिसक्यो । यो उमेर हुँदा धेरैले राम्ररी कान सुन्दैनन्, आँखा देख्दैनन् । न स्मरण शक्ति राम्रो हुन्छ, न लर्याङतर्याङ गरेर काम गर्ने जाँगर ।

तर, राष्ट्रकवि माधव घिमिरेलाई ९३ वर्षको मान्छे भन्न नै सुहाउँदैन । उहाँ अहिले पनि उत्तिकै कान सुन्नुहुन्छ । चश्मा त पहिलेदेखि नै लगाउने मान्छे, आँखाले उसैगरी काम गरिरहेको छ । बिहान साढे ६ बजे उठिसक्नुहुन्छ, राति सुत्दा साढे १०/११ बज्छ ।

बुढ्यौली भएर आराम गर्नुपर्ने उमेरमा के गर्दै हुनुहुन्छ त राष्ट्रकवि ? ‘पहिलेदेखि लेखिरहेको महाकाव्य बीट मार्ने काममा व्यस्त छु हिजोआज’ अनलाइनखबरसित कुराकानी गर्दै राष्ट्रकवि घिमिरेले भन्नुभयो-’मलाई राष्ट्रले सम्मान दिएको छ, म पनि राष्ट्रलाई केही दिँदैछु ।’ राष्ट्रकवि घिमिरेले झण्डै तीन वर्षदेखि महर्षी योगी अरविन्दसँग मिल्दोजुल्दो विषयवस्तुमा आधारित ऋतंभरा महाकाव्य लेख्न थाल्नुभएको हो । ‘अब अर्को वर्षसम्म सक्ने योजना छ’ घिमिरेले भन्नुभयो ।

त्यसैले उहाँलाई हिजोआज बाहिरफेर हिंड्ने फुर्सद छैन । ‘दिनभरी काव्य लेखनमै समय बित्छ’ घिमिरेले भन्नुभयो -’फुर्सद मिलाएर पत्रिका पनि पढ्ने गर्छु घरमै बसेर ।’

बुढ्यौली उमेरमा लेखपढ गर्ने काम पनि चानचुने कुरा होइन । बुढो हुँदा स्मरणशक्ति कमजोर हुन्छ भनिन्छ, तर कसरी लेखिरहनुभएको छ त राष्ट्रकवि ? ‘पहिले जस्तो त किन हुन्थ्यो र, तैपनि स्मरणशक्ति त्यति कमजोर भैसकेको छैन’ घिमिरेले भन्नुभयो । युवा छँदा भावनामा लेख्ने गरेको र अहिले गम्भीर भएर लेख्ने गरेको उहाँले सुनाउनुभयो । ‘युवामा जोशले लेखिन्थ्यो, अहिले लेख्दा केही गम्भीर हुन्छु’ उहाँले भन्नुभयो ।

उमेरले सय पुग्न लागेपनि उहाँमा अझै जाँगर छ । शरीर चाउरिएपनि फुर्तिलो नै छ । ‘मुख त बार्नुपर्छ, गिलो खानेकुरा खाने गर्छु’ घिमिरेले भन्नुभयो ।

साहित्यिक यात्रा

विक्रम संवत १९९२ सालमा गोरखापत्रमा पहिलो कविता ‘ज्ञानपुष्प’ छपाएर नेपाली साहित्यिक क्षेत्रमा प्रवेश गरेका घिमिरेले त्यसपछि निरन्तर कलम चलाइरहनुभएको छ । उहाँका अहिलेसम्म नवमञ्जरी, नयाँ नेपाल, किन्नर किन्नरी कविता संग्रह, गौरी, पापिनी आमा, धर्तीमाता, राजेश्वरी, राष्ट्रनिर्माता, इन्द्रकुमारी, बोराको पर्दा, गौंथली र गजधम्बे खण्डकाव्य, शकुन्तला, विषकन्या, बालकुमारी, देउकी, मालती मंगले, हिमालवारि हिमालपारि गीतिनाटक तथा घामपानी, बाललहरी, सुनपंखी चरी, बिजुले बालखण्डकाव्य प्रकाशित छन् । उहाँका बाँसुरी र चारु च्र्चा जस्ता गीति संग्रह पनि छन् । सरल र सबैको मन छुने खालका रचना हुने भएकाले घिमिरेका कृति बालबालिकादेखि पाका व्यक्तिसम्म सबैले उसैगरी मन पराउँछन् । उहाँका कृतिहरुमा प्रकृति चित्रण, मानवताको गुणगान र राष्ट्रपतिको गहिरो माया पोखिएको पाइन्छ । उहाँका दुईहजार भन्दा बढी साहित्यिक कृति छन् ।

योगदान र सम्मान

घिमिरेको जन्म लम्जुङको पुस्तुन बाहुनडाँडामा भएको हो । उहाँ अहिले काठमाडौंको लैनचौरमा बस्नुहुन्छ । पहिले विद्यालयका शिक्षक, गोरखाभाष प्रकाशिनी समितिका कर्मचारी, गोरखापत्रका जागिरे, लमजुङ आधार स्कूलका प्रधानाध्यापक, कलेज अफ एजुकेशनका प्राचार्य हुँदै उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य, उपकुलपति र कुलपतिको सम्मको जिम्मेवारी निभाइसक्नुभएको छ । घिमिरेले २०२८ सालदेखि प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य र २०५९ अशोज ९ गतेदेखि राष्ट्रकविको सम्मान पाउनुभएको हो । उहाँलाई २०५३ सालमा समस्त नेपालीको तर्फबाट सार्वजनिक अभिनन्दन गरेर सम्मानित पनि गरिएको थियो । घिमिरेले २०३३ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार, २०५० को सीताराम पुरस्कार, २०५२ को आदिकवि भानुभक्त पुरस्कार, २०५५ र २०५९ को साझा पुरस्कार लगायत थुपैं सम्मान र पुरस्कार पाउनुभएको छ ।

९३ वर्षमा पनि महाकाव्य लेख्न व्यस्त छन् राष्ट्रकवि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: