Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

चल्यो जनताको डोजर

Posted by Ram Kumar Shrestha on December 22, 2011


कसको थियो हैसियत, कमलपोखरी मोडको घरकम्पाउन्डको पर्खाल भत्काउने? भत्काउने त कुरै छोडौँ, त्यो पर्खालको नजिक जाने साहससम्म थिएन कसैको। राजपरिवारका आफन्त र आसेपासे, भाइभारदार, हुक्के-बैठके, उद्योगी-व्यापारीहरूको थलोका रूपमा रहेका काठमाडौँ शहरका आकर्षक बस्तीहरूमा अहिले बुलडोजर चलेको छ।

मेजर धनबहादुर गुरुङ, विश्वविक्रम शाह, गौरवविक्रम शाह, वनवारीलाल मित्तललगायत धनाढ्यहरूले एक्स्ट्रा पावर लगाएर सुरक्षित राखेका घरकम्पाउन्ड र जैन भवनका पर्खाल भत्किएका छन्। राजाकै पालामा पटक पटक फराकिलो पार्ने सरकारी निर्णय भएर पनि फराकिन नसकेका सडकहरूको रूप देश गणतन्त्र भएको पा”च वर्षपछि फेरिँदैछ। पहिलोपल्ट जनताले देशको मालिक र भाग्य विधाता हामी आफैँ हौँ भन्ने अनुभव गर्न पाएका छन्। स्वरूप आचार्यको रिपोर्ट :

राजनीतिक दलका नेताहरू र संविधान सभाका सदस्यहरू सिंहदरबारको घेराभित्र पुस महिनाको पारिलो घाम ताप्दै बदाम खाएर नेपाली राज्य पुनर्संरचनाको गफ चुटिरहेका बेला जनताको सार्वभौम शक्तिको प्रयोग गरेका छन्, एकजना उच्च प्रहरी अधिकृत गणेश राईले। निर्णय गरेर प्रचार गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने अहिलेसम्मको सरकारी व्यवहारका विपरीत जनता हिँडने र मोटर गुड्ने सडक फराकिलो पार्ने अभियान चलाएका छन् उनले।
बिस वर्षअघि काठमाडौंमा जन्मेको मानिस शहरका सडकमा गुच्चा खेल्थ्यो। त्यसबेला उसलाई बाटोको विस्तार र यसको प्रभावका बारे अलिकति पनि ज्ञान थिएन। त्यतिबेला पनि रातोपुल-कमलपोखरी सडक फराकिलो हुने हल्ला चलिरहन्थ्यो। सुनेर मैतीदेवी टोल र त्यस वरपर बस्ने केटाकेटीहरू रमाउ”थे, फराकिलो सडकमा गुच्चा खेल्न पाइने भयो भनेर। ती सडक कहिल्यै फराकिला हुन सकेनन्। केही दिनअघिसम्म पनि धेरैले यसलाई गफमात्र मानेका थिए। तर, देश गणतन्त्र भएको पा”च वर्षपछि त्यो सडकले जुनी फेर्‍यो।

केही महिनापहिले माइतीघर-नयाँ बानेश्वर सडक किनारा अतिक्रमण गरेर बनाएका संरचनाहरू जुन तदारुकताका साथ हटाइए, त्यो देखेर जनता चकित भए। यो के अचम्म भयो? धेरैले आ”खा मिचेर बुलडोजर चलेको दृष्य हेरे। कुनै पनि सरकारले ढाल्न नसकेको होटल एभरेस्टको पर्खाल र स्विमिङ पुल भत्कियो। त्यो पर्खाल भत्काउँदा त्यहाँ उपस्थित धेरैजना चकित थिए। सबैले त्यो कार्यलाई नयाँ सुरुआत भनेका थिए। त्योमात्र नभएर काठमाडौँका सबै सडक विस्तार हुनुपर्ने र अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउनु पर्ने आवाज उठ्न थालेका थिए। शंखमुल निवासी शिशन त्रिपाठी भन्दै थिए, ‘यो बाटो पनि साँच्चीकै छ लेनको भयो भने त बाइक सरर्र गुडाउन पाइन्छ। त्योभन्दा रमाइलो अरू के होला र?’

नागपोखरीको नन्दीरात्री स्कुल वरपरको सडक र त्यसलगत्तै लैनचौरको सडक विस्तारका लागि दरबार र महलका पर्खाल भत्काउँदै महानगरीय प्रहरी ट्राफिक महाशाखाका डिआइजी गणेशराज राई हिँडेपछि जनतामा विश्वास जागृत भयो- नेपालका पुलिस यति संवेदनशील काम गर्न पनि सक्दा रहेछन्।
आजका मितिसम्म ट्राफिक प्रहरीको सक्रियतामा राजधानीको १७ ठाउँमा सडक सीमा मिचेर बनाइएका घर र पर्खालमा डोजर लागिसकेको छ। राईले ट्राफिक प्रहरीले गर्ने नियमित काममा सडक विस्तारसमेत समावेश गरेर सराहनीय काम गरेका छन्।

डिआइजी राईले माथिका हाकिम र तलका कारिन्दा कतै र कसैवाट आएका दबाबहरूको वास्ता नगरी सडक विस्तार गर्ने कामको थालनी गरेका थिए। उनको कामलाई नगर विकास समितिले मात्र साथ दिएको हो। अहिले उनले जनताको साथ पाएका छन्। राजनीतिका फोहोरी खेलाडीहरू नाकको चालले राईको कामको समर्थन गर्ने स्थितिमा पुगेका छन्।

गणतन्त्र स्थापनापछि देशको मालिक बनेका जनताको सहयोग र समर्थनले हौसिएका डिआइजी राईले यो संवाददातासँग सडक विस्तार गर्ने अभियानलाई तीव्रताका साथ निरन्तरता दिने बताए। यसमा नगर विकास समितिका नगर नियोजक डा. भाइकाजी तिवारीले पूर्ण समर्थन जनाए, ‘ सरकारले बनाएको मापदण्डको उपहास गरी बनाइएका जुनसुकै संरचना पनि भत्काएर सडक फराकिलो पारिने छ। यसमा कोही कसैसँग पनि सम्झौता गरिने छैन। क्रमैसँग राजधानीका सबै सडक मापदण्ड अनुसार फराकिलो बनाइने छ। सडक मिचेर घर बनाउनेहरूले आफ्नो घर आफैँ भत्काएर झ्याल ढोका र इँटको सुरक्षा गरे राम्रै हुन्छ। नत्र हाम्रो डोजरले कुनै शक्ति र शक्तिकेन्द्रलाई चिन्दैन।’

डिआइजी राईको अनुभवमा सडक विस्तारको क्रममा सबैभन्दा बढी दबाब नयाँ बानेश्वर र कमलपोखरी सडकखण्डमा नै आएको थियो। ‘काठमाडौँको बानेश्वर र कमलपोखरीजस्तो सम्पन्न र समृद्ध बस्तीमा घर जग्गा हुनु भनेको सामान्य मान्छेको पहुँचभन्दा बाहिरकै कुरा हो,’ डिआइजी राईले भने, ‘त्यसैले त्यहाँ बस्ने बलियाबांगाले सामान्य जनताका विरुद्ध अलि अलि फूर्ति देखाउनु स्वाभाविकै हो। तर, जब कुनै पनि कुरा जनताको सेन्टिमेन्टसँग प्रत्यक्ष जोडिन्छ, तब सबैजना ब्याकफुटमै बस्न रुचाउँछन्।’

डिआइजी राईले भने, ‘ट्राफिक प्रहरीको मुख्य काम त ट्राफिक व्यवस्थापन नै हो। त्यसमा दुई मत छैन। तर, दैनिक आठ लाख गाडी गुड्ने राजधानीमा सडक पनि त हुनुपर्‍यो नि। भएको सडक पनि हुनेखानेले नै अतिक्रमण गरेर बसेपछि न राम्रोसँग ट्राफिक व्यवस्थापन गर्न सकिन्छ, न राजधानी कहिल्यै व्यवस्थित हुन्छ। कसै न कसैले त पहल गर्नु नै थियो। त्यो पहल कदमी ट्राफिकले गर्‍यो। अहिले सबैले समर्थन गरेका छन्।’ उनी आफूले जानी जानी ठूलै रिस्क लिएको कुरा हाँसी हाँसी स्विकार्छन्, ‘म चार महिनापहिले ट्राफिक महाशाखामा आएको थिएँ। मैले कहिल्यै ट्राफिकमा काम नगरेकाले खासै जानकार थिइनँ। सबैले मलाई बेकामे नै भन्थे। मैले केही गरेर देखाउनु थियो। त्यसैले यो रिस्क लिएको हुँ।’

जानकारहरूका अनुसार २०५१ साल देखि नै बाटो विस्तारका लागि होटल एभरेस्टलाई विभिन्न तहबाट गरिएको आग्रह उसले टेरेको थिएन। पावरको प्रयोग गरेर सडक विस्तार रोक्न होटल मालिक सक्रिय हुने देखेपछि शनिवारको दिन पारेर त्यहाँ डोजर चलाइयो। ‘शनिवार नै डोजर लगाउनुको मुख्य कारण अनावश्यक झमेला आइनपरोस् भनेरै हो,’ डिआइजी राईले भने, ‘झमेला हुन सक्ने ठाउँमा विशेषतः बिदाकै दिन पारेर डोजर लगाउँछौँ। जस्तो सिस्टम छ त्यही अनुरूप चल्ने प्रयत्न हो यो।’

अझै पनि एभरेस्ट होटलले झेल-झमेला गर्न छाडेको छैन। अहिले उसले २५ मिटरलाई २५ गजमात्र हो भनेर बखेडा खडा गरी सर्वोच्च अदालतमा रिट दायर गरेको छ। यो रिट हाललाई विचाराधीन छ भने यसैले बानेश्वरको सडक विस्तारको काम रोकिएको छ।

अहिले ट्राफिक महाशाखामा आफ्नो क्षेत्रको बाटो विस्तार गरिदिनुपर्‍यो भनेर डेलिगेसनको ता”ती लाग्न थालेको छ। सडक विस्तार गर्ने प्रमुख दायित्व नगर विकास समिति र सडक विभागकै हो। ‘हामीले त ट्राफिक व्यवस्थापनमा सहजता आओस् भनेर अतिक्रमित सडकमा डोजर चलाएका हौँ। सबैतिरको बाटो त ट्राफिकले कहाँ खोल्न सक्छ र?’ राईले भने।

तर, ट्राफिक प्रहरीले थालनी गरेको डोजर अभियानले संक्रमणकालमा पनि विकास निर्माणका काम हुन सक्छन् भन्ने मेसेज सबैलाई दिएको छ। संक्रमणकाल भएकैले यस्ता अतिक्रमित सडक विस्तार गर्ने क्रममा अनावश्यक राजनीतिक दबाब नआएको हो । सबैभन्दा उत्साहजनक कुरा भनेको सडक विस्तार कार्यमा उर्लिएको जनसमर्थन नै हो। मान्नुपर्छ- नेपाली राज्यको पुनर्संरचना सडक विस्तारवाट सुरु भएको छ। जनताको शक्तिको अगाडि भारदारी रवाफ समाप्त हुन थालेको छ।

घर र सडकबीचको दूरी 
चक्रपथ : सडकको बीच भागबाट दायाँ-बायाँ ३१/३१ मिटर
राजमार्ग : सडकको बीच भागबाट दायाँ-बायाँ २५/२५ मिटर
शाखा सडक : सडकको बीच भागबाट दायाँ-बायाँ ११/११ मिटर
प्रशाखा सडक : सडकको बीच भागबाट दायाँ-बायाँ ७/७ मिटर
भित्री सडक : सडकको बीच भागबाट दायाँ-बायाँ साढे ५/साढे ५ मिटर 

सर्वसाधारणका टिप्पणी 
ठाँउ ठाँउमा बाटो भत्काउँदा जाम कम हुन थालेको छ। हुनेखानेहरूले सरकारी जग्गा कब्जा गरेर बसेका थिए। पुतलीसडकको बाटोमा जति चाँडो काम भयो, अरू ठाँउमा पनि त्यसरी नै चाँडै काम हुनुपर्छ। हामी सबै ट्याम्पु ड्राइभर खुसी छौँ।
राजेन्द्र थपलिया
ट्याम्पु चालक

यो सरकारले थालेको काम ठिक छ। पूरा पिच भएको छैन, पिच पनि भए त धेरै सजिलो हुने थियो। भत्काइएको बाटोमा चाँडै पिच गरे हामीलाई धेरै सजिलो हुने थियो।
विशाल शाक्य, ट्याक्सी चालक

ठूलाबडाका घर र पर्खाल भत्काउनु राम्रो हो तर बाटो विस्तार गर्ने नाममा भ्रष्टाचार नहोस्। बाटो फराकिलो हुँदा ड्राइभर जति खुसी त अरू को हुन्छ होला र?

हरिकेश इस्माली
ट्याक्सी चालक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: