Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

६० करोडको जडीबुटी युरोप निकासी

Posted by Ram Kumar Shrestha on December 18, 2011


रुद्र खड्का, नेपालगगन्ज, पुस ३- मध्य तथा सुदूर पश्चिमका विभिन्न जिल्लामा उत्पादित जडिबुटी युरोप निकासी हुन थालेको छ। यसअघि व्यवसायीले भारतमा मात्रै निकासी गर्दै आएका थिए।

गत आर्थिक वर्ष नेपालगन्ज नाकाबाट ६० करोड रुपैयाँको जडीबुटी युरोप निकासी गरेको जडीबुटी व्यवसायी संघका अध्यक्ष मधुकर थापा क्षेत्रीले जानकारी दिए।

मध्य तथा सुदूर पश्चिमका हिमाली तथा पहाडी जिल्लामा उत्पादन भई नेपालगन्जमा संकलन गरिएका विभिन्न प्रजातिका ७ हजार टन जडीबुटी निकासी गरिएको थियो। क्षेत्रीका अनुसार निकासी भएकामध्ये १० प्रतिशत युरोप पुगेको हो। मूल्यको हिसाबले २० प्रतिशत जडिबुटी युरोप निकासी भएको थापाले जानकारी दिए।

युरोप निकासीसँगै चीन, पाकिस्तान, बंगलादेश र अमेरिकामा समेत यहाँका व्यवसायीले जडीबुटी निकासी गरेका छन्। युरोप निकासी हुन थालेपछि मूल्य पनि बढी पाएको व्यवसायीले बताए। मध्य तथा सुदूर पश्चिममा उत्पादन गरिएको जडिबुटीबारे तेस्रो मुलुकमा चासो बढेपछि हालै फ्रान्सबाट जटामसी तेलको माग भएको छ। ‘फ्रान्सको एक कम्पनीले नमुनाका लागि ५ सय केजी जटामसी तेल माग गरेको छ,’ क्षेत्रीले भने, ‘जर्मनी, स्विटरल्यान्डबाट पनि रिठा, गुची च्याउको माग आएको छ।’ भारतमा सस्ता मूल्यका जडीबुटी बढी निकासी हुने गरेका छन्। युरोपमा भने महँगा जडीबुटी निकासी भएको व्यवसायी बताउँछन्। युरोपबाट सबभन्दा बढी जटामसी र रिठाको माग आएको व्यवसायीले जानकारी दिए। गत आर्थिक वर्ष जर्मनीमा १६ सय टन रिठा निकासी गरिएको थियो।

जडीबुटीको बजार विस्तार भएपछि विगतको तुलनामा कारोबार पनि बढेको छ। जडिबुटी व्यवसायी संघका अनुसार गत आर्थिक वर्षमा ७ हजार टन जडिबुटी विदेश निकासी हुँदा ३ अर्ब रुपैयाँको कारोबार भयो। जुन रकम दुई वर्ष अघिको तुलनामा एक अर्बले बढी हो। दुई वर्षअघि नेपालगन्ज नाकाबाट ५ हजार ८ सय टन जडीबुटी भारत, युरोप, चीन, वंगलादेश, पाकिस्तान, अमेरिकालगायत मुलुकमा निकासी गरिएको थियो। जडीबुटीको कारोबार बढ्दै गएपछि नेपालगन्जमा जडिबुटी प्रशोधन उपकरणसमेत जडान गरिएको छ। उक्त मेसिनको माध्यमले जडीबुटीको गुणस्तर पत्ता लगाउन सजिलो भएकाले युरोपबाट धमाधम माग बढेको व्यवसायी बताउँछन्। जडीबुटीको गुणस्तरमा ध्यान दिँदा युरोपेली मुलुकबाट धमाधम माग आइरहेको संघले जनाएको छ। ‘न्युजिल्यान्डको एक कम्पनीले १० हजार टन जटामसी माग गर्‍यो,’ क्षेत्रीले भने, ‘तर व्यवसायीले उक्त परिमाणको जटामसी संकलन गर्न नसक्दा पठाउन सकिएन।’

नेपालगन्ज नाकाबाट ८० किसिमका जडीबुटी र २१ किसिमका जडीबुटी तेल विदेश निकासी हुने गरेको छ। व्यवसायीका अनुसार विदेशबाट सर्वाधिक माग हुने जडीबुटीमा काउलो बोक्रा, टिमुर, रिठा, कुड्की, अतिस, कालादाना, दालचिनी छन्। तेजपत्ता, बिख, चिराइतो, गुचीच्याउ, सतुवा र यार्सागुम्वा पनि विदेशबाट सर्वाधिक माग हुने जडीबुटीमा पर्छन्।
व्यवसायीका अनुसार यहाँबाट सबभन्दा निकासी हुने जडीबुटीमध्ये सबैभन्दा सस्तो सिकाकाइ हो। यो १३ रुपैयाँ किलोमा बिक्री हुन्छ। यार्सागुम्बा किलोकै १७ लाख रुपैयाँमा कारोबार भइरहेको छ। ‘व्यावसायिक रुपमा खेती गर्न नथाल्ने हो भने जंगलमा पाइने जडीबुटी चाँडै सकिन सक्छन्,’ जडीबुटी व्यवसायी संघका महासचिव टंकप्रसाद शर्माले भने, ‘जडीबुटीबाट भइरहेको फाइदाबारे राज्य र सर्वसाधारणले सयमयमै बु‰न जरुरी छ।’ केही वर्षयता आयुर्वेदिक औषधी प्रयोग गर्ने बढ्दो चलनले समेत जडीबुटीको माग बढेको छ। यसैबीच जडीबुटीलाई बढवा दिन नेपालगन्जमा पाँच दिने जडीबुटी मेला आयोजना थियो।

६० करोडको जडीबुटी युरोप निकासी.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: