Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली डाक्टरको विशेषता- पैसा, पैसा, पैसा !

Posted by Ram Kumar Shrestha on December 17, 2011


गोरखा (आमपीपल), पुस २ – युरोपेली सुविधा र रमझमबीच आफ्नो पेसा धानिरहेको एउटा जर्मन चिकित्सकका लागि कष्टसाध्य लाग्ने नेपाली गाउँठाउँमा आएर दिन-रात नभनी स्वास्थ्य सेवामा जुट्नुको स्वाद के हुन सक्ला ?

‘जे गर्दा तपाईंको मन खुसी हुन्छ, जीवन धान्ने सजिलो उपाय पनि त्यही हो,’ बितेको आठ वर्षयता गोरखाको आमपीपल अस्पतालमा सेवारत जर्मन चिकित्सक  डा.उल्फार्ड स्टार्क भन्दै थिए, ‘मसँग यो ठाउँमा टेलिभिजन छैन, रेडियो छैन । राम्रो रेस्टुराँ र बजार छैन । तर त्योभन्दा आनन्द आउने मान्छे छन् जोसँग कुरा गर्दा समय बितेको थाहै हुन्न ।’ यी ६८ वर्षे डाक्टर पहिलोपटक सन् १९९० मा नेपाल आएका रहेछन्, हिमाली पदयात्रु बनेर । त्यसपछि थुप्रैपटक धनकुटा, खुम्बु क्षेत्र, डोल्पा, मुस्ताङ, सिमिकोटतिर ट्रेकिङमा पुगेका रहेछन् । जर्मनीको उरारबर्गस्थित अस्पतालमा हाडजोर्नी विशेषज्ञका रूपमा २१ वर्षसम्म कार्यरत रहेपछि युरोपमा देखिएको ‘व्यापारिक शैली र दबाबमा काम गर्नुपर्ने स्थिति’ का कारण विरक्तिएर उनले स्वैच्छिक अवकाश लिए ।

नेपालमा आएर पहिलोपटक काठमाडौं मोडेल अस्पतालमा छ महिनासम्म काम गरेका उनी ओठतालु चिरिएकाबारेको शिविर चलाउन चिकित्सक श्याम राईसँगै आमपीपल आइपुगे । ‘यहाँको अस्पतालमा डाक्टरको अभाव हुने गरेका कारण सामान्य नेपालीले खेपिरहेको स्वास्थ्य समस्यालाई चाहेर पनि भुल्न सकिने स्थिति थिएन,’ युरोपमै घरपरिवार छाडेर आएका स्वयंसेवी डा. स्टार्क मिसमास नेपालीमा भनिरहेका थिए, ‘त्यही भएर म यतै बस्न थालें ।’ जर्मनीको भाल्भोक सहरमा श्रीमती, छोरा, तीन छोरी र ५ नातिनातिनाको उनको परिवार बस्दै आएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीका अनुसार गोरखाबाहेक धादिङ, लमजुङ र चितवन जिल्लाबाट पनि आमपीपल अस्पतालमा उपचार गर्न आउने थुप्रै सेवाग्राही छन् । सरकारी कोटामा दुइ चिकित्सक रहनुपर्ने अस्पतालमा एउटै दरबन्दी पूर्ति हुन नसकेको पनि वषौं भयो । डा.स्टार्कले बिहान आठ बजेदेखि बेलुका बिरामीको चाप होइन्जेल औसतमा ८० जना बिरामीको दिनहुँ परीक्षण/उपचार गर्ने गरेका छन् । आफ्नो बुढ्यौलीसँगै घरपरिवारलाई पनि समय दिनुपर्ने भएकाले डाक्टर स्टार्क केही महिनाभित्रमा ढुक्कै आफ्नो देश र्फकने भएका रहेछन् । ‘अहिलेदेखि नै हामीमा चिन्ता सुरु भइसकेको छ, यति सहृदयी र सहयोगी अर्को डाक्टर अब भेट्न मुस्किल छ,’ गिरीले भने ।

डाक्टर स्टार्कको बुझाइमा बितेको एक दशकमा नेपाली समाज र परिदृष्यमा धेरै परिवर्तन आएको भए पनि परिवर्तनको प्रभाव गाउँघरसम्म भने पुग्न पाएको छैन । सहर फेरिएका छन्, ती सुविधायुक्त बनेका छन् । तर अधिकांश गाउँघरमा त्यत्ति धेरै परिवर्तन देख्न सकिन्न । ‘यो दुर्ग्ाममा आएर बस्न, काम गर्न कसैले पनि चाहँदैन,’ उनी भन्दै थिए, ‘अझ अधिकांश नेपाली डाक्टरहरू त केवल तीन कुराका पछि लागेका छन्,   पैसा, पैसा र पैसा ।’ नेपालको स्वास्थ्य क्षेत्रको ठूलो समस्याका रूपमा उनले ‘डाक्टर’ लाई नै देखेका छन् । सधैं पैसाका पछि लाग्ने र राम्रोसँग सेवासमेत नदिने स्वभाव धेरैसँग छ । ‘अर्को कुरा उत्तिकै खतरनाक छ, मेडिकल पसलमा बस्नेहरूले नचाहिँदो औषधि बेच्ने गरेका छन्, गलत औषधि बेच्ने गरेका छन् । यो बिरामीका लागि अत्यन्तै खतरनाक हुनसक्छ,’ उनी भन्दै थिए ।

यसैगरी, गाउँघरमा सुधारिएको चुल्हो नहुँदा धूवाँका कारण दम र फोक्सोको समस्याबाट पीडित बन्नेहरू पनि उत्तिकै रहने गरेको उनको बुझाइ छ । बच्चामा हुने निमोनिया, महिलामा पाठेघर झर्ने समस्या र मुटुरोगलाई पनि डाक्टर स्टार्कले नेपालीमाझ रहेको प्रमुख स्वास्थ्य समस्याका रूपमा लिएका रहेछन् । उनको बुझाइमा एमबीबीएस वा एमडी गरेपछि पनि दुई वर्षसम्म सम्बन्धित अस्पताल वा सेवा केन्द्रमा काममा नपठाई कसैलाई पनि पढाइको डिग्री वा

सर्टिफिकेट दिनुहुन्न । अर्कातिर अनुभवहीन डाक्टरलाई दुर्गममा सीधै पठाउनु नहुने सुझावसमेत उनी दिन्छन् ।

डा. स्टार्कले हालै एउटा अंग्रेजी पत्रिकामा सरकारका स्वास्थ्यमन्त्री वीर अस्पताल भ्रमणमा गएको समाचार पढेका रहेछन् । तर एक घन्टासम्म अस्पतालमा पर्खंदा पनि कुनै डाक्टर नआएको स्थिति पनि समाचारमा रहेछ । ‘यस्तो कसरी हुन्छ ? मेरो देशमा यस्तो स्थिति आयो भने कुनै छलफल र कुराकानी नगरी तुरुन्त त्यस्तो डाक्टरलाई निष्कासन गरिने नियम छ । फेरि सरकारी तहमा काम गर्ने डाक्टरले बाहिर निजी क्लिनिक पनि राख्न पाउँदैन,’ उनी भन्दै थिए, ‘यस्ता अभ्यास नेपालमा सुरु हुन जरुरी छ ।’

डा. स्टार्क दिनभरको अस्पताल-कर्मपछि साँझमा आमपीपल बजारका सानातिना पसलमा भेटिन्छन् । अनि थोरै कोदाको रक्सी पिउँछन् ।

मलाई मीठो लाग्छ, यस्तो नरम रक्सी मेरो देशमा पाइँदैन,’ उनी रसिक बनेर भन्दै थिए । तर यत्तिका वर्ष नेपालका गाउँठाउँमा बिताएर अब घर फिरेपछि दिन कसरी बित्ने हो, उनी सबै कार्ययोजना सहजै भन्न सकिरहेका थिएनन् । ‘सायद जर्मनी गएर म जर्मन-नेपाली शब्दकोश बनाउने र आमपीपल बसाइको मेरो समयको किताब लेख्ने काम गर्छुं होला,’ बौद्धमार्गी डा. स्टार्कले भने, ‘अनि मेरो धर्मअनुसार ध्यान र साधनामा अरू समय बिताउनेछु होला ।’

नेपाली डाक्टरको विशेषता- पैसा, पैसा, पैसा ! | फिचर | ekantipur.com.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: