Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सीमासँग गाँसिएको सुरक्षा चासो

Posted by Ram Kumar Shrestha on May 13, 2011


By बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच विद्यमान खुला सिमानाका केही सकारात्मक पक्ष छन् भने कयौं गुणा बढी नकारात्मक कुरा रहेका छन् । खुला सीमाका यस्ता नकारात्मक पक्ष सुरक्षा मामिलासँग गाँसिएका छन् । आतंककारी, अपराधी र विध्वंसकारी तत्त्व बिनारोकतोक खुला सीमा वारपार गरिरहेका छन् । अवैध कारोबारीले बिनाहिच्किचाहट चलखेल बढाइरहेका छन् । यस्ता तत्त्वले दुवै देशको सुरक्षामा प्रतिकूल प्रभाव पारिरहेको पाइन्छ । यो दुवै देशको चासोको विषय रहिआएको छ ।

भारतीय विदेशमन्त्री एसएम कृष्णा र विदेशसचिव निरूपमा रावको हालैको नेपाल भ्रमणका दौरानमा नेपालमा बढ्दो असुरक्षा, सुपुर्दगी सन्धि, नक्कली भारतीय मुद्रा नेपालबाट भारततर्फ छिराउने गरेको, नेपालमा स्थापित भारतीय कम्पनीको असुरक्षा, भारतीय कूटनीतिज्ञको असुरक्षा, नेपाल-भारत सीमांकन, ९८ प्रतिशत सीमा नक्सामा हस्ताक्षरसमेतका विविध बुँदा भारतीय पक्षबाट नेपालसमक्ष राखिएको थियो । मन्त्री कृष्णाले प्रधानमन्त्री झलनाथ खनालसँगको भेटवार्तामा पनि यी कुरा उठाए । भारतसँगको सम्बन्ध सुधारका लागि सुरक्षा स्थिति सुदृढ गर्ने लगायतका विषयमा प्रधानमन्त्री खनालले भारतलाई आश्वस्त पारेको समाचार सम्प्रेषण गरिएका थिए । सुरक्षाकै कारण नेपालमा रहेका भारतीय ठूला लगानी भाग्ने स्थिति आउन नहुनेमा पनि दुवै पक्ष सहमत रहेका थिए ।

यी सबै कुराको सूत्रधार नेपाल र भारतबीच रहेको खुला तथा अनियन्त्रित सिमाना नै हो । सुरक्षाको चासो सीमासँग गाँसिएको छ । विध्वंसकारीले सीमाको एकातिरको सुरक्षामा खलल पार्छन् अनि अन्तर्राष्ट्रिय खुला सीमाबाट लुसुक्क अर्कोतिर पसेर चुपचाप बस्छन् । सुरक्षा र खुला सीमाको पाटो निकै लामो छ । सुपुर्दगी सन्धि पनि सीमासँग जेलिएको छ । भारत र नेपालका नागरिकबाहेक तेस्रो देशका बासिन्दा भारतमा अपराध गर्छन् र छद्मभेषमा भारतीय नागरिकका रूपमा अनियन्त्रित सीमा पार गरी नेपाल पस्छन् । कालान्तरमा नेपालमा समातिन्छन् । यस्ता तेस्रो देशका अपराधीलाई नेपालले भारतसमक्ष सुपुर्दगी गर्नुपर्छ भन्ने भारतको चाहना छ जसलाई नेपालले सहमति दिन सकिरहेको छैन । सीमामा परिचयपत्र देखाएर मात्र अन्तर्राष्ट्रिय सीमा वारपार गर्न पाउने व्यवस्था भए यस्ता अपराधी सीमामै पक्राउ पर्न सक्थे ।

यसैगरी भारतीय नक्कली नोट तेस्रो देशबाट नेपाल भित्र्याई नेपालबाट तेस्रो देशकै नागरिकले भारतीय भूमिमा पुर्‍याउने काममा पनि खुला सीमाकै बाटो समात्ने गरेको सञ्चारमाध्यममा बराबर आउने गरेको छ । नक्कली नोट भारतीय सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती भेट्टाइनाले यसबाट भारतीय मौदि्रक अर्थतन्त्रमा प्रतिकूल असर पर्न लाग्यो भनी भारत चिन्तित मुद्रामा रहेको छ । भारत र नेपालबीचको सीमा नियमन भइदिएको भए यस्ता अवैध कारोबार रोकथाम हुने थियो ।

यी सबै समस्या दुई देशबीच रहेको खुला तथा अनियन्त्रित सीमा व्यवस्थासँग जोडिएर रहेको छ । यसलाई नियमन गर्ने हो भने सुरक्षा मामिलाको ५० प्रतिशतभन्दा बढी समस्या समाधान हुन सक्छ । अवैध र अनियमित कारोबार नियन्त्रणमा आउन सक्ने थियो । अपराधी र विध्वंसकारीको मनोबल खस्किने थियो । लस्कर-ए-तोइबाका सदस्य मुहमद ओमार मदनीजस्ता व्यक्ति नेपालबाट खुला सीमाको बाटो समाती नयाँदिल्ली पुग्न सक्ने थिएनन् । यसैगरी कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमले नेपालमा व्यापार सञ्जाल फिँजाउन सक्ने थिएनन् । छोटा राजन समूहका सदस्यले सञ्चार उद्यमी जमिम शाह र सांसद मिर्जादिल सादबेगजस्तालाई गोली ठोकी केही घन्टाभित्रै खुला सीमा पार गरी भारत हुँदै बैंकक हानिन सक्ने थिएनन् । नेपाल-भारत सीमा नियन्त्रित रहेको भए दोलखा लामाबगर उत्तरको लेप्चे गाउँबाट अवैध तरिकाले नेपाल भित्रने तिब्बती घूसपैठलाई भारतको धर्मशालामा रहेका दलाई लामासम्म पुर्‍याउने चलखेलमा हाम्रा पूर्वराज्यमन्त्रीजस्ता महोदय लाग्न सक्ने थिएनन् होला ।

यहाँ जिज्ञासा उठ्छ, खुला सीमासँग यतिका समस्या गाँसिएका छन् तापनि नेपाल-भारत सीमा नियमन गर्नुपर्ने कुरा किन दुवै देशका अधिकारी उठाउँदैनन् ? एसएम कृष्णाले भारतीय विदेशमन्त्रीका हैसियतमा १५ महिनाको अवधिमा दुईपटक नेपाल भ्रमण गरिसके । नेपालसमक्ष उनले समस्या मात्रै पोखे, समाधानको पाटो किन उल्लेख गरेनन् ? सीमा नियमन गर्नुपर्‍यो भनी उनले किन प्रस्ताव राखेनन् ? यही नै रहस्यमय छ । कतै सुरक्षा मामिला सम्हाल्न नेपाल सक्षम छैन भन्ने प्रमाणित गर्ने भारतको आन्तरिक मनसाय रहेकाले उनले सीमालाई नियमन गरी समस्या समाधान गरौं भन्ने प्रस्ताव नराखेका हुन् कि ? सीमालाई खुलै राखेर नेपाल सधैं समस्याग्रस्त अवस्थामा रहोस् अथवा नेपाल भारतको सुरक्षा छाताभित्र परोस् भन्ने उसको मनोभावना पो हो कि ? अर्को कुरा, सुरक्षा मामिलामा नेपाल जहिले पनि भारतप्रति निर्भर रहोस् भनी नेपालको सुरक्षा चासो आफ्नो हातमा लिने मनसाय पो हो कि ? यस्तो नहुन पनि सक्छ तर समस्याग्रस्त सीमा नियमन गर्ने कुरो नउठेकाले शंका गर्ने बानी भएकाहरूलाई यसले ठाउँ दिएको छ ।

अर्कोतर्फ, अनियन्त्रित सीमालाई नियमन गरौं भनी नेपालले किन भन्न नसकेको होला ? एक वचन बोल्दा के बिग्रन्थ्यो र ? भारतले नेपाललाई बराबर सतर्क गराउने गरेको छ, पाकिस्तानी आईएसआई एजेन्ट नेपालमा योजना बनाउँछन् र भारतमा पसेर गडबड मच्चाउँछन् । नयाँदिल्लीमा १ फेबु्रअरी २०११ मा भएको भारतीय मुख्यमन्त्रीहरूको आन्तरिक सुरक्षा सम्मेलनमा बिहारका मुख्यमन्त्री नीतिश कुमारले नेपालबाट अवैध घूसपैठ, लागूऔषध तस्करी, नक्कली नोट, मानव तस्करी, आपराधिक र अन्य गतिविधि हुने गरेको बताएका थिए । छिमेकीको यस्ता भनाइबाट जोगिन नेपालले बेलैमा सोच्नुपर्ने समय आएको छ । कतै कुनै ठूला घटना/दुर्घटना नभई नेपाल नजुर्मुराउने हो कि ?

२०५६ पुस ९ मा भारतीय विमानको काठमाडौंबाट अपहरण भएको थियो । अब अर्को यस्तै घटना भयो भने के हुन्छ ? बेलैमा नेपाल-भारत सतह मार्गको सीमा नियमन नगरेर यस्तै घटना पर्खिएको पो हो कि ? स्मरणीय छ, विमान अपहरण काण्डमा नेपालले धेरै दोष खेप्नुपरेको थियो । त्यस विमानमा सवार एक नेपाली नागरिकलाई अपहरणकारीको बिल्लासमेत भिराइएको थियो । अन्ततः भारतले नै उनलाई निर्दोष सावित गर्नुपरेको थियो । त्यसपछि नेपालको सुरक्षा व्यवस्था कमजोर ठानी नेपाल अवतरण हुने भारतीय विमानमा एयर मार्सल राख्ने र त्रिभुवन विमानस्थलमा अवतरित विमानसँगै सुरक्षा ‘बुथ’ खडा गरी यात्रुको शरीर जाँच गर्ने प्रचलन पनि सुरु गरिएको छ ।

नेपालको आन्तरिक र बाह्य सुरक्षासँग गाँसिएको खुला सीमालाई नियमन गर्न एकाध वैकल्पिक उपाय अवलम्बन गर्न सकिन्छ । प्रथमतः मैदानी भागमा तैनाथ गरिएका सशस्त्र प्रहरीको संख्या उल्लेख्य मात्रामा थप गरी सीमा सुरक्षा व्यवस्थालाई सुदृढ गर्न सकिन्छ । यसका लागि ‘बोर्डर अब्जरभेसन पोस्ट’ को संख्या बाक्लो बनाउनुपर्छ र सीमा वारपार गर्ने यात्रुप्रति निगरानी राख्नुपर्छ । अवाञ्छित तथा अवैध यात्रुलाई रोक्ने, सोध्ने र कारबाही गर्न सक्ने अधिकार सशस्त्र प्रहरी बललाई दिनुपर्छ । यस काममा गुप्तचर निकायको सहयोगी भूमिका पनि रहनुपर्छ ।

दोस्रो उपाय, सीमा वारपार गर्ने यात्रु तथा व्यक्तिले तोकिएको नाकाबाट आधिकारिक परिचयपत्र देखाएर मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिनुपर्छ । स्मरणीय छ, विमान अपहरण काण्डपछि नेपाल र भारतका हवाईयात्रुले अनिवार्य रूपमा परिचयपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । यस्तो व्यवस्था  सतह मार्गमा पनि लागू गरिए सुरक्षा कार्यले ठूलो बल पाउन सक्छ ।

तेस्रो चरणमा नेपाल र भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ गर्ने हो भने दुईतर्फको दसगजाबीचमा काँडेतारको बार लगाउनुपर्छ ।

यस्ता बारबन्देजको लगभग १ सय ८० स्थानमा आवागमनको विन्दु खोलिनुपर्छ । यिनै नाकाबाट मात्र यात्रु तथा मालसामान ओसारपसार गर्ने व्यवस्था गरिनुपर्छ । यसका लागि भारत र नेपालको आपसी समन्वय र निर्णय आवश्यक पर्छ । सीमा समस्या दुवै देशको साझा सवाल हो । सुरक्षा संवेदनशीलता पनि दुवै देशको चासोको विषय भएकाले खुला सीमालाई व्यवस्थित गर्न दुवै देशले संयुक्त रूपमा कदम चाल्नुबाहेक हालको परिस्थितिमा अर्को विकल्प देखिँदैन ।

लेखक नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविज्ञ हुन् ।

@ekantipur


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: