Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

दसगजा नचलाउन प्रलोभन

Posted by Ram Kumar Shrestha on April 17, 2011


By लक्ष्मण सुवेदी

मैले आफ्नै भूमिमा टेकेर फोटो खिचिरहेको थिएँ । एक्कासि भारतीय सीमा सुरक्षा एसएसबीले आएर मलाई धम्क्यायो । मैले खिचेको फोटो डिलिट नगरेसम्म त्यहाँबाट उम्कन नदिने धम्की दियो । मैले आफ्नो भूमिमा उभिएर फोटो खिच्न नपाउनु भनेर तर्क गरेँ । तर, उनीहरूले मलाई देश तेरो भए पनि यहाँ शासन हाम्रो चल्छ भन्यो । मैले बाध्य भएर फोटो हटाउनुपर्‍यो ।

नवल खड्का राष्ट्रवादी फिल्म बनाउने निर्मातामा पर्छन् । भारतले गरिरहेको नेपालको सीमा अतिक्रमणको विषयमा दसगजा र त्यसअघि जनयुद्धको विषयमा आवाज नामक फिल्म निर्माण गरेका उनी अहिले दसगजाका कारण बढी चर्चामा छन् । दसगजा सार्वजनिक प्रदर्शनको संघारमा छ । सुरुमा अभिनयबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नवल बीचमा निर्देशक हुँदै निर्माता बनेका हुन् । मायाप्रेमकै सेरोफेरोमा घुमेका फिल्ममा अभिनय गर्दागर्दै जान्ने-बुझ्ने भएपछि उनी आफ्नो अभिनय तथा निर्माणको धार बदलेको बताउँछन् । दसगजापछि सहिद भीमदत्तको जीवनीमा आधारित फिल्म भीमदत्त निर्माण गर्न लागेका नवलसँग उनको फिल्मयात्रा र परिवर्तित धारका बारेमा गरिएको कुराकानीः

विद्यार्थी राजनीति गरिरहेको मान्छे, फिल्म क्षेत्रमा किन लागेको ?

म सानैदेखि प्रगतिशील विचारधाराको थिएँ । खोटाङमा स्कुल पढ्दाखेरि नै म राजनीतिप्रति आकषिर्त भएँ । देश र जनताका लागि राजनीतिको माध्यमबाट केही गर्नुपर्छ भन्ने सोच थियो । तर, बुभ\mदै जाँदा कुरा अर्कै भएको सुइँको पाएँ । नेताको झोला बोकेर हिँड्दा व्यक्ति मात्र मोटाउने, देश र आमजनताका लागि केही फाइदा नहुने देखेँ । नेताहरूको अदूरदर्शिता, अक्षमता, पद लोलुपताले गर्दा देश र जनताप्रति जिम्मेवार नभएको पाएँ । जसले गर्दा राजनीतिदेखि वितृष्णा जाग्यो । तर, म सधैँ देशका लागि केही गर्नैपर्छ भन्ने कुरामा अडिग थिएँ । राजनीति गतिलो लागेन । अनि मैले सोचेँ, फिल्मको माध्यमबाट आमनेपालीमा पुग्न सकिन्छ । फिल्म आमनेपालीसमक्ष पुग्ने सशक्त माध्यम भएकाले मैले फिल्म क्षेत्रमा लाग्ने निर्णय गरे । मेरा साथीभाइले पनि मलाई फिल्म क्षेत्रमा लाग्नु प्रेरित गरे । आफूले चाहेको सन्देश फिल्ममार्फत दिन सकिन्छ भन्ने लागेर यो क्षेत्रमा प्रवेश गरेँ । मलाई विश्वास थियो कि म फिल्ममा जसरी प्रवेश गरे पनि कालान्तरमा मैले लक्ष्य हासिल गर्नेछु ।

सुरुमा त लभस्टोरी फिल्ममै मस्त हुनुभयो, हैन ?

मैले ०५३ सालमा गुन्युचोली नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेको हुँ । त्यसै क्रममा मैले अधुरो प्रेम, चन्द्र-सूर्यलगायतका भिडियो फिल्ममा अभिनय गरेको थिएँ । पहिला फिल्म क्षेत्रमा कसरी प्रवेश गर्ने र कसरी स्थापित हुने भन्नेमै तनाब भयो । त्यतिवेला फिल्ममा प्रवेश गर्न अहिलेजस्तो सहज थिएन । म जहिले पनि प्रगतिशील विचारको भएकाले नेपाली मौलिक भेषभुषा गुन्युचोली नाममै बनेको फिल्मबाट ठूलो पर्दाको अभिनय सुरु गरेँ । त्यसपछि पनि मैले मनै त हो, तिम्रा लागि, क्रान्ति, किन माया लाएछु, देशद्रोही, माया बसेछलगायतका मायाप्रेमकै विषयका फिल्ममा अभिनय गरेँ । ती फिल्मबाट मैले धेरै कुरा सिकेँ । फिल्मको प्राविधिक ज्ञानदेेखि लिएर भाषा पनि जान्न र बुझ्न पाएँ । बीचमा मैले विश्वासघात नामक फिल्म पनि निर्देशन गरेँ । तर, त्यो फिल्मका निर्माता विदेशतिर लागेकाले अहिलेसम्म रिलिज हुन सकेको छैन । यी सबै भोगाइले नै मलाई अनुभवी बनाए । जसकारण मैले आवाज र दसगजा निर्माण गर्न सफल भएँ ।

म पहिले नै मुलुक र आमनेपालीका जल्दाबल्दा समस्या उठान गरिएका फिल्ममा काम गर्न चाहन्थेँ । तर, त्यतिवेलाको शासन पद्धतिले वातावरण सहज थिएन । र, लगानी पनि सुरक्षित थिएन । जसकारण मैले नचाहेर पनि सस्तो मनोरञ्जन प्रदान गर्ने फिल्म गर्नुपर्‍यो । मैले निर्माण गरेको पहिलो फिल्म माया बसेछ पनि त्यसकै उपज हो ।

माओवादी जनयुद्धका बारेमा आवाज बनाउनुभयो, त्यस्तो विषय उठाउनु कारण के थियो ?

मैले दस वर्षीय जनयुद्ध र १९ दिने महान् जनआन्दोलनमा आधारित भएर आवाज बनाएको हुँ । आवाज मुलुकको परिवर्तनका लागि शहादत प्राप्त गरेका १४ हजार बढी नेपाल आमाका सन्तानप्रति श्रद्धाञ्जलीस्वरूप निर्माण गरेको हुँ । मैले जुन उद्देश्यले लिएर आवाज बनाएको थिएँ, त्यसमा सफल भए । आमनेपालीले आवाज मन पराए । त्यतिवेला जनयुद्धको पृष्ठभूमि टेकेर थुप्रै फिल्म बनाएँ । तर, नेपालीले मन पराएको फिल्म आवाज नै हो । आवाजको सफलताले नै मलाई दसगजा बनाउने प्रेरित गरेको हो ।

दसगजा बनाउने सोचाइ कसरी आयो ?

भारतले हाम्रो मुलुकको भूमि मात्र अतिक्रमण गरेको छैन । संस्कृति पनि अतिक्रमण गरेको छ । भारतले फिल्ममार्फत पटक-पटक नेपाल र नेपालीलाई होच्याउँदै आएको छ । यसको प्रत्यक्ष उदाहरण उनीहरूले बनाएको घरवाली बहारवाली, चाँदनी चोक टु चाइनालगायतका फिल्म छन् । जसमा नेपाल र नेपालीसम्बन्धी भ्रम फैलाइएकोछ । त्यति मात्र नभई कहिले माधुरी दीक्षितले हाम्रो देशलाई भारतको प्रान्त भन्ने त कहिले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर इतिहास मेट्ने कुत्सित मानसिकता देखाउने गरेका छन् । जसका लागि हामीले फिल्ममार्फतै जवाफ दिन जरुरी थियो । त्यसका लागि पनि भारतले गरिरहेको अत्याचारका बारेमा फिल्म बनाएर आमनेपालीमा चेतना फैलाउनु थियो । त्यसकारण पनि दसगजा बनाउनु जरुरी थियो । मैले भारतले गरेको हाम्रो देशको सीमा अतिक्रमण र त्यसबाट पिल्सिएका नेपाल दाजुभाइ तथा दिदीबहिनीको पीडा नजिकबाट महसुस गरेको थिए । खासमा हाम्रो सिमाना टिस्टादेखि काँगडासम्म हो । अन्तर्राष्ट्रिय अदालतमा गई मुद्दा लडेमा जित हाम्रो हुन्छ । तर, हाम्रो सिमाना मेची-कालीमा सीमित गरिएको छ । भारतले नेपालको ५४ ठाउँमा एक लाख १२ हजार हेक्टर जमिन मिचेको छ । त्यति मात्र नभई सीमाक्षेत्रमा बस्ने नेपाली चेलीको अस्मिता लुटेको छ । नेपालीको पसिनाले आर्जेको अन्नबाली भारतीयले लुटेर खाइरहेका छन् । देश र जनताको यस्तो अवस्था हुदा नेपाल सरकार भने मूक दर्शक भई ताली बजाइरहेको छ । मुलुकको हरेक जिम्मेवार नागरिकले यसबारेमा आवाज उठाउनुपर्छ । त्यसका लागि आमनेपालीलाई जागृत गर्नका लागि दसगजा बनाएको हुँ ।

दसगजा निर्माणताका निकै सास्ती खेप्नुपरेको सुन्नमा आएको थियो, के-के भोग्नुपर्‍यो ?

दसगजा निर्माण सुरु गर्दा देखि नै मैले विभिन्न किसिमको तनाब, झमेला, धाकधम्की खेप्दै आइरहेको छु । अहिले सार्वजनिक प्रदर्शनको संघारमा पनि मलाई विभिन्नप्रकारका धम्की, प्रलोभन आइरहेका छन् । म सुटिङ लोकेसन हेर्नका लागि सुस्ता गएको थिएँ । त्यहाँ भारतले नेपालको १४ हजार हेक्टर जमिन अतिक्रमण गरेको छ । मैले आफ्नै भूमिमा टेकेर फोटो खिचिरहेको थिएँ । एक्कासि भारतीय सीमा सुरक्षा एसएसबीले आएर मलाई धम्क्यायो । मैले खिचेको फोटो डिलिट नगरेसम्म त्यहाँबाट उम्कन नदिने धम्की दियो । मैले आफ्नो भूमिमा उभिएर फोटो खिच्न नपाउनु भनेर तर्क गरेँ । तर, उनीहरूले मलाई देश तेरो भए पनि यहाँ शासन हाम्रो चल्छ भन्यो । मैले बाध्य भएर फोटो हटाउनुपर्‍यो । पछि युनिट लिएर सुटिङ गर्न सुस्ता पुगेँ । उनीहरूले फेरि मलाई कसको अनुमति लिएर सुटिङ गर्न आइस् ? भनेर त्यहाँ सुटिङ नै गर्न दिएनन् । त्यहाँ सुटिङ हुन नसकेपछि त्रिवेणी आयौँ । त्रिवेणीमा नाइट सुटिङ गर्न लाग्दा बत्ती निभाएर अवरोध गरे । त्यहाँ सुटिङ गर्दा भारतीय सञ्चारमाध्यमले नवल खड्काले भारतविरोधी फिल्म बनाइरहेको छ भने गलत अफवाह फैलाए ।

सुटिङ बल्लतल्ल सकियो । त्यसबीचमा केही मान्छेले नवलले पाकिस्तानको पैसामा भारतविरोधी फिल्म बनाएको छ भनेर कपोलकल्पित हल्ला पनि फैलाए । मैले एकजना पाकिस्तानी पनि चिनेको छैन । बरु केही भारतीयसँग नै राम्रो चिनजान छ ।

सेन्सरको वेला पनि निकै झमेला बेहोर्नुपर्‍यो । सेन्सर बोर्डले चारचोटिसम्म कैँची चलायो । फिल्मका २९ संवाद र चार दृश्य काट्यो । त्यति मात्र नभई सेन्सर सर्टिफिकेट दिने बेला बोर्डका पदाधिकारीले अहिले फिल्म पास भयो भनेर ढुक्क भइनहाल्नु, पछि फेरि लफडा पर्न सक्छ भन्ने डर देखाए । दसगजाको अहिलेसम्म मुलुकका ५५ भन्दा बढी ठाउँमा च्यारिटी शो भइसकेको छ । च्यारिटीको वेला एकजनाले भारतीय राजदूतावासबाट फोन गरेको भन्दै मलाई दसगजा कस्तो फिल्म हो भनेर धम्क्याउने कोसिस गरेको थियो । मैले साफसाफ बताइदिएपछि उसले फेरि फोन गरेन ।

दसगजा रिलिज रोक्नका लागि मोटो रकम अफर आएको छ भन्ने सुन्नमा आएको छ, कुरा के हो ?

मेरो फिल्म ९ वैशाखदेखि रिलिज हुदै छ । यो अवस्थामा ‘रअ’का केही एजेन्टले मेरोबारेमा बुझ्दै हिँडेको थाहा पाएको छु । भारतीय राजदूतावाससँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउने केही व्यक्तिले मलाई पहिला दुई करोड रुपैयाँको प्रलोभन देखाएको थियो । अहिले बढाउँदै गएर चार करोड पुर्‍याएको छ । उनीहरूले मैले पत्रकार सम्मेलन गरेर दसगजाको हार्डडिस्क या रिल खराब भएकाले रिलिज हुन नसक्ने बताउनुपर्ने सर्तसमेत राखेका छन् । तर, म कुनै पनि हालतमा कसैको प्रलोभनमा पर्दिनँ । फिल्म प्रदर्शनमा जान लागेको वेला संसद्को अन्तर्राष्ट्रिय व्युरोले दसगजा हेर्न रुचि देखाएको खबर आएको छ ।

दसगजाको मूख्य सन्देश के हो ?

दसगजा भारतको विरोधमा बनाएको फिल्म होइन । फिल्मले दुई छिमेकीबीचको समस्या कूटनीतिक तवरबाटै समाधान गर्नुपर्छ भन्ने सन्देश दिएको छ । दसगजामार्फत हामीले १८१६ को सन्धि पुनरावलोकन गर्नुका साथै १९५० को सन्धि खारेज गर्नुपर्छ भन्ने आवाज उठाएका छौँ । यो पौने तीन करोड नेपालीको माग हो । दसगजाले भारत र नेपालबीचको मित्रतामा कुनै दख्खल पुर्‍याउँदैन ।

@Nayapatrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: