Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एसएसबी ज्यादती रोक्न भारतसँग आग्रह

Posted by Ram Kumar Shrestha on April 11, 2011


काठमाडौं, चैत २८ (नागरिक)- अनुमति बिना सीमा सुरक्षाबल (एसएसबी) लाई नेपालतर्फ छिर्न नदिन सरकारले भारतसँग पहिलोपटक औपचारिक आग्रह गरेको छ।

भारतको पुनेमा शुक्रबार नेपाल-भारत द्विपक्षीय परामर्श समूहको आठौँ बैठकका क्रममा नेपाली अधिकारीले एसएसबीको ज्यादती तत्काल रोक्न भारतीय पक्षसँग यस्तो आग्रह गरेका हुन्।

बैठकमा नेपाली पक्षले सीमामा तैनाथ भारतीय अर्धसैन्यबल एसएसबीले अनुमतिबिनै सीमापारि आएर नेपालीमाथि कुटपिट गर्ने र भारतबाट फर्केका हजारौँ नेपाली मजदुर सीमामा एसएसबीबाटै लुटिने गरेको विषयमा भारतीय पक्षको ध्यानाकर्षण गरेको थियो।

बैठकमा एउटा देशको सेना बर्दीमा अर्को देश प्रवेश गर्दा अनुमति लिनुपर्ने सामान्य अन्तर्राष्ट्रिय नियमको पालना गर्नसमेत नेपाली पक्षले भारतसँग आग्रह गरेको थियो।

‘बिनाअनुमति आएर निमुखा नेपालीलाई कुटपिट गरी एसएसबीले नेपालको शान्ति सुरक्षामा खलल पुर्‍याएको मात्र छैन, दुई देशबीचको सम्बन्धमै अहित गरेको देखिन्छ,’ बैठकमा नेपाली पक्षलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अबदेखि नेपालको अनुमतिबिना एसएसबीको प्रवेश रोक्न अनुरोध गर्छौँ।’

बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिकुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली थियो। टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीनै सुरक्षा निकायका अधिकारी पनि थिए। भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव सतीष मेहताले गरेका थिए। टोलीमा भारतका सबै सुरक्षा निकायका अधिकारी थिए। यस्तो बैठक हरेक वर्ष एकपटक हुनेगर्छ।

बैठकमा भारतीय पक्षले नेपालमा भारतीय जाली नोटको कारोबार बढेको चिन्ता गर्दै यस्ता कार्य रोक्न र अपराधीलाई कारबाही गर्न आग्रह गरेको थियो। नेपालमा हुने गरेका भारतीय जालीनोट कारोबारमा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको दाबी बैठकमा सहभागी भारतीय अधिकारीले गरेका थिए। स्रोतका अनुसार जवाफमा नेपाली अधिकारीले नक्कली नोटको कारोबारमा संलग्नलाई नेपालले कारबाही गरिरहेको प्रस्ट्याएका थिए।

‘पाकिस्तानी गुप्तचर संस्था आइएसआई सक्रियता नेपालमा बढेको छ। भारतीय जाली नोट कारोबारमा उनीहरू सक्रिय छन्,’ भारतीय पक्षलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘जाली नोट कारोबारमा संलग्न आइएसआईका सदस्यलाई कारबाही भएको हामी हेर्न चाहन्छौँ।’
भारतीय पक्षले सीमामा एकीकृत सुरक्षा जाँच चौकी राख्ने पूर्वसहमति कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको थियो। नेपाली पक्षको विरोधका कारण चौकी निर्माण
कार्य भारतले रोक्नुपरेको गुनासो उनीहरूको थियो।

बैठकमा सैन्य तालिम, सीमामा अपराधसम्बन्धी सूचना आदानप्रदानलगायत पूर्वसहमति निरन्तरता दिँदै प्रकोपका बेला आवश्यक सहयोग गर्न नेपाल र भारत सहमत भएका थिए।

‘सुरक्षा सम्बन्धमा भएका पूर्व सहमतिलाई निरन्तरता दिँदै प्रकोपका बेला एक अर्कालाई आवश्यक आर्थिक तथा सैन्य सहयोग गर्न दुवै देश सहमत भएका छन्,’ बैठकबाट फर्केका एक सहभागीले भने।

@nagarik

 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: