Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

कहाँ गयो हाम्रो राष्ट्रियता ?

Posted by Ram Kumar Shrestha on December 30, 2010


विश्वमा सम्भवतः नेपालमात्रै यस्तो मुलुक देखिएको छ, जहाँका मान्छे आफ्नो देशको माटो अरूलाई सुम्पेर आफ्नो निजी स्वार्थपूर्ति गर्न हिचकिचाउँदैनन्

नेपालको पूर्व, पश्चिम तथा दक्षिणतर्फको सीमा सुरक्षित भएन । नेपाल र भारतबीच औपचारिक र आधिकारिक रूपमा सीमा छुट्टयाई दुवै पक्षको सहमतिमा गाडिएका सीमास्तम्भहरूमध्ये सयौँ स्तम्भहरू बेपत्ता भएका छन्, हिजोसम्मको नेपालको भूभागमा आज विदेशीले घर, टहरा बनाएका छन्, हिजोसम्म नेपालभित्रको बस्ती आज भारततिर परेको छ, सीमास्तम्भहरू ग्ााडिएकै अवस्थामा भारतले केही समयअघिदेखि भोगचलन गर्दै आएको जंगल र भूमिमा भेटिएका छन्, भारतीय नागरिकहरू हुलका हुल भएर नेपालभित्र सीमा सारिरहेका छन्, र तिनलाई भारतीय सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका छन् । अस्ति भर्खरै प्यारातालसमेत नेपालकै भएको तथ्य उजागर भएको छ । किनभने प्यारातालभन्दा दक्षिणतर्फ गाडिएकै अवस्थामा सीमास्तम्भहरू भेटिएका छन् ।

वरिष्ठ सीमाविशेषज्ञ बुद्धिनारायण श्रेष्ठले नेपालको सीमाको दयनीय अवस्थाबारे एक तथ्यपूर्ण पुस्तकै लेखेका छन् । तर, नेपालको सीमाको अतिक्रमणबारे नेपालको सरकार, सेना, राजनीतिक दलहरू र तिनका भ्रातृ संगठन, नागरिक समाज यसरी संवेदनाविहीन छन् कि मानौँ हाम्रो सीमा मिचिनु चर्चा र चासोयोग्य विषय नै होइन ।

सरकारको पहिलो कर्तव्य आफ्नो मुलुकको सीमा सुरक्षा गर्नु हो । मानव समाजको विकासक्रममा जब राज्यको उत्पत्ति भयो, त्यसवेला राज्यको प्रथम दायित्व सके क्षेत्र विस्तार गर्ने र नसके भएको क्षेत्र रक्षा गर्ने थियो । क्षेत्र विस्तारकै लागि आरम्भिक वर्षमा राज्यराज्यबीच घमासान युद्ध हुन्थे । पृथ्वीनारायण शाहले पनि त्यसै गरेका थिए । त्यही प्रयोजनका लागि सेना राखिन्थ्यो । प्रत्येक राज्यले आवश्यक बजेट उपलब्ध गराएर सेनाको भरणपोषण गथ्र्यो र त्यसलाई चुस्तदुरुस्त राख्थ्यो । सेनाको रचना राज्यभित्रको प्रयोजनका लागि नभएर केवल बाहिरी आक्रमणबाट आफ्नो राज्यको संरक्षण गर्ने उद्देश्यले गरिएको थियो ।

राज्यको सीमाको महत्त्व आजको सन्दर्भमा पनि उत्तिकै ठूलो छ । हाम्रै छिमेकी मुलुक भारत र चीन तथा भारत र पाकिस्तानबीच विगतमा सीमाको विवादलाई लिएर ठूला युद्ध भए । ती सबै युद्ध अभ्यासका लागि लडिएका थिएनन्, आफ्नो दाबी रहेको भूभाग फिर्ता लिन र सीमासुरक्षाकै लागि लडिएका थिए । सीमाका विवाद अहिले पनि कायमै रहेकाले भारत र चीन तथा भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले पनि सौहार्द्धपूर्ण छैन । सीमा विवादकै कारण ठूल्ठूला युद्ध भएका र चिसो सम्बन्ध कायम रहेका अन्य कैयौँ मुलुक यो विश्वमा छन् । ती मुलुक अहिले पनि आफ्नो देशको एक चिम्टी माटो पनि नछाड्ने कसम खाएर बसेका छन् । सबै मुलुकका निमित्त आफ्नो सीमासम्बन्धी चासो त्यति पेचिलो र संवेदनशील हुन्छ, जसका लागि त्यो देशका लाखौँ नागरिकले प्राण न्यौछावर गर्न तयार हुन्छन् । विश्वमा सम्भवतः नेपालमात्रै यस्तो मुलुक देखिएको छ, जहाँका मान्छे आफ्नो देशको माटो अरूलाई सुम्पेर आफ्नो निजी स्वार्थपूर्ति गर्न हिचकिचाउँदैनन् । नेपाली सेना साँच्चै देशभक्त हो भने सीमा मिचिँदा सरकारले केही आदेश दिँदैन भनेर चुप लागेर बस्न मिल्छ ? उसले नै सरकारलाई यस विषयमा झक्झक्याउनु हुँदैन ?

नेपालमा राष्ट्रियताका बारेमा ठूल्ठूला र चर्का कुरा हुने गर्छन् । तर, अहिले प्रष्ट भएको छ कि राष्ट्रियताका ती कुरा साँच्चिकै देशको मायाले गरिएको होइन रहेछ । त्यस्ता कुरा या त आफ्ना काला कर्तुतहरू ढाकछोप गर्न गरिएको रहेछ, या त आफ्ना कुत्सीत उद्देश्य हासिल गर्ने उद्देश्यले गरिएको रहेछ । व्यवहारमा देखिएका गतिविधिबाट यो कुरा छर्लङ्ग भएको छ ।

राज्यको सीमाको अनुगमन गर्ने कार्यक्षेत्र भएको छुट्टै मन्त्रालय छ । त्यसअन्तर्गत विभाग र कार्यालयहरू छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन छन् । दुई देशबीचको संयुक्त अनुगमन समिति छ । बुद्धिनारायण श्रेष्ठले नापी विभागको महानिर्देशकको हैसियतमा रहेर सीमा सम्बन्धमा त्यति धेरै काम गर्न सकेका थिए । यी सबै कुरा हुँदाहुँदै पनि सीमाको यति बिघ्न बेवास्ता किन भइरहेछ? माटोको सुरक्षा गर्ने जिम्मेवारी लिएर बसेका निकाय र पदाधिकारी सीमाको त्यो हाल हुँदा कसरी चुप लागेर बस्न सकेका छन् ? छिमेकी अगतिलो र दुष्ट छ भन्ने कुरा थाहा पाउँदापाउँदै आफू हरबखत चनाखो रहनु पर्छ कि पर्दैन ?

वास्तवमा विगत धेरै वर्षदेखि नेपालको सीमा मिच्ने जुन अभियान चलाइएको छ, यसलाई नेपालको भूमि हडप्ने मौनयुद्धको संज्ञा दिन सकिन्छ, र यस युद्धमा नेपाल कुनै प्रतिवाद नगरी चुपचाप पछि हट्दै छ । मानौँ, नेपालले विगतमा भारतको जमिन बलजफ्ती हडपेको थियो, र अहिले भारतले त्यो जमिन धमाधम फिर्ता लिइरहेकोले नेपालले कुनै प्रतिवाद गरिरहेको छैन । यदि यही क्रम जारी रहने हो भने कालान्तरमा नेपाल भन्ने मुलुक कति बाँकी रहला ? नेपालमा आफ्नो भूमि र त्यसको सीमाको सम्बन्धमा जुन संवेदनाशून्य स्थिति छ, त्यसले पनि भारतको सीमा मिच्ने दुष्प्रवृत्ति प्रोत्साहित भएको छ । सीमामा अलिकति मात्र छिसिक्क हुनासाथ सम्पूर्ण राष्ट्र एक स्वरमा खनिने गरेको भए भारतले यस्तो दुस्साहस गर्न सक्ने थिएन । के उसले पाकिस्तान वा बंगलादेशको सीमामा यसो गर्ने आँट गर्न सकेको छ ? नेपालमा जेसुकै गरे पनि सम्पूर्ण मुलुकले देखेको नदेख्यै, सुनेको नसुन्यै गर्दै आएकाले उसको दुस्साहस यसरी बढ्दै गएको हो ।

नेपाल आफ्नो सीमाको सम्बन्धमा यति संवेदनाशून्य कसरी हुन सकेको छ ? यो सबैभन्दा गम्भीर र महत्त्वपूर्ण विषय हो । यस सम्बन्धमा गहिरो अध्ययन हुनु जरुरी छ । हिजो पञ्चायत काल जनतामा आधारित व्यवस्था नभएकोले त्यसले उठाएको राष्ट्रियताको कुरालाई फोस्रो वा मण्डले राष्ट्रवाद भनियो । अहिले जनताको व्यवस्था आएको पनि दुई दशक भयो । खै त सरकार र जनताको राष्ट्रिय भावनामा सुधार ? हामीले केही वर्षदेखि दार्चुलाको कालापानी हाम्रो हो भनिरहेका छौँ । खै त त्यो कालापानी फिर्ता लिन हामीले पहल गरेको ? अहिले प्याराताल हाम्रो हो भन्यौँ । के गर्दै छौँ त त्यो प्यारातालमाथि हाम्रो स्वामित्व स्थापित गर्न ? कि नेपालको राष्ट्रियताको प्रश्नमा पनि अन्य क्षेत्रमा जस्तै भारतीय साम, दान, दन्ड, भेदको नीतिले काम गरिरहेको छ ?

वास्तवमा भारतले नेपालको भूमि आफूतिर तान्ने र आफ्ना मान्छे नेपालतिर पठाएर कालान्तरमा नेपालमा संकट खडा गर्ने रणनीति अपनाएको प्रतीत हुन्छ । माओवादीहरूको राष्ट्रिय स्वाधीनताको नारा पनि भारतलाई घुक्र्याएर सत्तामा जाने माध्यम मात्र भएको अनुभव हुँदै छ । यसै हो भने नागरिक स्वयंले नै केही गर्नुपर्ने हो कि ?

@Nayapatrika

govinda1948@gmail.com

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: