Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

आमा! म त बहुलाएछु

Posted by Ram Kumar Shrestha on September 19, 2010


आमा! 
अचेल मलाई के भैरहेछ ?
यो के देख्दैछु ? के सुन्दैछु ?
होशमै के के बोलिरहेछु ?
आमा! म त बहुलाएछु !

हेर्दा हेर्दै आँखा अगाडि
तिरिमिरी दृष्य देख्छु
दिनहुँ नयाँ धुन सुन्दा
सन्त्रासको बिगुल ठान्छु
स्वास निस्सासिए जस्तो, र
आवाज भित्रभित्रै भासिए झै मान्छु ।

मेरो जम्मै आदर्शहरु
मेरै सामु भष्म हुदैछन्
नायकहरु खलनायक
खलनायकहरु नायक बन्दैछन्
न्यायमूर्ति न्यायधीशहरु
अन्धो फैसला सुनाउँदैछन्
देश सम्भार्ने कर्मचारीहरु
पैसाले समय बेचिरहेछन्
आयु थप्ने डाक्टर सा’पले
उल्टै ज्यान लिइरहेकाछन्
पत्रकारहरु गाउँ-शहर
भारु हल्ला फिजाउदैछन्
बिद्यार्थीहरु भबिस्य सपार्न
दुषित मुस्लो उडाउँदैछन्  
नेताले ब्यापार थालेछन्
ब्यापारीले पेशा फेरेछन्
महाराजले भिख माग्दै हिडिरहेछ
भिखारीले दान दिदै त्याग गरिरहेछ
म एकोहोरो टोलाइरहेछु
आमा!
मैले यस्तो के के देखिरहेछु ?
म पक्का बहुलाएकै रहेछु ?

आमा!
अचेल मलाई यस्तै भैरहेछ
सुनलाई पित्तल, र
पित्तललाई सुनको भाउ दिइरहेछु
ठूलालाई लुला, र
लुलालाई पो ठूला ठानिरहेछु
जिउँदोलाई मृत, र
मृतलाई जिउँदो देखिरहेछु
सत्यलाई भ्रम, र
भ्रमलाई सत्य सोचिरहेछु
सच्चालाई दुष्ट, र
दुष्टलाई सच्चा भनिरहेछु
पुण्यलाई पाप, र
पापलाई पुण्य मानिरहेछु
दिनलाई रात, र
रातलाई पो दिन सम्झिरहेछु
समय नखुटिने युगीन आत्माभित्र
यताउति छामछुम गर्दै
विश्वाश चाहिरहेछु, शान्ति खोजिरहेछु
आमा!
म त बहुलाएछु ।

मेरो मगज बेस्सरी खल्बलिएछ
चेतना त झन् शून्य भैसकेछ
यो अर्ध-मूर्छित मनस्थितिमै,
माटोको टिका थाप्ने निधारहरु
सीमा पारी झुकेको प्रस्ट देखिरहेछु
आफ्नै बारी-मझेरीमा साँझ-बिहान
दुक्कले शिकार खेलेको देखिरहेछु
ओठेछापको तोक माग्दै लाचारहरु
चाकरीले संसार जितेको नियालिरहेछु
अरु हाँसिरहेछन्, म धुरुधुरु रोइरहेछु
शालीन आक्रोस ‘पागलपन’ चिच्याइरहेछ ।

आमा!
अब भाईरसहरु झनै चल्मलाउने छन
मेरो सारा अंगहरु निस्कृय बनाइनेछन
साइत हेरेरै अर्को बहुलालाई ओझेल पारिनेछ
तर, खै! अझै किन हो?
राष्ट्रियता र स्वाभिमानको बत्ती
धुमिल भएको सह्य छैन
मानवीय धर्म र नैतिक गुण
भुसुक्कै भुल्ने दुस्साहस मान्य छैन
आमा!
बोल्न अह्राएको केही बोलेकै छैन
नबोल्ने जति सबै बोलिरहेछु
आफ्नै कुभलो मात्र गरिरहेछु
आमा!
अचेल मलाई यस्तो के भैरहेछ ?
म त बहुलाएछु !
आमा!
म त साँच्चीकै बहुलाएछु !।?

13 Sep,’10
चन्द्र चिन्तन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: