Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

गुमेको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जानुपर्छ

Posted by Ram Kumar Shrestha on August 16, 2010


नेपालको सीमामा जब-जब समस्या आइपर्छ, तब सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई धेरैले सम्झन्छन् । उनीसँगको अनुभव र पुख्ता प्रमाणका कारण उनका कुरा काट्नसक्ने ठाउँ पनि छैन । नेपाल-भारत सन्धिसम्झौता, नेपालको सीमाका बारेमा जानकार बुद्धिनारायण श्रेष्ठले सीमासम्बन्धी लेखेको पुस्तक ‘नेपालको सिमाना’बाट मदन पुरस्कारसमेत पाएका छन् । उनै सीमाविद् श्रेष्ठसँग नेपालीपत्रका अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानी-

सीमा विवाद पहिलेदेखिकै हो कि अहिलेमात्र चर्किएको हो ?

सीमा समस्या धेरै पहिलेदेखिकै हो । भारतमा बि्रटिस सरकारले शासन गर्दा पनि नेपाल र त्यसबेलाका बि्रटिस सरकारबीच सिमानाकै किचलोका कारण युद्ध भएको हो । १८१४-१६ सम्म अंग्रेज-नेपाल युद्ध यसै कारणले भएको हो । अब यो युद्ध किन भयो भन्ने कुरा पनि कम रोचक छैन । जसरी इस्ट इन्डिया कम्पनीले भारतका सयौं राज्यहरूलाई एकीकरण गरेर विशाल भारतमा शासन गर्‍यो, त्यसैगरी इस्ट इन्डियाको कुरा बुझेका पृथ्वीनारायण शाहले बाइसे-चौबीसे, सेन, ठकुराई आदि अनेकौं राज्यहरू एकीकरण गरेर बलियो राज्य बनाए । यो कुरा बि्रटिसहरूलाई चित्त बुझिरहेको थिएन । त्यसैले यो युद्ध भयो । नेपाल त्यतिबेला कति शक्तिशाली थियो भन्ने कुरा उनीहरूसँग टक्कर लिन खोजेबाट पनि स्पष्ट हुन्छ । ४ मार्च १८१६ मा सुगौली सन्धि भयो र वर्तमान नेपालको सीमा त्यतिबेला खुम्चिन पुग्यो । त्यसपछि फेरि १ नोभेम्बर १८६० मा पूरक सन्धि गरेर नयाँ मुलुकहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुनः फिर्ता भयो । त्यसयता नेपालको वर्तमान सीमा कायम भएर आएको छ । सुगौली सन्धिले गर्दा पनि पूर्वमा टिष्टादेखि महाकालीदेखि काँगडासम्मको भाग गुमाउनुपर्‍यो ।

भारत १९४७ मा स्वतन्त्र भयो, त्यसपछि पनि सीमा विवाद साम्य भएन । नेपाल २००७ सालमा राणा शासनबाट मुक्त भयो तर पनि अंग्रेजको पालामा भएको सीमा विवाद सकिएन । त्यसपछि पुनः नेपालमा प्रजातन्त्र र लोकतन्त्र आए तर त्यो सीमाका बारेमा कसैले पनि खोज्न चाहेनन् । अझ सीमा मिचिने क्रम रोकिएन ।

किन रोकिएको छैन ?

वर्तमान भारतले के भन्छ भने सुगौली सन्धिमा नेपालको भूभाग बि्रटिसले जसरी लिएको थियो, बि्रटिस सरकारको विरासतका रुपमा त्यो सीमा आफूले पाएको हो । त्यसैले ब्रिटिसहरूले जहाँसम्म आफ्नो सीमा कायम गरेका थिए, त्यहाँसम्म आफ्नो भोगचलन गर्न पाउनुपर्ने भारतको सोच छ । त्यही भएर सीमा विवाद साम्य हुन सकेको छैन ।

भारतको सीमा सुरक्षा बल (एसएसबी)सक्रिय हुने र हाम्रो सीमा सुरक्षा बलचाहिँ किन निस्क्रिय बनाइएको त ?

यहीनेर हाम्रो मुख्य कमजोरी छ । आफ्नो सीमाको सुरक्षा गर्न नसक्नु हाम्रो कमजोरी हो, सरकारको कमजोरी हो । जस्तो, हाम्रै एउटा उखान छ नि ‘आफ्नो सातुको थैलो राम्रोसँग बाँध्नु, साथीलाई चोरीको दोष नलगाउनू’- हो, यसैगरी हामीले हाम्रा चिजबिजको रक्षा गर्न सक्नुपर्‍यो नि ! हाम्रो नेपालमा पनि सशस्त्र प्रहरी बलको संख्या बढाएर यसको रक्षा गर्नुपर्छ । भारत-नेपालका सीमारेखा १ हजार ८ सय ८ किलोमिटर लामो छ । यति लामो सीमारेखामा भारतले ४५ हजार एसएसबी राखेको छ । यस हिसाबले १ किलोमिटर क्षेत्रफलमा २५ सुरक्षाकर्मी पर्छन् । यिनले सिमानाको हेरचाह, देखभाल गरिरहेका छन् । नेपालका २० वटा जिल्लामा चाहिँ लगभग साढे ४ हजार सशस्त्र प्रहरी बल खटाइएको छ तर उनीहरू सीमारेखामै बसेका छैनन् । भारतीयहरू दसगजामै क्याम्प बनाएर बसेका छन्, हाम्राचाहिँ ४-५ किलोमिटर वरै बसेका छन् । सिमानामा छ्यास्स केही हुँदा मात्र हरर्र आइपुग्छन् भारतीय सुरक्षाकर्मीहरू । यस्तो अवस्थामा हाम्रो सीमा सुरक्षा कमजोर हुनु स्वाभाविक हो ।

सीमाजस्तो कुरामा गम्भीर हुनुपर्छ भनेर नै मैले सशस्त्र प्रहरी बलमा केही सुझाव दिएको थिएँ र त्यो कार्यान्वयन हुने क्रममा छ । अहिले थप ५ हजार सीमा सुरक्षा बल थपिने क्रममा छन् । हामीले पनि सशस्त्र प्रहरी बलको संख्या बढाएर आफ्नो सीमा सुरक्षा गर्नुपर्छ ।

सीमा समस्या भारतीयहरूको सीमा संवेदनशीलता हो कि निहुँ खोज्दै पेल्ने नीति हो ?

भारतले आफ्नो स्पेसल फोर्स एसएसबीलाई सीमा सुरक्षाका लागि राख्नुले उनीहरूको गम्भीरता प्रष्ट्याउँछ । र, सीमामा भएका ज्यादती, लुटपाट, धम्की, बलात्कारका अनेकौं घटनाचाहिँ हेपाहा प्रवृत्ति हो । सीमा स्तम्भ नदीले बगाएको वा हराएको स्थानमा त्यहाँका स्थानीय किसानहरूलाई खेती गर्न लगाउने, नेपाली किसानले त्यसको प्रतिकार गरे भने एसएसबीको सहयोग लिएर बारम्बार दुःख दिने गरेको पाइन्छ । यो हेपाहा प्रवृत्ति नै हो । सुस्तामा सुस्ता बचाऊ आन्दोलनका सदस्यहरू आदम खाँ, लैला बेगम र गोपाल गुरुङलाई पक्रेर यातना दिएका खबर पनि आइरहन्छन् ।

सीमामा लुटिनेहरूको पीडा पनि कम छैन नि, हैन ?

भारतबाट मजदुरी गरेर आउने नेपालीहरूलाई एसएसबीका जवानहरूले सीमामा रोक्छन् । पैसा दिन सक्नेहरूलाई रोकेर सयदेखि ५ सयसम्म झार्छन् । नेपाल र भारतको बीचमा सीमा खुला छ । जसरी भारतीयहरू नेपालमा सरासर आउन पाउँछन् र नेपालीहरू पनि बिनारोकटोक पाउनुपर्ने हो तर एसएसबीले स्वविवेकले कसैलाई जान-आउन दिने कसैलाई नदिने गरेका छन् । यसले दुई देशबीच मनोमालिन्य बढाउँछ । १९५० को धारा ८ मा पनि दुवै देशका जनता समान तरिकाले हिँडडुल, घुमफिर गर्न पाउँछन् भनेर लेखिएको छ । यो दफालाई मान्ने हो भने त सीमामा त्यसरी दुःख नदिनुपर्ने हो नि ! तर त्यस्तो छैन, भारतले कडाइ गरिरहेको छ ।

इतिहासदेखि विश्लेषण गर्दा हाम्रो सीमा व्यवस्था कस्तो पाउनुहुन्छ ?

ठीक हो । के अंग्रेजका पालादेखि नै हाम्रो सीमा खुला थियो त ? अवश्य पनि थिएन । ऐतिहासिक दस्तावेज हेर्‍यौं भने सुगौली सन्धिभन्दा पहिले दुई देशबीच बन्द सीमा व्यवस्था थियो । विश्वभरमा बन्द सीमा (क्लोज्ड बोर्डर), नियमन सीमा (रेगुलेटेड बोर्डर) र खुला सीमा (ओपन बोर्डर) चल्तीमा छन् । नेपालमा सुरुमा बन्द सीमा थियो । कुनै पनि अंग्रेजहरू आउनुपर्‍यो भने भीमसेन थापासँग अनुमति लिएरमात्र आउन पाउँथे । समयसँगै १ नोभेम्बर १८६० मा पूरक सीमा सन्धि भएपछि नेपालले ४ वटा नयाँ मुलुक पायो र नियमन सीमामा परिणत भयो । नेपाली हट्टाकट्टा गोर्खाहरूलाई त्यहाँको सेनामा भर्ती गर्न पाइयोस्, उनीहरू यता आउँदा झन्झट नहोस् आदि कुरा विचार गरेर नजानिँदो तरिकाले क्लोज्ड बोर्डर सिस्टमलाई रेगुलेटेड बोर्डर सिस्टम बनाइयो । यसो गर्दाको फाइदा के पनि भयो भने नेपालबाट काठ, जनावरका काँचो छाला, जडिबुटी आदि त्यहाँ लैजान सजिलो भयो । किनभने, त्यहाँ त्यतिबेला रेलवे विस्तार हुँदैथियो । बि्रटिस भारतले बनाएको सामान तिब्बतसम्म निर्यात गर्न पनि यसो गरियो । यसले नजानिँदो तरिकाले सीमा खुकुलियो । त्यसपछि २०१६ सालमा काठमाडौंलाई जोड्ने त्रिभुवन राजपथ बन्यो, त्यसपछि त दुई देशबीचको सीमा खुलामात्र होइन कि ह्वांग नै भयो र म त यसलाई छाडा सीमा पनि भन्छु । त्रिभुवन राजपथ नबनुन्जेल राहदानीको चलन थियो ।

ह्वांग सीमा हुँदा दुवै देशलाई बेफाइदा पनि उत्तिकै बनाएको छ नि होइन र ?

अहिले जति पनि विकृति छ, अन्तर्राष्ट्रिय आतंकवाद, जालीनोटको तस्करी, लागूऔषध तस्करी, हातहतियार, नेपाली चेलीबेटीको बेचबिखन, मेसिनरी सरसामानको तस्करी यही छाडा सीमाकै कारणले बढेका हुन् । एक देशमा अपराध गर्छन्, अर्को देशमा लुसुक्क छिर्छन् । यो छाडा सीमाले दुवै देशका जनतालाई नै असर गर्नेगरी दुःख दिएको छ । उदाहरणका लागि हालैमात्र हत्या भएका सञ्चार उद्यमी जमिम शाह नै भनुँ । हत्यारा आयो, हत्या गर्‍यो अनि लुसुक्क खुला बोर्डरको सहयोग लिएर टाप कस्यो । यदि नेपालको बोर्डर नियमन गर्ने किसिमको भएको भए त्यो अपराधीलाई पक्रन सकिन्थ्यो ! अहिलेसम्मको अनुभवले खुला सीमा वास्तवमै आवश्यक छैन । यसलाई नियमन गर्नु आवश्यक छ । अहिले पनि बीसौं हजार ट्रक गिट्टी, बालुवा, रोडा भारत जान्छ । नियमन सीमा भए त्यसरी लैजान पाउँदैनथ्यो । अब हाम्रो शिवालिक क्षेत्र भूस्खलन भई तराई क्षेत्र नै बालुवै-बालुवा हुने सम्भावना देखिन्छ । हाम्रो वातावरण बच्ने थियो । भारत स्वविवेकीय पद्धति अपनाउँछ । उसले अन्तर्राष्ट्रिय मापदण्ड र मूल्य अपनाउनुपर्ने हो तर नेपाल सरकारले नै भारतलाई काउन्टर दिन सकेको छैन । यसको बेफाइदा नेपाललाई नै छ ।

मुख्य सीमा विवादचाहिँ कहाँ-कहाँ छ ? यसको मूल जरो के हो ?

योचाहिँ सीमा नक्सांकनसम्बन्धी प्रश्न आयो । दुई देशबीच १ हजार ८ सय ८ किलोमिटरमध्ये जंगे पिलर, दसगजा राखिएको छ कि छैन, बेलाबेलाको सीमा सुपरीवेक्षण गरिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण छ । नेपालको ७५ जिल्लामध्ये २६ जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यीमध्ये २१ जिल्लामा सीमा मिचिएको वा अतिक्रमण भएको छ । यीमध्ये ५४ ठाउँमा सालाखाला ६० हजार हेक्टर अतिक्रमण भएको छ । यो समस्या कसरी आयो त ? नेपाल-भारत संयुक्त प्राविधिक सीमा समितिले २७ वर्ष लगाएर जंगे पिलर लगायो, दसगजा क्षेत्र बनायो र ९८ प्रतिशत ठाउँमा सीमा कायम गरी १ सय ८२ थान सीमा नक्सा (स्ट्रिप म्याप) तयार पारेको छ । सीमा मिचिएको कुराचाहिँ त्यही २ प्रतिशतमा गएर अड्किएको छ । यो ३८ किलोमिटर क्षेत्रमा सीमारेखाको छिनोफानो हुन अझै बाँकी छ । सुस्ता, कालापानी, इलामको सन्दकपुर, झापा, सप्तरी, पर्साको सार्कीटोला, कञ्चनपुरको लालबोझी, भजनीलगायतका ५२ ठाउँ पनि यही २ प्रतिशतको विवाद हो । अब पहिले रहेको ९८ प्रतिशतमा पनि केही नक्सांकन त्रुटिपूर्ण रहेको पाइएको छ । यसो हुँदा उताबाट मिचिएको देखियो । कञ्चनपुरको प्यारानालाको जंगेखम्बालाई नयाँ नक्सामा सीमा नमानिएका कारण प्याराताल भारततर्फ परेको पाइयो । यस्ता कतिपय अशुद्धताका कारण पनि सीमा मिचिएको देखिएको छ ।

यस्तो हुनु नेपाली पक्षको बेवास्ता भन्ने कि भारतीय पक्षको स्वार्थ ?

यो दुवै हो- हाम्रो पक्षको लापरवाही र भारतीय पक्षको स्वार्थ । पिलर गाड्ने बेलामा नेपाली पक्षका प्राविधिकहरूलाई देहरादुन, मसुरीजस्ता ठाउँघुमाउन लगिएको थियो । उनीहरू घुमेर आउँदा ‘सबैथोक ठीक छ हैन ?’ भनेर सोध्दा उनीहरूले ‘ठीक छ’ भने । स्थानीय बासिन्दाहरूका अनुसार उनीहरूको घुमाइका कारण आफ्नो सीमामा रहेको ताल नै भारततिर पुग्यो । यही हो हाम्रो बेवास्ता र उनीहरूको स्वार्थ । ठोरी भन्ने ठाउँमा पनि भारतीयहरूले साविकको ठाउँभन्दा निकै भित्र नेपालतिर पिलर सारिदिएछन् । त्यसको कारणचाहिँ त्यो क्षेत्रमा प्रशस्त मात्रामा पाइने ढुंगा हो । यसो गर्दा त्यहाँको ढुंगा मज्जाले प्रयोग गर्न पाइयो नि ! यस्ता मिचिएका कथा त कति छन् कति ! तर फेरि पनि कुरा के आउँछ भने आफ्नो देशको सीमा सुरक्षा गर्न आफै तयार हुनुपर्छ, अरुले सीमा सुरक्षा गरिदिँदैन ।

अब यी समस्यालाई कसरी समाधान गर्ने त ?

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले १९५० सन्धिको परिमार्जन र संशोधनका विषयमा चासो राखिरहेका छन् । यस्तो अवस्थामा हामीले हाम्रा समस्याका बारेमा खुलेर कुरा राख्न सक्नुपर्‍यो । यसो होला कि त्यसो होला कि, पद खुस्केला कि ? भनेर बस्नु भएन । किनभने, उनीहरूको सीमा मिच्न खोजेको होइन, हाम्रो व्यवस्थित गर्न खोजेको हो । यस विषयमा राम्रोसँग कुरा गर्दा भारत रिसाउने कुरै छैन । तर, हाम्रो तयारीचाहिँ व्यापक हुनुपर्‍यो ।

हाम्रो सीमाका बारेमा सशक्त पक्ष के छन् त ?

सन् १८५६ मा बेलायती सर्भेयरहरूले बनाएको नक्सा सबैभन्दा ठूलो प्रमाण छ । तर, यसलाई भारतीय पक्षले नमान्ने भनिसकेको छ । उसलाई विविध किसिमले मनाउन पनि सकिन्छ । मनाउन सकिएन भने अन्तर्राष्ट्रिय सन्धि-सम्झौता र दस्तावेजहरूलाई पकड्न सकिन्छ र अन्त्यमा पनि केही लागेन भने अन्तर्राष्ट्रिय अदालत पनि छ । तर, त्यहाँ पुग्नुभन्दा अघि हामी हाम्रा कुरा भारतलाई नै सशक्त ढंगले राख्न जरुरी छ ।

हामीले अहिलेकै सीमा बचाउन नसकेका बेला केही साथीहरू भने इस्ट इन्डिया कम्पनीले हडपेको सीमा पनि पाउन सकिन्छ भनिरहेका छन् नि ?

हामी सबल भयौं भने नहुने कुरै छैन । हामी विकसित भयौं, सशक्त भयौं, हाम्रा कुरा विश्वले पत्याउन सक्ने वातावरण बनायौं भने यो संसारमा नहुने भन्ने कुरा नै छैन । तर, अहिले हामी सानो कुरामा नै अल्झिरहेका छौं । पुरानो विशाल र अखण्ड नेपाललाई पुनः फिर्ता पाउन सकिने उदाहरण संसारमा प्रशस्त छन् । सुरुमा त हामीले हाम्रै वर्तमान सीमालाई बचाउन सक्नुपर्‍यो नि ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: