Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

दशगजामा देखिएको राष्ट्रवाद

Posted by Ram Kumar Shrestha on July 30, 2010


ekantipur

काठमाडौ, श्रावण १४ – आफ्नै भूमिमा शरणार्थी जीवन जिउन विवश सीमावर्ती सुस्ताक्षेत्रका नेपालीहरूको पीडालाई समेटेर बनाइएको फिल्म ‘दशगजा’ बिहीबार साँझ राजधानीको गोपीकृष्ण हलमा देखाइएको छ । ‘दशगजा’ ले राष्ट्रियताको पक्षमा आवाज उठाउनेक्रममा छिमेकी देश भारतदेखि आफ्नै भूमि मिचिँदा पनि कूटनीतिक पहल गर्न नसक्ने नेपाल सरकार र उसका ‘लाचार’ नेताहरूको उछितो काढेको छ ।

दयाराम दाहाल निर्देशित ‘दशगजा’ ले सुस्तामा भारतीय पक्षबाट मिचिएको भनिएको १ लाख १२ हजार हेक्टर भूमिको खोजी गर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) सँग गरेको संघर्षलाई राष्ट्रियताको पक्षमा देखाइएको छ । एसएसबीको रातदिनको अत्याचारमा पिल्सिँदा पनि सरकारले सुरक्षा दिन नसक्दा पीडितले नै आफ्नो भूमिका लागि छिमेकका विरुद्ध लड्न सीमा रक्षक दल खडा गर्छन्, जसको नेतृत्व परशुराम (राजेश हमाल) ले गरेका हुन्छन् ।

निर्माता नवल खड्काले नै लेखेको कथामा दुई फरक राष्ट्रियता देखाउन खोजिएको छ । आफ्नै देशमा शरणार्थी बन्न विवश सीमावर्ती नेपाली र आफ्नो देशबाट खेदिएका भुटानी शरणार्थीको गुमेको भूमि प्राप्तिका लागि गरेको संघर्षलाई फिल्मले उठाउन खोजेको छ ।

छिमेकी देशको नागरिक हुन गरेको आग्रहसँगै देखाएको लोभलालच ठाडै अस्वीकार गरेका सुस्तावासी आफ्नै देशको नागरिकता नपाउँदा मुलुकभित्रै शरणार्थी बन्न विवश बनेको फिल्ममा देखाइएको छ । बारम्बारको सेन्सर अवरोधपछि केही संवादलाई सम्पादन गरिएकै अवस्थामा देखाइएको फिल्ममा कूटनीतिक सम्बन्धमा समेत असर पर्न सक्नेगरी भारतलाई सीमा मिचिएको आरोप लगाइएको छ । फिल्मले नेतालाई ‘भारतीय दलाल’ को संज्ञा दिँदै गाली गरिएको छ भने प्रहरी प्रशासनलाई पनि छोडिएको छैन । तर गोपीकृष्णमा खचाखच भरिएका दर्शकले भने तिनै दृश्यमा बढी ताली पिटेर फिल्मको मजा लिए ।

फिल्ममा राजेश हमाल, निखिल उप्रेती, नवल खड्का, रञ्जिता गुरुङ, शुभद्रा अधिकारीलगायतको प्रमुख भूमिका रहेको छ । सुस्तावासीको नेतृत्वदायी भूमिकामा देखिएका परशुराम (राजेश) ले सीमापीडितलाई समेटेर ‘सीमा रक्षक दल’ नै गठन गरी भारतीय सुरक्षाविरुद्धमा लड्छन् । उनलाई आकाश (नवल) ले समेत साथ दिएका छन् । भुटानी शरणार्थी शिविरकी डोल्मा (रञ्जिता) सँग प्रेममा परेका आकाश विदेश जाने प्रयासमा दलालले ठगिएपछि कमाउन बाध्यतावश भारत पस्छन् । त्यहाँ पनि नेपालीलाई गर्ने हेपाहा प्रवृत्ति सहन नसकी स्वदेश फिर्छन् र परशुरामको दलमा सामेल हुन्छन् ।

उता निखिल इन्स्पेक्टर गोपालको भूमिकामा देखिएका छन् । सुरुमा निष्ठावान् देखिएका उनका गतिविधि एकाएक परिवर्तन हुन थाल्छन् र परशुराम र आकाशलाई पक्रन्छन् । पछि उनी पुनः सकारात्मक नै देखिए पनि बीचमा किन भडकए भन्नेमा फिल्मले खुलस्त पार्न सकेको छैन ।

फिल्म पहिलो चरणमा जति जमेको थियो, अन्त्यसम्म आइपुग्दा लय समाउन सकेको देखिँदैन । सुस्तावासीको अवैधानिक दलले भारतीय सुरक्षा बललाई लडाइँमा परास्त गर्दै जंगेपिलरलाई स्थानान्तरण गरी आफ्नो गुमेको भूमि फिर्ता गरेका दृश्य कच्चा बन्न पुगेको छ । त्यसो त फिल्मको बीचबीचमा केही सन्दर्भमा पनि निर्देशन पक्ष चुकेको छ ।

गोल्डेन आई फिल्मस्को प्रस्तुति फिल्म ‘दशगजा’ मा विष्णु कल्पितको छायांकन रहेको छ भने हिमाल केसीले द्वन्द्वनिर्देशन गरेका छन् । फिल्मका सबै गीत मणि थापाले लेखेका हुन् भने संगीत पनि उनैको हो । खोटाङको ट्याम्के डाँडामा बन्न लागेको किराँत संस्कृति झल्किने २५ तले स्तम्भ भवन ‘ट्याम्के चुली’ को निर्माणका लागि सहयोगार्थ फिल्म देखाइएको थियो । फिल्म हेर्न दर्शकले १० हजारदेखि पाँच सयसम्मका टिकट काटेर आएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: