Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अप्रेषित पत्र – भाइलाई दाइको चिठ्ठी

Posted by Ram Kumar Shrestha on June 9, 2010


By चन्द्र घर्ती मगर

प्यारो भाइ
मुटुभरिको माया ।

यो पत्र लेखेर हुलाकीको जिम्मा लगाउँदासम्म ‘म सकुशल छु’ भन्ने विश्वाश गर्नेछौ भन्ने आशा गरेको छु । अब त तिमी पनि ठूलो भैसक्यौ, धेरै कुरा बुझ्ने भैसक्यौ । त्यसैले, मेरो मनमा लागेको केही कुराहरु तिमीलाई भन्न मात्र यी शब्दहरु कोरिरहेकोछु । मैले आजको कुरा आज नै भनिनँ भने फेरि मेरो लागि भोली कहिल्यै नआउन सक्छ भन्ने डर छ मलाई, किनभने म प्रदेशमा मात्र छैन, युद्धभूमिमा पनि छु । युद्धमा जतिबेला जे पनि हुनसक्छ अर्थात दिनका हरेक पल र रातका हरेक प्रहर मार्न र मर्न तयार रहनु पर्छ । दुश्मनलाई मारियो भने जीत हुन्छ, मरियो भने हार हुन्छ । हामी सिपाहीहरु युद्धमा मर्यौं भने युद्ध हार्छौ, कसम हार्छौ, प्रतिबद्धता हार्छौ, जिम्मेवारीमा हार्छौ, आफ्नै जीवनसँग पनि हार्छौ । हामी सधैं सधैंका लागि, सबै सबैका नजरमा सिर्फ हरुवा मात्र हुनेछौ ।

भाइ,
मैले युद्धको कुरा गर्न पटक्कै चाहेको होइन । तिम्रो कलिलो वाल मस्तिष्कमा युद्ध ज्ञान भर्न खोजेको पनि हुँदै होइन । मेरो मृत्‍यु भएमा प्रतिशोध साध्न बलियो मानसिकता बनाउन वाचा गराउने मनसाय पनि कदापी होइन । रातदिन बम र बन्दुकको संगतले म अर्धपागल झै भएकोछु, आलो रगतले मातिएको बाघ झै भएकोछु, अशान्त र आतंकले अर्धचेत भएकोछु, मन र मस्तिष्कले म हिंस्रक भएकोले भित्र भित्रै बेचैन हुनुको उपज मात्र हो । यतिखेर मैले संयमता, धैर्यता र सन्तुलन गुमाउदै गैरहेकोछु । तैपनि, मेरो भाइको लागि भनेर आफूलाई सम्हाल्ने हिम्मत पनि गरिरहेकोछु । मलाई थाहा छ, एउटा दाजुले आफ्नो भाइको लागि गर्नु पर्ने हरेक जिम्मेवारीबाट चुकेको छु तर पनि एउटा दाजुको तर्फबाट माफि माग्दै बिनम्र आग्रह गर्न चाहन्छु, हृदयदेखि नै आशिर्वाद दिन चाहन्छु । मेरो बिचारमा यति भन्नु मेरो हक नभए पनि, कर्तब्य अबश्य हो भन्ने सोचेर नै यो पत्र कोर्दैछु । एउटा दाजु भएको नाताले मैले सानो जिम्मेवारी निभाउन खोज्दैछु ।

मेरो भाइ,
हाम्रो जीजू-बाजेहरु मलायामा लडे रे, बुवा-काकाहरु फोकल्यान्डमा भिडे रे । हाम्रो जेठा दाइ कारगिलमा लड्दैछन्, माहिला दाइ ईराकमा भिड्दैछन् र म, गोर्खाली अफ्गानिस्तान युद्ध जित्न आफ्नो ज्यान बाजी मारिरहेकोछु । बिगतका ती युद्धहरुमा अनगिन्ती बुवा बाजेहरु मारिए, धेरै बन्दी बनाइए । न लाश, न शासको पिडादायी अवस्थामा अलप रहिरहे र अनाहकमा हामी फेरि त्यही नियती भोग्ने क्रममा छौ । हामी युगौ युगदेखि  पराइको आदेश इमान्दारिपूर्बक पालना गर्दै, झालेपाते झन्डा बोकेर, छिर्केबिर्के बर्दी ओडेर, आधुनिक बन्दुक भिरेर सार्वभौम नेपाल र स्वाधीन नेपालीको आत्मसम्मान र स्वतन्त्रताको खिल्ली उडाइरहेछौ । हाम्रो जन्म, पौरख, परिश्रम, बहादुरी र बलिदान हाम्रै मातृभूमिको लागि एकलौटि हुनु पर्ने हो तर कस्तो बिडम्बना ! हामी त पराइको माटोमा अमूल्य जीवन सस्तैमा धितो राखेर, निसंकोच प्राण भेटि चढाउँदै अर्कैका लागि निर्णायक युद्ध लडिरहेछौ । अरुको ब्यक्तिगत र राष्ट्रिय स्वार्थ, अहम र घमण्डलाई ढाकछोप गर्न र सहि साबित गर्नका लागि बिना हिच्किचाहट  निर्दोष मान्छेहरुसँग भिडिरहेछौ । हाम्रो सधैं एउटै उद्देश्य हुन्छ, नूनको सोझो गर्न प्राण रहुन्जेल डटिरहनु, त्याग गरिरहनु,.. । किन र कहिलेसम्म? हामीहरुले कहिल्यै सोच्दैनौ । हाम्रो बा-बाजेहरुले पहिलो विश्वयुद्ध लडे, दोस्रो बिश्वयुद्ध पनि लडे र म हाम्रो पुस्ताको रुपमा अघोषित तेस्रो विश्वयुद्ध लडिरहेको छु । म चाहन्छु, तिमी निकट भबिश्यमा हुन गैरहेको तेस्रो विश्वयुद्धको शिकार बन्नु हुन्न, हिंसा रोज्नु हुन्न, अरुको हार-जित हुने खेलको खेलाडी हुनुहुन्न, कहिल्यै नटुङिने लडाईंको लडाकु बन्न बिदेश शयर गर्नुहुन्न । हाम्रो सुर्कोहरुमा हल गोरुहरु नार्न छाडेर अरुको बन्दुक समाउनु हाम्रो परम्परा होइन बरु यो त असमान सम्झौता हो, अध्यारो ईतिहास मात्र हो । म चाहन्छु, यो ईतिहासलाई तिमीले नबुझिकनै अन्धचेतले निरन्तरता दिनुहुन्न । तिमीले यो सम्झौतालाई तोडेर, ईतिहासलाई मेटाएर, नयाँ ईतिहास लेख्न शुरुवात गर्नुपर्छ ।

म गोर्खाली पल्टनको नाममा हरेक दिन गस्तिमा निस्कन्छु, तर मेरो चौडा छाती गर्ब र उत्साहले फुलेको अहिलेसम्म महशुस गर्न पाएको छैन । गरीबका झुपडीहरुमा खानतलासी लिन्छु, असहाय बुढाबुढिहरुलाई हप्किदप्की गर्छु, महिलाहरुलाई तथानाम गाली गर्छु, अल्लारे केटाहरुलाई बिदेशी बुटले हिर्काउदै रिस पोख्छु, साना बालबच्चाहरुलाई बेस्सरी तर्साउँछु, तर किन ? मसँग कुनै जवाफ हुँदैन, छैन । मलाई पनि ती सब गर्न चाहना हुँदैन तर यसो गर्न म वाध्य छु । मलाई थाहा छ, साँझ बिहान खान पनि नपुग्ने छाप्रोमा कुनै तोप-गोला भेटिनेछैन, ती निर्दोष बुदाबुदिहरुले केही बिराएका छैनन्, ती महिलाहरुलाई मैले जे गरे पनि चुपचाप सहनु बाहेक केही गर्न सक्ने छैनन्, ती अल्लारेहरुले मेरो कुनै प्रतिकार गर्न सक्दैनन्, ती अबोध बालबच्चाहरुले मेरो अक्रोसको भाषा बुझ्न सक्दैनन् । तै पनि, मैले नूनको सोझो गर्नैपर्छ, म गर्छु र गरिरहेको हुन्छु, यही दैनिकी दोहर्याइरहेको हुन्छु । त्यतिखेर म असली ‘म’ हुन पाउदिन्न, अरु कोही भैसक्नुपर्छ, भैसकेको हुन्छु ।

भाइ, यी सब सुनेर मलाई निकै बलियो र शक्तिशाली ठान्यौ होला । तर, तिमीले यथार्थ बुझ्नुपर्छ । वास्तवमा म निर्धा र अनाथ भएर यस्तो गरिरहेको हुन्छु । मैले आफ्नो स्वतन्त्रता र स्वाभिमान अरुलाई सुम्पिसकेर अरुको स्वतन्त्रता र स्वाभिमान पनि लुट्न खोजिरहेको हुँ । नत्र त, ती अनकन्टार बस्तिहरु देख्दा, म हुर्के-खेलेको गाउँको सम्झनाले सताइरहेको हुन्छ, दु:खी बुढाबुढिहरुको गाला र निधारमा देखिएका बुढौली  रेसाहरुले बुवा-आमाको उमेरले पिरोलिरहेको हुन्छ, ती महिलाहरुको अनुहार देखेर दिदिबहिनीहरुले भाइटिकामा लगाइदिएको जमरा र माला सम्झिरहेको हुन्छु, अल्लारे ठिटाहरुको माझमा मेरो प्यारो दौतरीहरु खोजिरहेको हुन्छु, ती साना बच्चाहरुको आँखामा तिम्रो र छोरीको याद झलझली आइरहेको हुन्छ । म बाहिर आबेग र आक्रोसले बलिरहेको देखिन्छु तर यथार्थमा भित्र भित्रै जलिरहेको हुन्छु । त्यसैले, युद्ध मैदानबाट पहिलो आग्रह गर्दैछु । शायद, अन्तिम चाहना नै पनि हुनसक्छ । तिमी म जस्तो हिंस्रक मान्छे बन्नुहुन्न, तिम्रो जीवन अरुका लागि जिउनु हुन्न ।

अचेल सुन्दैछु, हाम्रो ठाउँमा पनि बमबारुदको बिगबिगी छ रे । हाम्रो गाउँमा पनि बिग्रह छ रे । मेरो घर, मेरो परिवार लथालिङ भैरहदा म यहाँ निरिह बनी बाँचिरहेकोछु । भाइ, आपसी मेलमिलाप भनेकै राष्ट्रियता हो, राष्ट्रियता नै राष्ट्रको प्राण हो । अब तिमी र तिम्रो पुस्ताले सबैलाई मिलाएर एकताबद्ध पार्नुपर्छ । तिमीले नेपाली हुनुमा गर्व गर्नुभन्दा, तिम्रो नाममा नेपालले गर्व गर्न पाउनुपर्छ ।

तिमी डाक्टर बनेर गाउँ गाउँसम्म पुग्नुपर्छ, असहायको सेवा गर्ने स्वास्थ्यकर्मी बन्नुपर्छ । इन्जिनियर बनेर अङभङ देशलाई नयाँ रुप दिनुपर्छ, सुन्दर परिकल्पना गर्नुपर्छ । नेता बनेर दुर्गम र सुगमको खाडल पुर्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ । प्राध्यापक बनेर सिर्जिनशील युवाहरु जन्माउनुपर्छ, स्तरिय शिक्षा दिएर बौद्धिक आधार तयार गर्नुपर्छ । उद्योगी बनेर कलकारखाना खोल्नुपर्छ, जीर्ण अर्थतन्त्रलाई माथि उकास्नुपर्छ । आफ्नै माटोमा रमाउने र परिश्रम गर्ने कृषक बन्नुपर्छ, पसिना सिंचेर उत्पादन लटरम्म फलाउनु-फुलाउनु पर्छ । देशको सिपाही बनेर चारै सिमानामा निगरानी राख्नुपर्छ, शान्ति सुरुक्षा दिलाउनुपर्छ । नेपालीको पाखुरीले अब नेपाललाई सिङार्नुपर्छ, सजाउनुपर्छ । जन्मभूमिलाई झिलिमिली बनाउनुपर्छ, हरियाली गराउनुपर्छ । मातृभूमीलाई रङरोगन भर्नुपर्छ, हराभरा पार्नुपर्छ । हामी भरिपूर्ण छौं, अब सुसम्पन्न हुनुपर्छ । यही अनुरोध गर्दै छोटो पत्र बन्द गर्न चाहन्छु । म जिउदो फर्के पनि नफर्के पनि, मेरो यही लाख लाख आशिर्वाद छ ।

तिम्रो प्रदेशी दाजु
अभागी लाहुरे
चन्द्र चिन्तन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: