Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली भूमि छाड्दै एसएसबी

Posted by completenepal on February 18, 2010


By भीम चापागाईं

भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले इलामको पूर्वी सीमावर्ती क्षेत्रमा नेपाली भूमि मिचेर निर्माण गरेका भौतिक संरचना हटाउन थालेका छन् । पशुपतिनगरस्थित पुलखोला र हिलेनजिकैको चारमाइलमा बनाइएका भौतिक संरचना र तारबार एसएसबीले चार दिनदेखि हटाइरहेको छ ।

चारमाइलमा रहेका ७१/९,  ७१/१० र ७१/११ नम्बरका सीमास्तम्भबीचको क्षेत्रमा भारतीय पक्षबाट निर्माण गरिएका भौतिक संरचना एसएसबीले हटाइसकेको छ । पुलखोलाको ७०/३ बि-टु र ७०/४ एम-टु क्षेत्रमा राखिएको सुरक्षा क्याम्पसमेत एसएसबीले भारतीय भूमितर्फ सार्न थालेको पशुपतिनगरका कमल गदालले बताए । एसएसबीले पुलखोलास्थित दसगजा क्षेत्रको खेलमैदानमा निर्माण गरेको फलामको गेटसमेत भत्काउँदै छ ।

सीमा प्रशासन कार्यालयमा सीमाको नापनक्सा र त्यहाँको यकिन तथ्यांक छैन । राज्यस्तरबाट आउने सीमा निरीक्षण टोलीले सीमा कार्यालय र जिल्ला प्रशासनमा समेत सम्बन्धित सीमाक्षेत्रको नापनक्सा नदिने गरेको सीम्ाा प्रशासन पशुपतिनगरका प्रमुख यज्ञराज आचार्यले बताए । ‘कति भूमि अतिक्रमण भएको छ भन्ने तथ्यांक हामीलाई पनि थाहा छैन,’ आचार्यले भने, ‘माथिबाट सीमा निरीक्षणमा कहिले, को आउने भन्नेसम्मका जानकारीसमेत हुँदैन ।’

इलाका प्रहरी कार्यालय र सीमा प्रशासनले सातामा दुई-तीनपटकसम्म सीमा क्षेत्रको निरीक्षण गरिरहेका छन् । लामो समयदेखि भएको सीमा अतिक्रमणको विरोध र स्थानीयवासीको निगरानीले अतिक्रमित भूमिबाट एसएसबी पछि हट्दै गएको स्थानीयको भनाइ छ ।

इलामको पूर्वी सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा २० रोपनीभन्दा बढी नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको विभिन्न समयमा खटिएका राज्य र स्थानीयस्तरका सीमा निरीक्षण टोलीको ठहर छ । जिल्लाको पूर्वी अन्तु गाविसको गुफापातालमा ११ रोपनी, उत्तरी सन्दकपुरमा चार रोपनी र पूर्वी पशुपतिनगरस्थित हिले, मानेभञ्ज्याङ, छब्बिसेलगायत स्थानमा सो क्षेत्रफलको नेपाली भू-भाग मिचिएको यसअघि ठहर भएको थियो ।

भारतीय पक्षबाट इलामको छब्बिसेमा रहेको ७२/५ नम्बरको स्तम्भ, पशुपतिनगर-५ पुलखोलामा ७२/२ र ७२/३ नम्बरको सहायक स्तम्भका बीचमा तथा पशुपतिनगर-४ स्थित हिलेमा ७१/८, ७१/९ र ७१/१० नम्बरको सहायक स्तम्भको आसपासमा भारतीय सुरक्षा बलले क्याम्प बनाई तारबारसमेत गरेपछि नेपाली भू-भाग त्यसभित्रै गाभिएको छ ।

भारतले श्रीअन्तुको छब्बिसेमा जवाहर नवोदय भारतीय विद्यालय दसगजाभित्रै बनाइएको छ भने फाटक, मानेभञ्ज्याङ, सीमानाबजार, सन्दकपुरलगायत क्षेत्रमा दसगजा मिचेरै बस्ती बसालिएको छ ।

भारतपट्ट िधेरै भिरालो जमिन भएकाले पनि दसगजाको सजिलो जमिन मिचिने गरेको पशुपतिनगरका मिलन क्षेत्रीले बताए ।

राज्य पक्षकै उदासिनताको फाइदा उठाएर एसएसबीले सीमाअतिक्रमण जारी राखेको छ । एसएसबीले पटक-पटक नेपाली भू-भाग मिचेर क्याम्पसमेत खडा गर्दै आएको छ । संविधानसभा चुनावका वेला सुरक्षाको कारण देखाउँदै सन्दकपुर, गुफापाताल, छब्बिसे र हिलेका विभिन्न स्थानमा एसएसबीले दसगजा क्षेत्र मिचेर क्याम्प खडा गरेको थियो ।

तीन-तीन किलोमिटरको दूरीमा रहेका ती क्याम्प यतिका समय बितिसक्दा पनि नहटाउँदा सीमाका नेपालीले सास्ती भोग्नुपरेको छ । पूर्वी पशुपतिनगरस्थित भारततर्फ प्रवेश गर्ने मुख्य द्वारमा नेपाली भू-भागमै राखिएको एसएसबीको चेकपोस्ट अहिले पनि त्यही स्थानमा छ ।

सीमा अवलोकन र अध्ययनका क्रममा मेची अञ्चलमा मात्र दुई हजार हेक्टरभन्दा बढी भूमि भारतले अतिक्रमण गरेको पाइएको संविधानसभाअन्तर्गतको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जनाएको छ । समितिका सभापति पदमलाल विश्वकर्माका अनुसार नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले मिचेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: