करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर म भयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।
अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”
नभन्दै दुई सातापछि आल्गेमाइनन चाइटुङ् नाम गरेको त्यो पत्रिका मेरो घरमै आइपुग्यो। पत्रिका त हातमा पर्यो तर पुरानो जर्मन लिपिमा भएका कारण त्यसलाई पढ्नु, बुझ्नु र अर्थ लगाउनु मेरा निम्ति सहज थिएन। अधिकांश आधुनिक जर्मनहरू त पुरानो लिपिमा लेखिएको त्यो सामग्री पढ्न सक्दैनन् भने नेपालीका निम्ति त्यो सजिलो हुने कुरै भएन। तर पनि तीव्र जिज्ञासाकै कारण मैले झन्डै एक साता लगाएर आठ पृष्ठको त्यो लेख पढी सिध्याएँ। सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख छ, जो पढेपछि मेरो खुसीको सीमा रहेन। Read the rest of this entry »



























