Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘अन्तरबार्ता’ Category

‘बानले आउने भनेपछि सरकारले निम्तो पठाएको’

Posted by Ram Kumar Shrestha on March 19, 2012

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल यतिखेर शान्तिसँग जोडिएका दुइटा महत्वपूर्ण जिम्मेवारीमा छन् । एउटा, बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समिति सदस्यका रुपमा उनी बुद्धको शान्ति सन्देश विश्वभर फैलाउन त्यस क्षेत्रको बृहत् विकासको योजना बनाउने र सहयोग खोज्ने काममा लागिपरेका छन् । अर्कोतर्फ, माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापनासम्बन्धी विशेष समितिमा रहेर पाँच वर्षदेखि चलिरहेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीमा छन् । यी दुई विषयकै सेरोफेरोमा रहेर सरोजराज अधिकारी र कुलचन्द्र न्यौपानेले उनीसँग शनिबार गरेको संवाद:

राष्ट्रसंघीय महासचिव बान-कि मुन नेपाल आउने टुंगो भयो त ?

आउनुहुन्छ । उहाँले आउने मनसायको पत्र लेख्नुभएको थियो । त्यसपछि सरकारका तर्फबाट प्रधानमन्त्रीले आमन्त्रण गर्नुभएको छ । उहाँको भ्रमण नेपालको समग्र परिस्थितिसँग सम्बन्धित हो । स्वाभाविक रूपमा शान्ति प्रक्रिया, संविधान लेखनमा लागेका नेतासँग भेटघाट हुन्छ । भोलिपल्ट उहाँ लुम्बिनी जानुहुन्छ । त्यहाँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुँदै छ । कार्यक्रमको औपचारिक घोषणा हुन बाँकी छ, तर उहाँ आउनुहुन्छ ।

बानको भ्रमण लुम्बिनीको विकाससँग मात्र जोडिएको छ कि नेपालको समग्र सन्दर्भसँगै ?

राष्ट्रसंघका महासचिवजस्तो व्यक्तिको भ्रमण नेपालको समग्र सन्दर्भसँग जोडिन्छ नै । राष्ट्रसंघसँग नेपाल सरकारको लामो सम्बन्ध छ, हामी सदस्य पनि हौं । राष्ट्रसंघको शान्ति मिसनमा नेपाल पहिल्यैदेखि सहभागी रहँदै आएको छ । राष्ट्रसंघका विभिन्न संस्थाले नेपालको विकासमा सघाएका छन् । यसपालिको भ्रमणको महत्त्वपूर्ण आयाम भनेको लुम्बिनी भ्रमण पनि हो । लुम्बिनीको विकासमा महासचिव बानले देखाउनुभएको प्रतिबद्धताप्रति हामीले गौरव गर्नुपर्छ ।

एकथरी त भ्रमण रोक्न ‘लबिइङ’ गर्दै हिँडेका छन् नि ?

देशमा शान्ति हुनुपर्छ, लोकतान्त्रिक संविधान हुनुपर्छ भन्ने मान्यता राख्ने मानिसमध्ये कसैलाई यो भ्रमण नहुँदा फाइदा हुन्छ भन्ने लागेको होला । कसैलाई भ्रमण हुँदा फाइदा हुन्छ भन्ने लागेको छ, हामी त्यसमा पर्छौं । तर कसैले भनेको कुरालाई बिल्कुल गलत भन्दिनँ । बिपी कोइरालाले ‘जेल जर्नल’ मा लेख्नुभएको- ‘सत्य बहुआयामिक हुँदोरहेछ’ भनेर लेखेको वाक्य मेरा लागि सधैं मार्गदर्शक बनेको छ । मैले यस विषयमा लिएको अडान नै अन्तिम सत्य हो भनेर भन्दिनँ । तर शान्ति र लोकतान्त्रिक संविधानका लागि कुन बाटो उपयुक्त हुन्छ भन्नेमा भ्रमण उचित छैन भन्नेको भन्दा मेरो विचार फरक छ । Read the rest of this entry »

Posted in अन्तरबार्ता | Leave a Comment »

दसगजा नचलाउन प्रलोभन

Posted by Ram Kumar Shrestha on April 17, 2011

By लक्ष्मण सुवेदी

मैले आफ्नै भूमिमा टेकेर फोटो खिचिरहेको थिएँ । एक्कासि भारतीय सीमा सुरक्षा एसएसबीले आएर मलाई धम्क्यायो । मैले खिचेको फोटो डिलिट नगरेसम्म त्यहाँबाट उम्कन नदिने धम्की दियो । मैले आफ्नो भूमिमा उभिएर फोटो खिच्न नपाउनु भनेर तर्क गरेँ । तर, उनीहरूले मलाई देश तेरो भए पनि यहाँ शासन हाम्रो चल्छ भन्यो । मैले बाध्य भएर फोटो हटाउनुपर्‍यो ।

नवल खड्का राष्ट्रवादी फिल्म बनाउने निर्मातामा पर्छन् । भारतले गरिरहेको नेपालको सीमा अतिक्रमणको विषयमा दसगजा र त्यसअघि जनयुद्धको विषयमा आवाज नामक फिल्म निर्माण गरेका उनी अहिले दसगजाका कारण बढी चर्चामा छन् । दसगजा सार्वजनिक प्रदर्शनको संघारमा छ । सुरुमा अभिनयबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नवल बीचमा निर्देशक हुँदै निर्माता बनेका हुन् । मायाप्रेमकै सेरोफेरोमा घुमेका फिल्ममा अभिनय गर्दागर्दै जान्ने-बुझ्ने भएपछि उनी आफ्नो अभिनय तथा निर्माणको धार बदलेको बताउँछन् । दसगजापछि सहिद भीमदत्तको जीवनीमा आधारित फिल्म भीमदत्त निर्माण गर्न लागेका नवलसँग उनको फिल्मयात्रा र परिवर्तित धारका बारेमा गरिएको कुराकानीः

विद्यार्थी राजनीति गरिरहेको मान्छे, फिल्म क्षेत्रमा किन लागेको ?

म सानैदेखि प्रगतिशील विचारधाराको थिएँ । खोटाङमा स्कुल पढ्दाखेरि नै म राजनीतिप्रति आकषिर्त भएँ । देश र जनताका लागि राजनीतिको माध्यमबाट केही गर्नुपर्छ भन्ने सोच थियो । तर, बुभ\mदै जाँदा कुरा अर्कै भएको सुइँको पाएँ । नेताको झोला बोकेर हिँड्दा व्यक्ति मात्र मोटाउने, देश र आमजनताका लागि केही फाइदा नहुने देखेँ । नेताहरूको अदूरदर्शिता, अक्षमता, पद लोलुपताले गर्दा देश र जनताप्रति जिम्मेवार नभएको पाएँ । जसले गर्दा राजनीतिदेखि वितृष्णा जाग्यो । तर, म सधैँ देशका लागि केही गर्नैपर्छ भन्ने कुरामा अडिग थिएँ । राजनीति गतिलो लागेन । अनि मैले सोचेँ, फिल्मको माध्यमबाट आमनेपालीमा पुग्न सकिन्छ । फिल्म आमनेपालीसमक्ष पुग्ने सशक्त माध्यम भएकाले मैले फिल्म क्षेत्रमा लाग्ने निर्णय गरे । मेरा साथीभाइले पनि मलाई फिल्म क्षेत्रमा लाग्नु प्रेरित गरे । आफूले चाहेको सन्देश फिल्ममार्फत दिन सकिन्छ भन्ने लागेर यो क्षेत्रमा प्रवेश गरेँ । मलाई विश्वास थियो कि म फिल्ममा जसरी प्रवेश गरे पनि कालान्तरमा मैले लक्ष्य हासिल गर्नेछु ।

सुरुमा त लभस्टोरी फिल्ममै मस्त हुनुभयो, हैन ?

मैले ०५३ सालमा गुन्युचोली नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेको हुँ । त्यसै क्रममा मैले अधुरो प्रेम, चन्द्र-सूर्यलगायतका भिडियो फिल्ममा अभिनय गरेको थिएँ । पहिला फिल्म क्षेत्रमा कसरी प्रवेश गर्ने र कसरी स्थापित हुने भन्नेमै तनाब भयो । त्यतिवेला फिल्ममा प्रवेश गर्न अहिलेजस्तो सहज थिएन । म जहिले पनि प्रगतिशील विचारको भएकाले नेपाली मौलिक भेषभुषा गुन्युचोली नाममै बनेको फिल्मबाट ठूलो पर्दाको अभिनय सुरु गरेँ । त्यसपछि पनि मैले मनै त हो, तिम्रा लागि, क्रान्ति, किन माया लाएछु, देशद्रोही, माया बसेछलगायतका मायाप्रेमकै विषयका फिल्ममा अभिनय गरेँ । ती फिल्मबाट मैले धेरै कुरा सिकेँ । फिल्मको प्राविधिक ज्ञानदेेखि लिएर भाषा पनि जान्न र बुझ्न पाएँ । बीचमा मैले विश्वासघात नामक फिल्म पनि निर्देशन गरेँ । तर, त्यो फिल्मका निर्माता विदेशतिर लागेकाले अहिलेसम्म रिलिज हुन सकेको छैन । यी सबै भोगाइले नै मलाई अनुभवी बनाए । जसकारण मैले आवाज र दसगजा निर्माण गर्न सफल भएँ । Read the rest of this entry »

Posted in अन्तरबार्ता | Tagged: , , , , , , , , , , , , | Leave a Comment »

गुमेको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जानुपर्छ

Posted by Ram Kumar Shrestha on August 16, 2010

नेपालको सीमामा जब-जब समस्या आइपर्छ, तब सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई धेरैले सम्झन्छन् । उनीसँगको अनुभव र पुख्ता प्रमाणका कारण उनका कुरा काट्नसक्ने ठाउँ पनि छैन । नेपाल-भारत सन्धिसम्झौता, नेपालको सीमाका बारेमा जानकार बुद्धिनारायण श्रेष्ठले सीमासम्बन्धी लेखेको पुस्तक ‘नेपालको सिमाना’बाट मदन पुरस्कारसमेत पाएका छन् । उनै सीमाविद् श्रेष्ठसँग नेपालीपत्रका अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानी-

सीमा विवाद पहिलेदेखिकै हो कि अहिलेमात्र चर्किएको हो ?

सीमा समस्या धेरै पहिलेदेखिकै हो । भारतमा बि्रटिस सरकारले शासन गर्दा पनि नेपाल र त्यसबेलाका बि्रटिस सरकारबीच सिमानाकै किचलोका कारण युद्ध भएको हो । १८१४-१६ सम्म अंग्रेज-नेपाल युद्ध यसै कारणले भएको हो । अब यो युद्ध किन भयो भन्ने कुरा पनि कम रोचक छैन । जसरी इस्ट इन्डिया कम्पनीले भारतका सयौं राज्यहरूलाई एकीकरण गरेर विशाल भारतमा शासन गर्‍यो, त्यसैगरी इस्ट इन्डियाको कुरा बुझेका पृथ्वीनारायण शाहले बाइसे-चौबीसे, सेन, ठकुराई आदि अनेकौं राज्यहरू एकीकरण गरेर बलियो राज्य बनाए । यो कुरा बि्रटिसहरूलाई चित्त बुझिरहेको थिएन । त्यसैले यो युद्ध भयो । नेपाल त्यतिबेला कति शक्तिशाली थियो भन्ने कुरा उनीहरूसँग टक्कर लिन खोजेबाट पनि स्पष्ट हुन्छ । ४ मार्च १८१६ मा सुगौली सन्धि भयो र वर्तमान नेपालको सीमा त्यतिबेला खुम्चिन पुग्यो । त्यसपछि फेरि १ नोभेम्बर १८६० मा पूरक सन्धि गरेर नयाँ मुलुकहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुनः फिर्ता भयो । त्यसयता नेपालको वर्तमान सीमा कायम भएर आएको छ । सुगौली सन्धिले गर्दा पनि पूर्वमा टिष्टादेखि महाकालीदेखि काँगडासम्मको भाग गुमाउनुपर्‍यो ।

भारत १९४७ मा स्वतन्त्र भयो, त्यसपछि पनि सीमा विवाद साम्य भएन । नेपाल २००७ सालमा राणा शासनबाट मुक्त भयो तर पनि अंग्रेजको पालामा भएको सीमा विवाद सकिएन । त्यसपछि पुनः नेपालमा प्रजातन्त्र र लोकतन्त्र आए तर त्यो सीमाका बारेमा कसैले पनि खोज्न चाहेनन् । अझ सीमा मिचिने क्रम रोकिएन ।

किन रोकिएको छैन ?

वर्तमान भारतले के भन्छ भने सुगौली सन्धिमा नेपालको भूभाग बि्रटिसले जसरी लिएको थियो, बि्रटिस सरकारको विरासतका रुपमा त्यो सीमा आफूले पाएको हो । त्यसैले ब्रिटिसहरूले जहाँसम्म आफ्नो सीमा कायम गरेका थिए, त्यहाँसम्म आफ्नो भोगचलन गर्न पाउनुपर्ने भारतको सोच छ । त्यही भएर सीमा विवाद साम्य हुन सकेको छैन ।

भारतको सीमा सुरक्षा बल (एसएसबी)सक्रिय हुने र हाम्रो सीमा सुरक्षा बलचाहिँ किन निस्क्रिय बनाइएको त ?

यहीनेर हाम्रो मुख्य कमजोरी छ । आफ्नो सीमाको सुरक्षा गर्न नसक्नु हाम्रो कमजोरी हो, सरकारको कमजोरी हो । जस्तो, हाम्रै एउटा उखान छ नि ‘आफ्नो सातुको थैलो राम्रोसँग बाँध्नु, साथीलाई चोरीको दोष नलगाउनू’- हो, यसैगरी हामीले हाम्रा चिजबिजको रक्षा गर्न सक्नुपर्‍यो नि ! हाम्रो नेपालमा पनि सशस्त्र प्रहरी बलको संख्या बढाएर यसको रक्षा गर्नुपर्छ । भारत-नेपालका सीमारेखा १ हजार ८ सय ८ किलोमिटर लामो छ । यति लामो सीमारेखामा भारतले ४५ हजार एसएसबी राखेको छ । यस हिसाबले १ किलोमिटर क्षेत्रफलमा २५ सुरक्षाकर्मी पर्छन् । यिनले सिमानाको हेरचाह, देखभाल गरिरहेका छन् । नेपालका २० वटा जिल्लामा चाहिँ लगभग साढे ४ हजार सशस्त्र प्रहरी बल खटाइएको छ तर उनीहरू सीमारेखामै बसेका छैनन् । भारतीयहरू दसगजामै क्याम्प बनाएर बसेका छन्, हाम्राचाहिँ ४-५ किलोमिटर वरै बसेका छन् । सिमानामा छ्यास्स केही हुँदा मात्र हरर्र आइपुग्छन् भारतीय सुरक्षाकर्मीहरू । यस्तो अवस्थामा हाम्रो सीमा सुरक्षा कमजोर हुनु स्वाभाविक हो ।

सीमाजस्तो कुरामा गम्भीर हुनुपर्छ भनेर नै मैले सशस्त्र प्रहरी बलमा केही सुझाव दिएको थिएँ र त्यो कार्यान्वयन हुने क्रममा छ । अहिले थप ५ हजार सीमा सुरक्षा बल थपिने क्रममा छन् । हामीले पनि सशस्त्र प्रहरी बलको संख्या बढाएर आफ्नो सीमा सुरक्षा गर्नुपर्छ ।

सीमा समस्या भारतीयहरूको सीमा संवेदनशीलता हो कि निहुँ खोज्दै पेल्ने नीति हो ?

भारतले आफ्नो स्पेसल फोर्स एसएसबीलाई सीमा सुरक्षाका लागि राख्नुले उनीहरूको गम्भीरता प्रष्ट्याउँछ । र, सीमामा भएका ज्यादती, लुटपाट, धम्की, बलात्कारका अनेकौं घटनाचाहिँ हेपाहा प्रवृत्ति हो । सीमा स्तम्भ नदीले बगाएको वा हराएको स्थानमा त्यहाँका स्थानीय किसानहरूलाई खेती गर्न लगाउने, नेपाली किसानले त्यसको प्रतिकार गरे भने एसएसबीको सहयोग लिएर बारम्बार दुःख दिने गरेको पाइन्छ । यो हेपाहा प्रवृत्ति नै हो । सुस्तामा सुस्ता बचाऊ आन्दोलनका सदस्यहरू आदम खाँ, लैला बेगम र गोपाल गुरुङलाई पक्रेर यातना दिएका खबर पनि आइरहन्छन् ।

सीमामा लुटिनेहरूको पीडा पनि कम छैन नि, हैन ?

भारतबाट मजदुरी गरेर आउने नेपालीहरूलाई एसएसबीका जवानहरूले सीमामा रोक्छन् । पैसा दिन सक्नेहरूलाई रोकेर सयदेखि ५ सयसम्म झार्छन् । नेपाल र भारतको बीचमा सीमा खुला छ । जसरी भारतीयहरू नेपालमा सरासर आउन पाउँछन् र नेपालीहरू पनि बिनारोकटोक पाउनुपर्ने हो तर एसएसबीले स्वविवेकले कसैलाई जान-आउन दिने कसैलाई नदिने गरेका छन् । यसले दुई देशबीच मनोमालिन्य बढाउँछ । १९५० को धारा ८ मा पनि दुवै देशका जनता समान तरिकाले हिँडडुल, घुमफिर गर्न पाउँछन् भनेर लेखिएको छ । यो दफालाई मान्ने हो भने त सीमामा त्यसरी दुःख नदिनुपर्ने हो नि ! तर त्यस्तो छैन, भारतले कडाइ गरिरहेको छ ।

इतिहासदेखि विश्लेषण गर्दा हाम्रो सीमा व्यवस्था कस्तो पाउनुहुन्छ ?

ठीक हो । के अंग्रेजका पालादेखि नै हाम्रो सीमा खुला थियो त ? अवश्य पनि थिएन । ऐतिहासिक दस्तावेज हेर्‍यौं भने सुगौली सन्धिभन्दा पहिले दुई देशबीच बन्द सीमा व्यवस्था थियो । विश्वभरमा बन्द सीमा (क्लोज्ड बोर्डर), नियमन सीमा (रेगुलेटेड बोर्डर) र खुला सीमा (ओपन बोर्डर) चल्तीमा छन् । नेपालमा सुरुमा बन्द सीमा थियो । कुनै पनि अंग्रेजहरू आउनुपर्‍यो भने भीमसेन थापासँग अनुमति लिएरमात्र आउन पाउँथे । समयसँगै १ नोभेम्बर १८६० मा पूरक सीमा सन्धि भएपछि नेपालले ४ वटा नयाँ मुलुक पायो र नियमन सीमामा परिणत भयो । नेपाली हट्टाकट्टा गोर्खाहरूलाई त्यहाँको सेनामा भर्ती गर्न पाइयोस्, उनीहरू यता आउँदा झन्झट नहोस् आदि कुरा विचार गरेर नजानिँदो तरिकाले क्लोज्ड बोर्डर सिस्टमलाई रेगुलेटेड बोर्डर सिस्टम बनाइयो । यसो गर्दाको फाइदा के पनि भयो भने नेपालबाट काठ, जनावरका काँचो छाला, जडिबुटी आदि त्यहाँ लैजान सजिलो भयो । किनभने, त्यहाँ त्यतिबेला रेलवे विस्तार हुँदैथियो । बि्रटिस भारतले बनाएको सामान तिब्बतसम्म निर्यात गर्न पनि यसो गरियो । यसले नजानिँदो तरिकाले सीमा खुकुलियो । त्यसपछि २०१६ सालमा काठमाडौंलाई जोड्ने त्रिभुवन राजपथ बन्यो, त्यसपछि त दुई देशबीचको सीमा खुलामात्र होइन कि ह्वांग नै भयो र म त यसलाई छाडा सीमा पनि भन्छु । त्रिभुवन राजपथ नबनुन्जेल राहदानीको चलन थियो ।

ह्वांग सीमा हुँदा दुवै देशलाई बेफाइदा पनि उत्तिकै बनाएको छ नि होइन र ?

अहिले जति पनि विकृति छ, अन्तर्राष्ट्रिय आतंकवाद, जालीनोटको तस्करी, लागूऔषध तस्करी, हातहतियार, नेपाली चेलीबेटीको बेचबिखन, मेसिनरी सरसामानको तस्करी यही छाडा सीमाकै कारणले बढेका हुन् । एक देशमा अपराध गर्छन्, अर्को देशमा लुसुक्क छिर्छन् । यो छाडा सीमाले दुवै देशका जनतालाई नै असर गर्नेगरी दुःख दिएको छ । उदाहरणका लागि हालैमात्र हत्या भएका सञ्चार उद्यमी जमिम शाह नै भनुँ । हत्यारा आयो, हत्या गर्‍यो अनि लुसुक्क खुला बोर्डरको सहयोग लिएर टाप कस्यो । यदि नेपालको बोर्डर नियमन गर्ने किसिमको भएको भए त्यो अपराधीलाई पक्रन सकिन्थ्यो ! अहिलेसम्मको अनुभवले खुला सीमा वास्तवमै आवश्यक छैन । यसलाई नियमन गर्नु आवश्यक छ । अहिले पनि बीसौं हजार ट्रक गिट्टी, बालुवा, रोडा भारत जान्छ । नियमन सीमा भए त्यसरी लैजान पाउँदैनथ्यो । अब हाम्रो शिवालिक क्षेत्र भूस्खलन भई तराई क्षेत्र नै बालुवै-बालुवा हुने सम्भावना देखिन्छ । हाम्रो वातावरण बच्ने थियो । भारत स्वविवेकीय पद्धति अपनाउँछ । उसले अन्तर्राष्ट्रिय मापदण्ड र मूल्य अपनाउनुपर्ने हो तर नेपाल सरकारले नै भारतलाई काउन्टर दिन सकेको छैन । यसको बेफाइदा नेपाललाई नै छ ।

मुख्य सीमा विवादचाहिँ कहाँ-कहाँ छ ? यसको मूल जरो के हो ?

योचाहिँ सीमा नक्सांकनसम्बन्धी प्रश्न आयो । दुई देशबीच १ हजार ८ सय ८ किलोमिटरमध्ये जंगे पिलर, दसगजा राखिएको छ कि छैन, बेलाबेलाको सीमा सुपरीवेक्षण गरिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण छ । नेपालको ७५ जिल्लामध्ये २६ जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यीमध्ये २१ जिल्लामा सीमा मिचिएको वा अतिक्रमण भएको छ । यीमध्ये ५४ ठाउँमा सालाखाला ६० हजार हेक्टर अतिक्रमण भएको छ । यो समस्या कसरी आयो त ? नेपाल-भारत संयुक्त प्राविधिक सीमा समितिले २७ वर्ष लगाएर जंगे पिलर लगायो, दसगजा क्षेत्र बनायो र ९८ प्रतिशत ठाउँमा सीमा कायम गरी १ सय ८२ थान सीमा नक्सा (स्ट्रिप म्याप) तयार पारेको छ । सीमा मिचिएको कुराचाहिँ त्यही २ प्रतिशतमा गएर अड्किएको छ । यो ३८ किलोमिटर क्षेत्रमा सीमारेखाको छिनोफानो हुन अझै बाँकी छ । सुस्ता, कालापानी, इलामको सन्दकपुर, झापा, सप्तरी, पर्साको सार्कीटोला, कञ्चनपुरको लालबोझी, भजनीलगायतका ५२ ठाउँ पनि यही २ प्रतिशतको विवाद हो । अब पहिले रहेको ९८ प्रतिशतमा पनि केही नक्सांकन त्रुटिपूर्ण रहेको पाइएको छ । यसो हुँदा उताबाट मिचिएको देखियो । कञ्चनपुरको प्यारानालाको जंगेखम्बालाई नयाँ नक्सामा सीमा नमानिएका कारण प्याराताल भारततर्फ परेको पाइयो । यस्ता कतिपय अशुद्धताका कारण पनि सीमा मिचिएको देखिएको छ ।

यस्तो हुनु नेपाली पक्षको बेवास्ता भन्ने कि भारतीय पक्षको स्वार्थ ?

यो दुवै हो- हाम्रो पक्षको लापरवाही र भारतीय पक्षको स्वार्थ । पिलर गाड्ने बेलामा नेपाली पक्षका प्राविधिकहरूलाई देहरादुन, मसुरीजस्ता ठाउँघुमाउन लगिएको थियो । उनीहरू घुमेर आउँदा ‘सबैथोक ठीक छ हैन ?’ भनेर सोध्दा उनीहरूले ‘ठीक छ’ भने । स्थानीय बासिन्दाहरूका अनुसार उनीहरूको घुमाइका कारण आफ्नो सीमामा रहेको ताल नै भारततिर पुग्यो । यही हो हाम्रो बेवास्ता र उनीहरूको स्वार्थ । ठोरी भन्ने ठाउँमा पनि भारतीयहरूले साविकको ठाउँभन्दा निकै भित्र नेपालतिर पिलर सारिदिएछन् । त्यसको कारणचाहिँ त्यो क्षेत्रमा प्रशस्त मात्रामा पाइने ढुंगा हो । यसो गर्दा त्यहाँको ढुंगा मज्जाले प्रयोग गर्न पाइयो नि ! यस्ता मिचिएका कथा त कति छन् कति ! तर फेरि पनि कुरा के आउँछ भने आफ्नो देशको सीमा सुरक्षा गर्न आफै तयार हुनुपर्छ, अरुले सीमा सुरक्षा गरिदिँदैन ।

अब यी समस्यालाई कसरी समाधान गर्ने त ?

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले १९५० सन्धिको परिमार्जन र संशोधनका विषयमा चासो राखिरहेका छन् । यस्तो अवस्थामा हामीले हाम्रा समस्याका बारेमा खुलेर कुरा राख्न सक्नुपर्‍यो । यसो होला कि त्यसो होला कि, पद खुस्केला कि ? भनेर बस्नु भएन । किनभने, उनीहरूको सीमा मिच्न खोजेको होइन, हाम्रो व्यवस्थित गर्न खोजेको हो । यस विषयमा राम्रोसँग कुरा गर्दा भारत रिसाउने कुरै छैन । तर, हाम्रो तयारीचाहिँ व्यापक हुनुपर्‍यो ।

हाम्रो सीमाका बारेमा सशक्त पक्ष के छन् त ?

सन् १८५६ मा बेलायती सर्भेयरहरूले बनाएको नक्सा सबैभन्दा ठूलो प्रमाण छ । तर, यसलाई भारतीय पक्षले नमान्ने भनिसकेको छ । उसलाई विविध किसिमले मनाउन पनि सकिन्छ । मनाउन सकिएन भने अन्तर्राष्ट्रिय सन्धि-सम्झौता र दस्तावेजहरूलाई पकड्न सकिन्छ र अन्त्यमा पनि केही लागेन भने अन्तर्राष्ट्रिय अदालत पनि छ । तर, त्यहाँ पुग्नुभन्दा अघि हामी हाम्रा कुरा भारतलाई नै सशक्त ढंगले राख्न जरुरी छ ।

हामीले अहिलेकै सीमा बचाउन नसकेका बेला केही साथीहरू भने इस्ट इन्डिया कम्पनीले हडपेको सीमा पनि पाउन सकिन्छ भनिरहेका छन् नि ?

हामी सबल भयौं भने नहुने कुरै छैन । हामी विकसित भयौं, सशक्त भयौं, हाम्रा कुरा विश्वले पत्याउन सक्ने वातावरण बनायौं भने यो संसारमा नहुने भन्ने कुरा नै छैन । तर, अहिले हामी सानो कुरामा नै अल्झिरहेका छौं । पुरानो विशाल र अखण्ड नेपाललाई पुनः फिर्ता पाउन सकिने उदाहरण संसारमा प्रशस्त छन् । सुरुमा त हामीले हाम्रै वर्तमान सीमालाई बचाउन सक्नुपर्‍यो नि ।

Posted in अन्तरबार्ता | Leave a Comment »

सीमाको नयाँ नक्शांकनका कुरा अपत्यारिलो बन्न पुगेको छ

Posted by completenepal on May 20, 2010

- बुद्धिनारायण श्रेष्ठ, सिमाविद

*सुस्तामा पुगेर आउनु भयो, त्यहाको पछिल्लो स्थितिका बारेमा बताइदिनुहोस्न ?
सुस्ताको स्थिति बुझ्न यसअघि पनि सीमाविद्हरुको टोली गएको थियो । यसअघिका भ्रमणमा जे देखिएका थिए पछिल्लोपटक गएको बेलामा पनि त्यही देखियो- भारतले सुस्तामा अतिक्रमण गर्न छोडेको छैन । अतिक्रमण झन् झन् तीब्र पारेको पाइयो ।
त्यहाँको अहिलेको वस्तुस्थिति कस्तो छ ?
पहिलो र मुख्य कुरा त सीमा मिचिने क्रम रोकिएको छैन । नेपालीले लगाएको उखु फा”डेर आगो लगाइदिएका छन् । नेपाली भूमिमा आएर भारतीयले कुटपिट तथा यातना दिएका छन् । भारतीय सीमा सुरक्षा बल -एसएसबी) र भारतीय जनता पार्टर्ीीवहारको स्थानीय नेताको आडमा नेपालीलाई कुटपिट गरेको पाइयो । गोपाल गुरुङ, रोज मिया, आगम खाक, लैला बेगम लगायतका व्यक्तिलाई उनीहरुले कुटपिटको तारो बनाएको पाइयो । उनीहरुले विभिन्न किसिमको आरोप लगाइएको बताएका छन् । त्यस्तै उनीहरुले भारतीयहरुले आफूहरुलाई फकाएर सुस्ताको जमिन भारतको हो भन्न लगाएको पनि बताएका छन् । यो जमिनको भारतको भनेमा भारतीय नागरिकता, सुविधा सबै दिन्छौं भनेर लोभ देखाउने काम समेत भएको उनीहरुले बताए । तर, उनीहरु हामी नेपाली हौं र नेपाली राष्ट्रियताको लागि आफूहरुले संर्घष्ा गरिरहेको बताउँछन् ।
सुस्तामा संर्घष्ा गरिरहेका र भारतीय पक्षको निसाना बनिरहेका व्यक्तिहरु सुस्ता अतिक्रमण रोक्न सरकारलाई अुनरोध गरेका छन् । सिंहदरबारको पश्चिम ढोकादेखि जिल्ला प्रशासनसंग गुहार माग्दा पनि सुस्ता बचाउनेतर्फचासो नभएको उनीहरुको गुनासो छ । पछिल्लो पटक स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेले सुस्तामा पुग्दा पनि उनीहरुले त्यही कुरा दहोर्‍याएका थिए । Read the rest of this entry »

Posted in अन्तरबार्ता | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 84 other followers